अविरल वर्षाका कारण डोटीका ग्रामीण भेगका सडक पूर्णरूपमा बन्द
डोटी : चार दिनदेखिको अविरल वर्षाका कारण डोटीका ग्रामीण भेगका सबै सडकहरू बन्द रहेका छन् ।
१९ गते रातिदेखिको लगातारको वर्षाका कारण आवतजावतमा समस्या हुनुका साथै ग्रामीण भेगका सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लगातारको वर्षाका कारण जनजीवन समेत प्रभावित भएको छ। शनिबार दिउँसोदेखि केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको रडुवामा पहिरो जाँदा मुख्य सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर देवेन्द्र जोशीले जानकारी दिए ।
वर्षाका कारण सेती नदीको सतह बढ्दै गइरहेकाले नदी छेउछाउका बस्तीलाई समेत जोखिम बढ्दै गइरहेको छ । प्राकृतिक प्रकोपबाट आउने क्षतिबाट बच्न सर्बसाधारण सबैलाई सचेत रहन प्रशासनलगायत स्थानीय निकायले आग्रह गर्दै आइरहेका छन् ।