तनहुँमा एमाले र राप्रपाले टुङ्गाए उम्मेदवार, नेकपा एसले भागबण्डा पाएन
तनहुँ : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा नेकपा एमाले र राप्रपाले उम्मेदवारको टुङ्गो लगाएका छन्। एमालेले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल हुन सक्ने जनाएको छ।
तनहुँ क्षेत्र नं-१ को प्रदेश सभा (क) मा रामबहादुर गुरुङ र प्रदेश सभा (ख) मा पूर्णबहादुर गुरुङलाई टिकट दिएको छ। रामबहादुर २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। पूर्णबहादुर भने केही दिन अघि मात्र कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका हुन्।
त्यस्तै, तनहुँ क्षेत्र नं -२ को प्रतिनिधिसभामा किरण गुरुङले टिकट पाएका छन्। गुरुङ पार्टीका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री हुन्। २०७४ को प्रदेशसभा निर्वाचनमा विजयी भएर गण्डकी प्रदेशको अर्थमन्त्री बनेका थिए। क्षेत्र नं-२ को प्रदेशसभा (क) मा श्यामराजा महत र प्रदेशसभा (ख) मा केदार सिग्देलले टिकट पाएका छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिग्देल विजयी भएका थिए।
तनहुँबाट प्रतिनिधि सभामा राप्रपाका घर्ती र महतलाई टिकट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तनहुँको क्षेत्र नं १ को प्रतिनिधि सभामा विनोद घर्तीलाई उम्मेदवार बनाएको छ। घर्ती पार्टीको जिल्ला अध्यक्ष हुन्। क्षेत्र नं २ को प्रतिनिधि सभामा नरेन्द्रप्रताप महतले टिकट पाएका छन्।
क्षेत्र नं १ को प्रदेश सभा क मा विवेक न्यौपाने र ख मा राजु गोतामे उम्मेदवार बन्नेछन्। क्षेत्र नं २ को प्रदेशसभा क मा रेशमराज अधिकारी र प्रदेश सभा ख मा श्यामकुमारी राईलाई टिकट दिइएको छ।
तनहुँमा प्रतिनिधि सदस्य दुवै कांग्रेसलाई, माओवादीलाई दुई सिट
दुई प्रतिनिधि सभा तथा चार प्रदेश सभा रहेको तनहुँमा कांग्रेसले प्रतिनिधितर्फ दुवै क्षेत्र र प्रदेश सभामा दुई सिट पाउने सहमति भएको छ। त्यस्तै, दुई प्रदेश सभा क्षेत्र भने नेकपा माओवादीको भागमा परेको छ। तनहुँ क्षेत्र नं-१ र २ संगै प्रदेशसभातर्फ क्षेत्र नं-१ को (क) र क्षेत्र नं-२ को (ख) कांग्रेसको भागमा परेको छ।
माओवादीले क्षेत्र नं १ को (ख) र क्षेत्र नं २ को (क) पाएको छ। गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टी भने जिल्लामा टिकटविहिन भएको हो। जसका कारण एसका जिल्ला तहका नेता कार्यकताहरुमा असन्तुष्टि देखिएको छ। कांग्रेसमा टिकट वितरणमा रस्साकस्सी जारी छ। अहिलेसम्म उम्मेद्वार छनौट गर्न सकेको छैन। माओवादी केन्द्र पनि उम्मेदवार छनौटको गृहकार्यमा जुटिरहेको छ।