भुसालले भने, ‘रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिदैँछु, सत्ता गठबन्धनको समर्थन छ’
भैरहवा : नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन्। आइतबार रुपन्देहीको मणिग्रामस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले सत्ता गठबन्धनको समर्थनमा आफूले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए।
सत्ता गठबन्धनमा सिट बाँडफाँडमा रुपन्देही-१ को प्रतिनिधिसभा सदस्य सिट नेकपा माओवादी केन्द्रको भागमा परेको थियो। तर, माओवादी केन्द्रले उक्त सिटमा आफ्नो उम्मेदवारी छाडेर स्वतन्त्र उम्मेदवारको रुपमा भुसाललाई दिएको छ।
उनले आफ्नो स्वतन्त्र उम्मेदवारीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको समर्थन रहेको जनाए। 'पार्टी छाडेपछि प्रचण्ड जीले आफ्नोबाट चुनाव लड्न भन्नुभयो, तर म स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ' भुसालले भने,'त्यसपछि प्रचण्डजीले गठबन्धनमा प्रधानमन्त्री र माधव नेपालसँग कुरा गर्नुपर्छ भन्नुभयो र मध्यराति साढे १२ बजे उहाँहरुले मलाई समर्थन जनाउनुभयो।’
स्वतन्त्र वाम उम्मेदवारको रुपमा आफूले उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको उनले बताए। उनले भने, 'गठबन्धनबाट समर्थन हुने अवस्थामा म रुपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने निर्णय गरेँ।'
नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीकै विचार, सिद्धान्तका कारण पार्टी भित्र र बाहिर समस्या आएको भन्दै वाम एकताको कुरा गरेबापत आफूलाई किनारा लगाइएको बताए। 'ओली कसरी पार्टी कब्जा गरेका छन् भने एक जनाको मात्रको नाम, एक जनाको मात्र पहिचान, एक जनाको मात्र इज्जत, अरुको छैन ?' उनले भने, 'यी लगायत थुप्रै कारणले पार्टीबाट अलग हुनुबाहेक विकल्प थिएन।'