विद्यार्थीको रोजाइमा सन्तको शिक्षालय

विद्यार्थीको रोजाइमा सन्तको शिक्षालय

इलाम : लगभग २४ वर्ष अघि हुनेखानेले दार्जिलिङमा नै छोराछोरी पढाउने नहुनेले पनि घर छोडेर सदरमुकामतिरका विद्यालय ताक्ने प्रचलन थियो। अलिअलि दार्जिलिङको वतासले छुने इलामको सूर्योदय नगरपालिका–३ मेहेलबोटमा पनि शिक्षा र जीवन शैलीमा ‘सिमापारीको प्रभाव’ भेटिन्छ।

पुगिसरी नआउनेका लागि जिल्ला सदरमुकामको सहरमा छोराछोरी पढाउन सहज थिएन। त्यही असहजताले जन्मायो सन्तको शिक्षालय अथवा नर्वदा कल्याण बोर्डिङ माध्यमिक विद्यालय। मंगल शैक्षिक विकास गुठीद्वारा सञ्चालित त्यही विद्यालय अहिले अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ। 

मेहेलबोटमा विसं १९५३ मा बाबु कल्याणदास र आमा नर्वदा वाइको कोखबाट जन्मिएका मङ्गलदासजी महाराजको इच्छाअनुसार उनका अनुयायी मोहन प्रियाचार्यजी महाराज, सदानन्दजी महाराज तथा कृष्णदासजी महाराजको अगुवाइमा विसं २०५५ मा स्थापना गरिएको हो। आमा नर्वदा वाइ तथा बाबु कल्याणदासको नामबाट विद्यालयको नाम जुराएपछि नीजि स्तरबाट गुणस्तरीय शिक्षाको प्रयास सुरु भएको प्रिन्सिपल सफल राईले बताए।

विद्यालयले वरपरका सबै जातजाति, वर्ग, लिंग एवं समुदायका बालबालिकाहरूलाई न्यून शुल्कमा शिक्षा दिँदै आएको प्रिन्सिपल राईले बताए। नगर शिक्षा समितिले तोकेको दरभन्दा पनि पच्चिस प्रतिशतसम्म सस्तोमा विद्यार्थीहरूलाई अध्ययन गराइरहेको राईको भनाइ थियो। 

विद्यालयमा अहिले सूर्योदय नगरपालिकाको ठुलोबाङ्गीन, सानो बाङ्गीन, फेदी मंगलबारे, मकरजुङ, धजे, टिम्बुरे, जिल, रुङसुङ, पान्दम लगायतका गाउँका विद्यार्थी आउँछन्। माइजोगमाई गाउँपालिकाका पे्रमेजुङ, जौवारी, शनिश्चरे लगायतका गाउँका विद्यार्थीसमेत सहरको विद्यालय छोडेर नर्वदामा आउने गरेका छन्। टाढाबाट आउनेलाई गाडीको प्रवन्धसमेत गरेको विद्यालयले सन्दकपुर गाउँपालिका, पाँचथरलगायतका क्षेत्रबाट आउनेका लागि होस्टल र स्थानीयका घरमा बस्ने खानाको प्रबन्ध गरेको राईले बताए।

कक्षा ९ र १० मा कम्प्युटर विज्ञानकोसमेत पढाइ हुने भएकाले धेरै विद्यार्थीका लागि नर्वदा आकर्षणको विद्यालय बनेको हाल उच्च अदालत विराटनगर इलाम इजलासका कम्प्युटर अपरेटर तिलक खतिवडाले बताए।
२४ वर्ष अघि सानो बाँसको कटेरोमा न्यून विद्यार्थी संख्या, सिमित स्रोत र साधन, अपर्याप्त भौतिक पूर्वाधारबाट सुरु भएको विद्यालय अहिले करिब साढे दुई रोपनी क्षेत्रफलमा १२ कोठे तीनतले  पक्की भवन र १२ कोठे दुईतले भवनमा सञ्चालित छ। 

‘पर्याप्त फर्निचरको ब्यवस्था, विज्ञान तथा कम्प्यूटर प्रयोगशालाको ब्यवस्था, ब्यवस्थित शौचालयसहित युग सुहाउँदो शैक्षिक गतिविधि सञ्चालन गर्न सफल हुँदै आएको छ।’ स्थानीय सूर्य सापकोटाले बताए। सुरुवाती दिनहरूमा प्राथामिक तह अंग्रेजी र निम्न माध्यमिक तहमा नेपाली र अंग्रेजी दुवै माध्यममा शैक्षिक कार्यक्रम सञ्चालन गरिँदै आएकोमा विसं २०६५ देखि नेपाली माध्यममा माध्यमिक तह सञ्चालन सुरु भयो। 

विद्यालयमा २०७३ सालदेखि पुर्णरुपमा अंग्रेजी माध्यममा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ। सरकारी सहायताबिना गुठीद्वारा सञ्चालित विद्यालयको स्रोत भनेकै विद्यार्थीको शुल्क हो। अभिभावक खुसी नभएसम्म विद्यालयको प्रगति हुँदैन भन्ने बुझेका प्रिन्सीपल राईले समय–समयमा अभिभावक बोलाएर प्रतिकृया लिन्छन्। उनले भने ‘प्रत्येक शैक्षिक सत्रको त्रैमासिक परीक्षा सुरु हुनुअघि र नतिजा प्रकाशनपश्चात् पठनपाठन सम्बन्धी समिक्षा गर्ने उद्देश्यसहित आयोजना गरिने अभिभावक भेलामा अभिभावकबाट आएका प्रतिक्रियाले विद्यालयको शैक्षिक स्तर उच्च रहेको कुरालाई पुष्टि गर्छ।’

विद्यालयमा अहिले २ सय ४८ जना विद्यार्थी अध्यायनरत छन्। २०६५ सालमा प्रथमपटक एसएलसी परीक्षामा सहभागी भएको यो विद्यालयले हालसम्म १४ वटा समूहलाई उत्कृष्ट नतिजासहित एसएलसी/एसईई उत्तीर्ण गराउन सफल भएको प्रिन्सिपल राईले बताए। उनले भने ‘हामीले विद्यार्थी केन्द्रित सिकाइलाई ध्यान दिन्छौं,  त्यही भएर पनि उत्कृष्ट नतिजाका लागि सिहयोग मिलेको छ।’

सूर्योदय नगरपालिकाको शिक्षा शाखा प्रमुख योगनीधि भट्टराईका अनुसार नगरका उत्कृष्ट विद्यालयको सूचीमा रहेको यो विद्यालयले अरु विद्यालयभन्दा सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको छ। उनी भन्छन् ‘नीजि क्षेत्रबाट सस्तोमा सेवा दिने विद्यालयका रुपमा नर्वदालाई हेर्न सकिन्छ, राम्रो प्रयास गरिरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.