नेसपाका नेता साहले गरे बागी उम्मेदवारी दर्ता
जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। धनुषाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि पूर्व अध्यक्ष साहले मनोनयनपत्र दर्ता गराएका हुन्। नेपाल समाजवादी पार्टीका नेता रहेका साहले जनकपुरधामस्थित निर्वाचन क्षेत्र नं. ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
बाजागाजासहित साहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीभित्र नातावाद, कृपावाद तथा परिवारवादको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको साहले बताए।
उम्मेदवारी दर्ता गराउँदै साहले भने,‘राजनीतिक दलबाट जनताको विश्वास उठिसकेको छ। जनताको भावना अनुसार जनताको कार्य गर्नका लागि आफ्नो उम्मेदवारी रहेको छ।’
यस्तै धनुषा ३ बाटै प्रतिनिधिसभामा मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने नेमकिपाबाट रामहृदय साहले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (ख) मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट जनकपुरधाम उप–महानगरपालिकाका पूर्व उपमेयर असगर अलीले समेत उम्मेदवारी दर्ता गराएका छन्।