दुर्गम क्षेत्रका उम्मेदवारहरू मर्कामा
काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभातर्फको उम्मेदवारी दर्ता गराउने आज अन्तिम दिन दुर्गम क्षेत्रका उम्मेदवारहरु मर्कामा परेका छन्। निर्वाचन आयोगले दलको टिकट र उम्मेदवार दर्ता गरी पाउँ भन्ने निवेदन मात्रै बुझेको र अन्य विवरणहरु सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने भनेका कारण अफ्ठ्यारो भएको उम्मेदवारहरुले गुनासो गरेका छन्।
हुम्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र पाण्डले भने, ‘त्यहाँ नेट चल्दैन। फोन लाग्दैन। दलको टिकट र उम्मेदवार दर्ता गरी पाउँ भन्ने निवेदनमात्रै आयोगले बुझ्छ। तर, सम्पत्ति विवरण, व्यक्तिगत विवरण, प्रतिवद्धतापत्र, प्रस्तावक र समर्थकको पत्र लगायतका आवश्यक कागजपत्र आयोगले बुझ्दैन। उम्मेदवार स्वयं आवश्यक कागजात सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने हुन्छ। ती कागजात पठाउन समस्या भयो,' उनले भने।
उनले जिल्लामा इन्टरनेट, टेलिफोन नहुँदा समस्या भएको भन्दै सबै कागजात आयोगमै बुझाउने व्यवस्था मिलाउनुपर्ने बताए।
अहिलेसम्म संघ र प्रदेश सभा ७७ जना उम्मेदवारले सम्बन्धित जिल्ला र क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पठाउनका लागि आयोगको कार्यालयमा पुगि निवेदन दिएका छन्।
निर्वाचन आयोगले बाढी, पहिरो र अन्य कारणले यातायात अवरोधले मनोनयन दर्ता गर्न समस्या भए निर्वाचन आयोगले सहजीकरण गरिदिने जनाएको थियो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यको उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढी,पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा सहजीकरण गरिदिने जनाएको थियो।