पर्सामा संघ र प्रदेशतर्फ १४४ जनाको उम्मेदवारी, आधाभन्दा बढी स्वतन्त्र
वीरगन्ज : पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ।
पर्सामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा छ। आइतबार भएको मनोनयनमा पर्सामा कूल १४४ जनाको उम्मेदवारी परेको हो। तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ८२ छ।
चार प्रतिनिधिसभा सदस्यका लागि ५० जनाको उम्मेदवारी परेकोमा २४ जना स्वतन्त्र उम्मेदवार छन्। त्यस्तै आठ प्रदेशसभा सदस्यका लागि ९४ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या ५८ छ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये दलगतरुपमा १० जनाको र स्वतन्त्र १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए।
त्यस्तै प्रदेशसभा सदस्यका लागि पर्सा १ को (क ) मा १७ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसैगरी प्रदेश तर्फको पर्सा १ को (ख) मा १६ जनाको उम्मेदवारी परेकोमा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए।
त्यस्तै पर्साको निर्वचन क्षेत्र नम्बर २ को प्रतीनिधी सभा सदस्य तर्फ ११ जनाले उम्मेदवारी दिएकोमा ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। त्यसैगरी पर्सा क्षेत्र नम्बर २ को (क ) मा प्रदेशसभा सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै पर्सा २ को खतर्फ प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए।
पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी परेकोमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रदेशसभा सदस्यमा पर्सा ३ को (क) बाट १३ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। त्यस्तै पर्सा ३ को (ख) मा १४ जनाले उम्मेदवारी दिएकोमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत योगनाथ ढकालले जनाए।
पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतीनीधीसभा सदस्य तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसैगरी पर्सा ४ को (क) मा प्रदेश सभा सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ४ को (ख) बाट ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको क्षेत्र ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले जनाए।
मुख्य राजनीतीक दलहरुले चुनावी तालमेल गरेर चुनावका लागि होमिएपछि टिकट नपाउँदा अधिकांश स्वतन्त्र उम्मेदवारी दिएको पाइएको छ। खासगरी मधेसी केन्द्रित दलहरूमा आबद्ध नेताहरुले नै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टीले योगदानको मूल्याकंन नगरेको कारण बागी बन्दै स्वतन्त्र उम्मेदवारी दिनुपरेको उनीहरुको भनाइ छ।