नुवाकोटमा पाँच पूर्वमन्त्रीको उम्मेदवारी
नुवाकोट : आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नुवाकोटमा ६० र रसुवामा २९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सत्तारुढ दल तथा प्रमुख प्रतिपक्षी दलले संघ र प्रदेशतर्फ उम्मेदवारी दर्ता गराएका हुन्।
सत्तारुढ गठबन्धनविरुद्ध भने बागीले समेत उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनका तर्फवाट नुवाकोट क्षेत्र नं. १ मा हितबहादुर तामाङ र क्षेत्र नं. २ मा अर्जुननरसिंह केसीले उम्मेदवारी दोहोर्याए। त्यस्तै नेकपा एमालेका नारायणप्रसाद खतिवडाले पुनः उम्मेदवारी दर्ता गरेका छन्। अघिल्लो निर्वाचनमा खतिवडाले केसीलाई पराजित गरेका थिए। पूर्वमन्त्री डा. रामशरण महतले भने यसपटक उम्मेदवारी दिएनन्।
सो क्षेत्रमा सत्तारुढ दलबीच तालमेल भएर प्रतिनिधिसभातर्फ हितबहादुर तामाङ उम्मेदवार बनेका छन्। सोही क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका पूर्व कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले एकल उम्मेदवारी दर्ता गरेका छन्। क्षेत्र नं. १ को प्रदेश सभा क मा गठबन्धनबाट राधिका तामाङले उम्मेदवारी दिएकी छन्। उनको क्षेत्रमा नेककपा एमालेले युवा अभियन्ता सुशील खड्कालाई नयाँ अनुहारको रुपमा प्रस्तुत गरेको छ। नुवाकोट २ को ख मा नेकपा एमालेले केशवराज पाण्डेलाई पुनः उम्मेदवार बनाएको छ। त्यस्तै एकीकृत समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी र नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुंगानाले उम्मेदवारी दर्ता गरेका छन्।
नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ख मा नेकपा एमालेले युवा विजय लोप्चनलाई उम्मेदवार बनाएको छ। सत्तारुढ कांग्रेसले निवर्तमान प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङलाई उम्मेदवार बनाएको छ।
नेकपा माओवादी केन्द्रले सो प्रदेशमा संविधान सभा सदस्य राममाया बोगटीलाई उम्मेदवार बनाएको छ। सत्तारुढ दलहरुबीच गठबन्धन भएको भनिए पनि उम्मेदवारी दर्ता गर्दा सत्तारुढ दलहरुले प्रदेश सभामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका हुन्।
कांग्रेस नुवाकोटका जिल्ला सचिव श्रीराम श्रेष्ठले गठबन्धनको उम्मेदवारको रुपमा क्षेत्र नं. १ को क मा माओवादीका रामप्रसाद ढुंगाना र ख मा बहादुरसिंह लामातामाङ आधिकारिक उम्मेदवार भएको प्रष्ट पारे। उम्मेदवारी दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई आ-आफ्नो दलका तर्फबाट उम्मेदवार भएको प्रमाण निस्सा प्रदान गरेको छ।