हत्या आरोपितको उम्मेदवारी वारेसबाट
जनकपुरधाम /महोत्तरी : सशस्त्र प्रहरीको हत्या अभियोग लागेपछि फरार सूचीमा रहेका लक्ष्मी महतोले वारेसमार्फत प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्। बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेबाट उनको मनोनयनपत्र दर्ता गरिएको एक नेताले बताए।
महोत्तरी क्षेत्र नम्बर १ एमालेको भागमा परेपछि जसपामा रहेका महतो आइतबार बिहान मात्रै एमालेमै प्रवेश गरी उम्मेदवार बनेका हुन्। मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा उनलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
महतो प्रहरीको फरार सूचीमा रहेका कारण वारेसमार्फत उम्मेदवारी दर्ता गराएको एमालेका एक नेताले बताए। जिल्ला अदालतको आदेशअनुसार १ लाख धरौटी राखेर तारेखमा रहेका महतो उच्च अदालतको आदेशपछि तारेख तोडेर अदालतको सम्पर्कमा नआई फरार छन्।
सत्तारुढ गठबन्धबाट माओवादी उम्मेदवार गिरिराजमणि पोखरेलविरुद्ध एमाले–जसपाको गठबन्धनबाट एमालेले महतोलाई उम्मेदवार बनाएको हो। एमाले र जसपा गठबन्धनमा महोत्तरी १ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा भित्रिएका हुन्। जसपाबाट उम्मेदवार बन्न अन्तिम समयसम्म तयारी गरेका महतो एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्।
जसपाबाट टिकट नपाएपछि महतोले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका थिए। तर आईतवार बिहान एमाले सचिव रघुवीर महासेठसँगको भेटघाटपछि महतो एमाले प्रवेशसंगै टिकट लिएर वारेसमार्फत उम्मेदवारी दर्ता गराउन महोत्तरी पुगेका थिए।
उनी ०७४ को निर्वाचनमा जसपाबाटै प्रतिनिधिसभाका उम्मेदवार थिए। त्यतिबेला उनी पराजित भएका थिए। माओवादी उम्मेदवार गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए। ०७४ को निर्वाचनमा निर्वाचित पोखरेल २३ हजार ७ सय ७६ मत प्राप्त गरेका थिए। महतोले १९ हजार ४ सय ९२ मत ल्याएका थिए। महतोका छोरा स्थानीय निर्वाचनमा जसपाबाट गौशाला नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए।
यस्तै सत्तारुढ गठबन्धनबाट माओबादी उपमहासचिव गिरीराजमणि पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ बाट चौथो पटक प्रतिनिधिसभा सदस्य पदमा मनोनयन दर्ता गराएका छन्। बर्दिवासस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई पोखरेलले उम्मेदवारी दिएका हुन्।
उनका प्रस्तावमा कांग्रेसका चिरन्जीवी हमाल छन्। समर्थकमा माओबादीका लालबाबु यादव छन्। पोखरेल २०६४, २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए।सत्ता गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले क्षेत्र नम्बर ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर पुगी उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष ठाकुरले सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन्।