देवी खुसी पार्न सराये नाच
सन्धिखर्क : सराये नाच अर्घाखाँचीको मौलिक नाच हो। महिला र पुरुष हातमा तरबार, खुडालगायतका हतियार बोकेर ‘वाखै भाइ हो’ भन्दै सराये नाच नाच्ने गर्छन्।
बडा दसैंमा जिल्लाका अधिकांश मन्दिरहरूमा नाचिने सराये नाच चैते दशैमा पनि केही स्थानमा नाचिने गरिन्छ। हिन्दु साँस्कृतिक परम्पराको जगेर्ना र सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ। सबै जातजाति एकै ठाउँमा भेला भएर सराये नाच नाचिन्छ।
सराये नाच एकादशीका दिन सन्धिखर्क, द्वादशीका दिन शितगंगा नगरपालिकाको ठाडा, भूमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीका दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भूमिकास्थान नगरपालिका नुवाकोटको ताराखसे, चतुर्दशीका दिन मालारानी गाउँपालिकाको हंसपुरको रागामारे, सन्धिखर्कको कुर, र पूर्णिमाका दिन अर्घा भगवती मन्दिर अर्घा दरबारमा नाचिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष सहयोगी बिसीले जानकारी दिए ।
तरबार, खुडालगायतका हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीकहरू आलमलाईसमेत लिएर नाच्ने गरिन्छ। तरबार, खुडालगायतका हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको अर्घा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।
कहिलेदेखि सराये नाच्न सुरु भयो भन्ने एकिन नभए पनि सयौं वर्षदेखि देवीलाई खुसी पार्न नाच्न थालिएको किंवदन्ती छ। चैते दसैंमा चरेपानी गौचौर, अर्घातोष र सेंगलेंगको मन्दिरमा यो नाच नाच्ने गरिन्छ।