कर्णाली नदीमा पानीको सतह आरालोतर्फ
टीकापुर : निरन्तरको वर्षाका कारण हिजोदेखि उकालो लागेको कर्णाली नदीमा पानीको सतह आजै विहानैदेखि आरालो लागेको छ। यद्यपि नदीमा पानीको सतह खतराको तहभन्दा माथि रहेको छ।
चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले दिएको जानकारीअनुसार पानीको सतह आज विहान ४ बजे १२ दशमलव ३५ मिटर पुगेको थियो। यो यस वर्षकै सर्वाधिक रेकर्ड भएको उनले बताइन्।
‘विहानै चारबजेदेखि नदीमा पानीको सतह घटिरहेको छ, कर्णाली नदीका सहायक नदीमा समेत सतह कम भइरहेको हुनाले अब घट्छ,’ गुरुङ्गले भनिन् ‘५ बजे १२.३०, ७ बजे १२.१० हुँदै दिउँसो २ बजे ११ दशमलव २२ मिटरमा झरेको छ।’
गुरूङका अनुसार कर्णाली नदीका सहायक नदी भेरी, तिला कर्णालीमा पानीको सतह घटेको छ भने सेती नदीमा केही बढेको छ। ‘तीनवटै नदीमा पानीको सतह बढेमात्रै कर्णालीमा बढ्छ होइन भने अब खासै असर गर्दैन,’ गुरूङले भनिन् ‘तैपनि कर्णालीमा अझै खतराको तहमै पानी रहेको छ।’ कर्णाली नदीमा १० दशमलव ८० मिटर पानीलाई खतराको तह मानिन्छ।
कर्णालीमा बाढीले खतराको तह पार गरेपछि कैलालीको टीकापुर नगरपालिका वडा नं. १, २, ५, ६, ७ र ८ का बस्तीहरु डुबानमा परेका छन्। त्यस्तै जानकी गाउँपालिकाका केही बस्तीहरु समेत डुबानमा परेका छन्।
कर्णालीमा नदीमा पानीको सतह बढ्दा वडा नं. २ को विजयनगर, शक्तिनगर, वडा नं. ५ को बंगलापुर, बसन्ता, मनिकापुर, शाहीपुर, सिम्रेनी, वडा नं. ६ को लक्षिनापुर, वडा नं. ७ को प्रतिपुर, दिव्यपुर, वडा नं. ८ को वनगाउँ र अरुणाफाँटा लगायतका बस्तीहरु डुबानमा परेका छन्।
ती गाउँका साढे ४ सय बढी परिवारलाई विभिन्न विद्यालय, उच्च सुरक्षा घरहरुमा राखिएको टीकापुर नगरपालिकाले जानकारी दिएको छ। कर्णाली नदीमा पानीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दाहरु रातभरि जाग्रम बस्न बाध्य भएका छन्।