रुपन्देही ५ मा बासुदेव घिमिरे बने एमालेको आधिकारिक उम्मेदवार
बुटवल : रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार भएका छन्। यो क्षेत्रमा एमालेले तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर घिमिरेलाई उम्मेद्वारको टिकट दिएको थियो। मनोनयनको समय सकिन १५ मिनेट बाँकी रहँदा राष्ट्रिय सभामा दलका नेता रहेका खिमलाल भट्टराईले उम्मेद्वारी दर्ता गरेका थिए।
एउटै पार्टीबाट दुई वटा उम्मेदवारी परेपछि निर्वाचन आयोगले पहिलो दर्ता गर्ने व्यक्तिलाई आधिकारिक उम्मेदवार तोकेको हो। निर्वाचन अधिकृत चिन्तामणि शर्माले निर्वाचन निर्देशिकाअनुसार पहिलो दर्ता भएको उम्मेदवारलाई आधिकारिकता दिइएको बताए।
नेता भट्टराई क्षेत्र नम्बर ५ को दक्षिणी क्षेत्रमा लोकप्रिय भएकाले अन्तिम समयमा एमालेले उनलाई टिकट दिएको थियो। पार्टीभित्र पर्याप्त छलफल बिनै हतारमा गरिएको निर्णयले राष्ट्रिय सभामा एमालेले एक पद गुमाउने देखिएको छ। यो क्षेत्रमा सत्तारुढ गठबन्धन भाडिएपछि कांग्रेस र माओवादीले नै उम्मेदवारी दिएका छन्। कांग्रेसबाट भरत शाह उम्मेदवार बनेका छन्।