लोकतन्त्रमा भागबन्डा
हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। वर्तमान संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गरेको छ। यस प्रणालीमा बहुदलीय प्रतिस्पर्धालाई आत्मसात् गर्दै राजनीतिक दलहरू संगठित हुन पाउँछन्। आवधिक निर्वाचनमा सहभागी हुने, जनताको अभिमतबाट परीक्षण हुने र जनताले गरेको फैसलालाई शिरोधार्य गरेर आफ्नो भूमिकालाई लोकतान्त्रिक शासन प्रणालीमा समाहित गर्ने राजनीतिक दलहरूको प्रमुख जिम्मेवारी हो।
२०७९ मंसीर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचन आयोग उक्त निर्वाचनलाई भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न तयारीका साथ जुटिरहेको छ। सोही सिलसिलामा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। प्रत्यक्ष मतदानबाट निवार्चित हुने प्रतिनिधिसभाका १ सय ६५ सिट र सातवटै प्रदेशका प्रदेशसभाका ३ सय ३० सिटका लागि असोज २३ गतेदेखि उम्मेदवारी पेस गर्नेलगायत कार्यहरू गर्न निर्वाचन आयोगले तालिका प्रकाशन गरेको छ। यसरी मुलुक निर्वाचनमा होमिएको छ। संघ सरकार र प्रदेश सरकारले नयाँ नेतृत्व पाउने समय नजिकिँदै छ।
लोकतन्त्र शासनको सर्वोत्तम रूप हो। यसो भनिरहँदा लोकतन्त्र स्वतः सफल हुन्छ भन्ने चाहि“ होइन। यसको सफलताका लागि विभिन्न सर्तको पालना हुनुपर्छ। लोकतन्त्र सफल हुन जनतामा लोकतान्त्रिक भावना प्रबल हुनुपर्छ। यसो भयो भने लोकतन्त्र फलिफाप (फ्लोरिस) हुन्छ। लोकतन्त्रप्रतिको जागरुकता लोकतन्त्र सफल बनाउने अर्को आधार हो। यसैगरी सार्वजनिक सदाचार यस्तो सर्त हो जसले लोकतान्त्रिक संस्कारलाई सम्मानित बनाउने काम गर्छ। सार्वजनिक सदाचारको अभावमा लोकतन्त्र सर्वोत्तम बन्नै सक्दैन। परस्पर सहयोग र सहिष्णुताको भावनाले लोकतन्त्रलाई पल्लवित र पुष्पित बनाउँछ। राष्ट्रप्रेम र राष्ट्रिय एकता लोकतन्त्रको मुकुट हो। यो भावना जति प्रबल हुन सक्यो, लोकतन्त्र त्यति सर्वप्रिय हुन्छ। लोकतन्त्रको सफलताका लागि नागरिक शिक्षित हुनुपर्छ। किनकि नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति सचेत हुन शिक्षित भएमा मात्र सम्भव हुन्छ। लोकतन्त्रलाई समृद्ध बनाउन प्रबुद्ध समुदायका उपस्थिति अपरिहार्य छ। लोकतन्त्र जनमतमा आधारित शासन व्यवस्था भएकाले प्रबुद्ध जनमत भयो भने मात्र लोकतन्त्रको सही प्रयोजन सिद्ध हुन्छ।
लोकतन्त्रको साह्रै महत्त्वपूर्ण सर्त हो राजनीतिक दलको गठन र क्रियाशीलता। राजनीतिक दलको उपस्थिति, सहभागिता र योगदानले लोकतन्त्र सुदृढ हुन्छ। दलबीचको स्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रलाई मजबुत बनाउँछ। लोकतन्त्रको सफलताका लागि नागरिकको सामाजिक तथा आर्थिक समानता अर्को महत्त्वपूर्ण सर्त हो। मानिसले मानिसउपर शोषण नगरुन्, समाजमा विभेद, असमानता र वञ्चितीकरण हुन नपारोस्, समान अवसर पाएर नागरिक आफ्नो व्यक्तित्व र नेतृत्व विकासमा लाग्न पाउन् भन्ने अपेक्षा लोकतन्त्रमा मात्र पूरा हुन सम्भव छ। लोकतन्त्रलाई राजनीतिमा मात्र हेरिनु हँुदैन, सामाजिक र आर्थिक लोकतन्त्र भयो भने मात्र लोकतन्त्र समृद्ध हुन्छ। त्यसैले समानता लोकतन्त्रको महत्त्वपूर्ण सर्त हो।
दलको लक्ष्य सत्ता प्राप्ति नै हो। यस निमित्त दलले योग्यता प्रदर्शन गर्न सक्नुपर्छ। अहिलेको गठबन्धनले के जनाउँछ भने ठूला दलहरू एकल प्रतिस्पर्धा गर्न भित्रभित्रै डराइरहेका छन्।
लोकतन्त्रले स्थानीय स्वशासनको परिकल्पना गर्छ। किनकि स्थानीय स्वशासनको जगमा राष्ट्रिय स्वशासन बलियो हुन्छ। लोकतन्त्रको सफलताको अर्को सर्त स्वतन्त्र प्रेस हो। प्रेसले सचेतना, पैरवी र निगरानीको भूमिका जति प्रभावकारी बनाउन सक्यो त्यति नै शासन प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको पालना वृद्धि हुन्छ। लोकतन्त्र सुरक्षित, सुदृढ र जीवन्त भइरहन स्वतन्त्र न्यायपालिका अपरिहार्य छ। स्वतन्त्र न्यायपालिका लोकतन्त्रको प्राणरक्षक हो। स्वतन्त्र र सक्षम न्यायपालिकाले लोकतन्त्रको हरेक संकटलाई विवेकपूर्ण तरिकाले मोचन गर्न सक्छ भन्ने विश्वास गरिन्छ।
लोकतन्त्र र राजनीतिक दल एकअर्कामा परिपूरक हुन्। त्यसैले लोकतन्त्र जस्तै राजनीतिक दल सफल हुन पनि केही सर्तहरूको परिपालना हुन अनिवार्य छ। राजनीतिक दल सिद्धान्त र उद्देश्यबाट अभिप्रेरित र निर्दिष्ट हुनुपर्छ। दलबीच प्रतिस्पर्धा हुने भए पनि देशको राजनीतिक, आर्थिक, सामाजिक एवं राष्ट्रिय सुरक्षा तथा परराष्ट्र सम्बन्धजस्ता प्रमुख विषयमा दलबीच आधारभूत एकता र समान दृष्टिकोण हुनुपर्छ। दलहरूको सफलताका लागि सुशिक्षित नागरिक अर्को महत्त्वपूर्ण सर्त हो। दलहरूको सफलताका लागि आर्थिक समानता उत्तिकै महत्त्वपूर्ण पक्ष हो। आर्थिक समानताले मत किनबेचलाई निरुत्साहित गर्छ। दलबीचमा सहिष्णुता हुन वाञ्छनीय छ। किनकि यो यस्तो गुण हो, जसले सत्तारूढ दललाई विपक्षी दलको असल सुझाव ग्रहण गर्न लगाउँछ। विपक्षी दललाई विरोधका लागि विरोध गर्ने अवस्थाबाट मुक्त राख्छ। यस्ता सर्तहरूको परिपालनमा दलहरू जति सचेत र इमान्दार हुन्छन्, त्यति नै विश्वास आर्जन गर्छन् र लोकतन्त्रको सुदृढीकरणमा योगदान पुग्छ।
लोकतन्त्रको आलोकमा राजनीतिक दलहरूको भाग्यको फैसला निर्वाचनमार्फत हुने गर्छ। जनता मतदाताको हैसियतमा राजनीतिक दलका भाग्यदाता हुन्। दलहरूले उठाएका उमेदवार निर्वाचित भएर शासन गर्न जाँदा निरंकुश नहोउन् भनेर नै आवधिक निर्वाचन आयोजना गर्ने गरिन्छ। आवधिक निर्वाचनबाट परीक्षण भएर नेतृत्वको नवीकरण वा परिवर्तनको सिलसिला जारी रहन्छ। वर्तमान संविधान जारी भएपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि पाँच वर्षे कार्यकालका निमित्त दोस्रोपटक निर्वाचन हुँदै छ। प्रस्तुत निर्वाचनमा राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा अपेक्षित अभ्यास हो। जनताले स्वतन्त्र रूपमा मतदान गर्ने वातावरणको सुनिश्चितताको विकल्प नै छैन।
लोकतन्त्र, आवधिक निर्वाचन, राजनीतिक दल र मतदाताको सन्दर्भलाई केन्द्रमा राखेर मंसिर ४ गते हुने निर्वाचनको चर्चा गरिरहँदा मौजुदा सत्तारूढ दलहरूले सम्प्रेषण गरिरहेको सन्देशले भने घोत्लिने अवस्था पैदा गरिदिएको छ। सत्ता गठबन्धनमा सरिक पाँच दलले प्रतिनिधिसभाका १ सय ६५ सिट र प्रदेशसभाका ३ सय ३० सिटलाई दलगत आधारमा भागबन्डा गर्ने कसरतमा व्यस्त छन्। यसलाई लोकतन्त्रमा जनतालाई बिर्सेर गरेको भाग्यको भागबन्डाको रूपमा अथ्र्याउन सकिन्छ।
राजनीतिक दलको गठन सिद्धान्त र उद्देश्यका आधारमा हुन्छ। उक्त सिद्धान्त जनताका बीचमा कति आकर्षक र प्रिय छ ? यस कुराको कसी लगाउने काम निर्वाचनका अवसरमा हुन्छ। जनताबाट पाएको मतबाट लोकप्रियताको स्तर निर्धारण हुन्छ। त्यसैले निर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनु लोकतन्त्रको आलोकमा उत्तम अभ्यास हो। यसो गर्दा जनताको अभिमतले आफ्नो यथार्थ हैसियत थाहा हुन्छ र भविष्यप्रति खरो उत्रन सघाउ पुग्छ।
मौजुदा सत्ता साझेदारीमा नेपाली कांग्रेस पुरानो र ठूलो राजनीतिक दल हो। यस दलले उदार लोकतन्त्रको पक्षपोषण गर्छ। दलको सैद्धान्तिक आधार लोकतान्त्रिक समाजवाद हो। लोकतान्त्रिक मूल्यमान्यताको वकालत गर्ने यो दलले समेत आफ्नो सिद्धान्तलाई निलम्बन गरेर भागबन्डाका आधारमा निर्वाचनमा सरिक हुन अग्रसर हुनु धेरैलाई स्वाभाविक लागिरहेको छैन। हुन त लोकतन्त्र र संविधान जोगाउने उद्देश्य बताएर दलहरू गठबन्धन गर्न लागेको तर्क गरिँदैछ। तर, राज्य संयन्त्रका सबै अंगहरूको साझा जिम्मेवारीलाई दलले मात्र चिन्ता गर्ने कुरा पत्यारिलो लाग्दैन। यो त केवल सत्ता स्वार्थ पूर्तिको कुटिल चाल जस्तो देखिन्छ।
लोकतन्त्रमा दलीय अभ्यासको महत्त्व धेरै हुन्छ। यस कोणबाट हेर्दा दलमा आबद्ध ठूलो संख्याका पंक्तिले व्यक्तित्व र नेतृत्वको विकास आफ्नै दलभित्र उपलब्ध अवसरको उपयोग गरेर गर्न चाहन्छन्। त्यसै भएर जीवनभर आफ्नो आस्थाको दल, झन्डा र निर्वाचन चिह्नप्रति समर्पित भएर सेवा र त्यागको भावनाका साथ समय, स्रोत र परिश्रम गर्छन्। यसरी संगठित हुने राजनीतिक दलहरूमा जब अवसर खुम्च्याउने र सानो समूहमात्र लाभान्वित हुने हर्कत हुन्छ। त्यसले संगठनका शक्तिदाता कार्यकर्ताको अवमूल्यन गरेको ठहर्छ। यस्तो अवस्थाले राजनीतिक दलभित्र अनिच्छापूर्वकको आज्ञाकारिता वा विद्रोह अथवा परित्यागको परिस्थिति सिर्जना हुन्छ। यस्तो सकस स्थानीय तहको निर्वाचनामा प्रकट भएकै हो। लोकतन्त्रका साधक राजनीतिक दलहरू यसरी गुज्रँदा लोकतन्त्रको जीवनमा समेत अस्वाभाविक अवस्था पैदा हुन्छ।
मसिनो गरी नियाल्दा राजनीतिक दलका संगठनहरू टोलबस्ती, गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै संघमा संगठित भएका देखिन्छन्। यस प्रकार मुलुकभर विस्तारित भएर निर्वाचनमा दरिलो उपस्थिति देखाउने हैसियतका ठूला दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी छन्। हरेक निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न दलका नेता इच्छुक हुन्छन्। लोकतन्त्रका अनुयायीका लागि यस्तो इच्छा प्रकट हुनु स्वाभाविक हो। राजनीतिक दलका शीर्ष नेताले आफ्ना लागि सिट सुरक्षित गरेर बाँकीलाई ‘बोलबोल माछा मुखभरि पानी’को अवस्थामा पुर्याउनु लोकतन्त्रसम्मत दूरगामी सोच होइन। संविधानले भनेको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन व्यवस्था अनुकूलको शुद्ध आचरण पनि होइन।
विगततर्फ फर्केर हेर्दा जनताले पालैपालो उल्लेखित ठूला दललाई सत्ता चलाउने अधिकार सुम्पँदै आएका छन्। उल्लेखित राजनीतिक दलहरूको चरित्र र व्यवहार हेर्दा लोकतन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्न गर्ने ठाउँ छैन। तर, लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन ठूला दलहरूले सक्षमता प्रदर्शन गर्न सकेका छैनन्। सायद लोकतन्त्र र राजनीतिक दलहरूको सफलताका सर्तहरूको पालनामा कमजोर सावित भएर होला। यही पृष्ठभूमिमा गत स्थानीय निर्वाचनको समयमा स्वतन्त्र उमेदवारको लहर चलेको हो। काठमाडौं र धरानमा मेयर पदमा खाँटी स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे। उनीहरूले सुरुआती दिनमा गरेका कामले जनताको समर्थन पाएको पनि देखिन्छ। त्यसैले स्वतन्त्र उमेदवारको हौसला बढेका छ। मतदाताको मनोविज्ञान पनि प्रभावित भएको छ। यसले गर्दा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहने लक्षण देखिँदै छ।
दलको लक्ष्य सत्ता प्राप्ति नै हो। यसलाई अन्यथा भन्न मिल्दैन। तर यस निमित्त दलले आफ्नो योग्यता प्रदर्शन गर्न सक्नुपर्छ। अहिले गठबन्धन वा तालमेल जे शब्दावलीको प्रयोग गरे पनि यसले के जनाउँछ भने ठूला दलहरू एकल प्रतिस्पर्धा गर्न भित्रभित्रै डराइरहेका छन्। राजनीतिक दलहरूले जनतालाई असल शासन दिन नसक्दा डराउने परिस्थिति बन्छ नै। आसन्न निर्वाचनको सन्दर्भमा गठबन्धनको अभ्यासबाट दलको नाम, सिद्धान्त, झन्डा र निर्वाचन चिह्नले बाँधेको कार्यकर्ताको दृढ मनलाई दलहरूले नै खुला गरिदिए। त्यसपछि अहिले उनीहरूको ध्यान उम्मेदवारको व्यक्तिगत सक्षमता र असल आचरणमा गएर जोडिने निश्चित छ। यो स्थितिमा दलहरूले भागबन्डा गरेको सिटमा उनै पुराना अनुहार नै दोहोरिने हो भने मतदाता कति पो आकर्षित होलान् ?। यो सत्य दलका शीर्ष नेताहरूले मनन् गर्न जरुरी देखिन्छ। दलमा भएका एकसे एक होनहार व्यक्तिलाई उम्मेदवार बनाउन सक्ने हो भने फेरि पनि राजनीतिक दलकै भविष्य उज्ज्वल छ।