६ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
जोमसोम : निरन्तरको अविरल वर्षाले अवरुद्ध ७६ किमी बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्ततः ६ दिनपछि खुलेको छ। अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सोमबार दिउँसो ४ बजेबाट सञ्चालनमा आएको हो।
यसअघि अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङ खण्डमा दर्जनौं स्थानमा बाढी पहिरो र नदी कटानले क्षति पुर्याएपछि बेनी-जोमसोम सडकको सिधा सम्पर्कविच्छेद भएको थियो। म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्ध भएपछि सडक खुलाउने निरन्तर प्रयास गरेपछि सडक सहज बनाउन अप्ठ्यारो परेको थियो। दसैं सकिएलगत्तै आइतबारदेखि मौसममा सुधार भएको र वर्षा रोकिएकाले ठाउँमा सडक उपकरण प्रयोग गरेर सडक मर्मत गरी सडक संञ्चालनमा ल्याउन सफल भएको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।
'हामीले अवरुद्ध बेनी-जोमसोम सडक सूचारु गर्न अहोरात्र प्रयत्न गर्यौं। तर वर्षाले अवरोध पुर्यायो, आयोजनाका सुपरभाईजर शेरचनले भने, ‘वर्षा रोकिएकाले सडक मर्मतलाई तिब्रता दिएर सोमबारबाट सडक सञ्चालनमा ल्यान सक्यौं।’
निरन्तरको वर्षाले उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडकको घुमाउने ताल, बेगखोला, बैसरी,गुईठे,लाटो खोला,दाना ,रुप्से र काभ्रेभीर लगायतका स्थानमा बाढी पहिरो र नदी कटानले क्षति तुल्याएको थियो।
त्यस्तै अविरल वर्षा रोकिएसंगै आईतबारदेखि मुस्ताङ खण्ड समेत सहज भएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरो न नदी कटानले मुस्ताङको मार्फा, खन्ती, एक्लेभट्टी, पान्डा खोला , मुक्तिनाथ जाने सडक र कागबेनी –छुसाङ लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो।
मुस्ताङको मार्फाको दुई स्थानमा झन्डै एक हजार मिटर कालोपत्रे सडक बाढी पसेर क्षति पुगेको थियो। स्थानीय प्रशासन, घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र स्थानीयबासीको सक्रियतामा मुस्ताङ सडक आईतबारदेखि सहज पारिएको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दि ।