मोरङमा भित्रिन थाल्यो अवैध पटका

मोरङमा भित्रिन थाल्यो अवैध पटका

विराटनगर : तिहार, छठलगायतका पर्व नजिकिँदै गइरहेका बेला भारतबाट अवैध पटका भित्रन थालेको छ। कारोबारमा संलग्नले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै विराटनगर लगायत मोरङका विभिन्न स्थानमा धमाधम पटका भित्राउन थालेका हुन्। आगामी निर्वाचनतर्फ सुरक्षाकर्मी केन्द्रित हुँदै गर्दा लुकाईछिपाई पटाउन भित्राउने गरेको पाइएको छ। तिहार, छठसमेतका पर्वमा पटकाजन्य विष्फोटक पदार्थको कारोबार एवं प्रयोग धेरै हुन्छ। त्यही भएकाले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर चाडपर्वका बेला नेपाल भित्राउने गरिएको हो। 

पटकाको ओसारपसार, किनबेच र प्रयोगमा स्थानीय प्रशासनले रोक लगाएको छ। तर कारोबारमै रोक लगाइएको पटकाजन्य विष्फोटक पदार्थ विभिन्न माध्यमबाट भित्राउने गरिएको हो। भारतबाट भित्राइएको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले रंगेली नगरपालिका–४ चोप्राहा नाका र रंगेली–९ बाट २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका सोमबार र मंगलबार दिउँसो बरामद गरिएको जानकारी दिए। विभिन्न प्रकारका पटका १ सय ७ बण्डल (५ हजार ४ सय ४४ प्याकेट) बरामद गरिएको उनले बताए। 

पटका ओसारपसारमा प्रयोग गरिएको प्रदेश १–०२–००२ ह ८७८९ नम्बरको अटो टेम्पो र चालक सुनवर्षी नगरपालिका–८ का ३० वर्षीय जितेन्द्र राजवंशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। चालक राजवंशीविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइने डीएसपी श्रेष्ठको भनाइ छ। 

त्यस्तै मारुती भ्यानमा राखेर ल्याउँदै गरेको पटका प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट सोमबार साँझ बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर इलेक्ट्रिक सामान ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर चेकजाँच गरेको थियो। भ्यानभित्र तस्करी गरेर ल्याइएको ५ लाख ७७ हजार मूल्य बराबरको इलेक्ट्रिक सामान र पटका फेला परेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार इलेक्ट्रिक सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिइएको छ। 

बरामद गरिएको पटका प्रयोगमा ल्याउन नसक्ने हिसाबले नष्ट गरिने प्रहरीले जनाएको छ। ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनी प्रदूषण हुने गरेको छ। पड्का निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको प्रहरीले जनाएको छ। 
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पटकको आवाजले कानमा असर गर्नुका साथै मानवीय र भौतिक क्षतिसमेत निम्तने बताए। पटका पड्काएर रमाइलो गर्न खोज्दा क्षति बेहोर्नुपर्ने र ध्वनी प्रदूषणसमेत हुने उनको भनाइ छ। ‘पटकाको आवाजले ध्वनी प्रदूषण हुनुका साथै आगलागी निम्तिन सक्छ। मानिसको शरीरका अंगमा क्षति पुग्छ,’ एसपी कोइरालाले भने, ‘मानवीय तथा भौतिक क्षति हुन नदिन पटकाको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ। भारतबाट भित्रन नदिन सीमा क्षेत्रमा कडाइ गर्दै उच्च सतर्कता अपनाइएको छ।’ 

तिहार लगायतका चाडपर्व र आगामी निर्वाचनलाई समेत लक्षित गरेर सशस्त्र प्रहरीसँग समेत समन्वय गरेर सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै कडाइ गरिएको कोइरालाको भनाइ छ। भारतबाट भित्रने पटकाले निर्वाचनमा समेत सुरक्षा चुनौती थपिन सक्ने सुरक्षा विश्लेषण छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.