टिकट पाए दल, नत्र बदल

टिकट पाए दल, नत्र बदल

काठमाडौं : विचार मन परेर राजनीतिमा लाग्छन्। त्यही विचारका आधारमा राजनीतिक दलमा जीवन समर्पण गर्छन्। धेरैले सहादत नै प्राप्त गर्छन्। त्यो भनेको निष्ठा, आदर्शको राजनीति हो। तर, त्यसरी प्राप्त लोकतन्त्रमा धेरै नेता अवसरकै पछि दौडिएका छन्। ताक परेसम्म कुनै दलमा रहन्छन्। नत्र दल बदली हाल्छन्। यो प्रवृत्ति बढी चुनावका बेला देखिन्छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरै जना दल बदल्दै उम्मेदवार बनेका छन्। 

एउटा दलबाट टिकट नपाउने भएपछि अर्को दलमा गई चुनावमा उम्मेदवार बन्ने नेता धेरै छन्। व्यक्तिगत स्वार्थका कारण दल अदलबदल गर्ने क्रमले दलहरूलाई गाँजेको छ। नेताहरूले निष्ठा, आदर्शलाई चटक्कै भुल्दै गएका छन्। यस्तो ‘आया रामगया राम’ प्रवृत्तिले राजनीतिलाई विकृति पार्दै लगेको छ। यसकै उदाहरण बनेका छन् एमाले स्थायी कमिटी सदस्य प्रभु साह। माओवादी रहँदा अवसर पाए। त्यताबाट नभएपछि एमालेमा आए। यता पनि अवसर छोपे। तर, उनै नेता साहले एमालेबाट टिकट दिनभर गोजीमा राखेर अबेर स्वतन्त्रबाट रौतहट ३ मा उम्मेदवारी दिए। जसपासँग चुनावी तालमेल गरेकामा उनी असन्तुष्ट देखिएका छन्। 

एमालेकै घनश्याम भुसाल कम्युनिस्ट विचारधाराका ‘खम्बा’ मानिन्छन्। उनलाई टिकट नदिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना भयो। तर, आदर्श र सिद्धान्तको राजनीति सिकाउने उनै भुसालले उम्मदेवार हुन नपाउँदा पार्टी परित्याग गरे। त्यति बेला ओलीभन्दा धेरै आलोचना भुसालको भयो। भुसालले एमालेबाट रुपन्देही ३ मा २०७४ सालको निर्वाचन जितेका थिए। यसपटक रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्तारुढ गठबन्धनको साथ देखिएको छ।

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला टिकट नपाएपछि चितवन ३ मा सत्ता गठबन्धनको बागी बनेका छन्। एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको छ। त्यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। राप्रपाबाट विक्रम पाण्डे उठेका छन्। अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए। दाहाल चितवन ३ ‘असुरक्षित महसुस’ गरी गोरखा २ मा गएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक थिए, उमाशंकर अरगरिया। उनी एमालेमा गएर धनुषा २ मा चुनाव लड्दै छन्। अरगरियालाई टिकट दिने भएपछि एमालेका नेता गगाराम यादव भने जसपामा गई चुनावमा उठेका छन्। 

जसपाका नेता लक्ष्मी महतो महोत्तरी १ मा उम्मेदवारका आकांक्षी थिए। तर, पार्टीले टिकट नदिने भएपछि एमालेमा प्रवेश गरे। उनलाई एमालेले टिकट दिएको छ। उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलसँग थोरै मतले पराजित भएका थिए। उनी यसपटक पोखरेल सँगै प्रतिस्पर्धामा छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मियाँ एमालेमा प्रवेश गरी बारा ४ मा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो पार्टी होइन, एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवार बनेका छन्। थापाले पार्टीका अन्य नेताकार्यकर्तालाई अलपत्र छोडेर एमालेसँग तालमेल गरेका हुन्। आफ्नो पार्टीको ‘तीर’ चिह्न हुँदाहुँदै हिन्दू राष्ट्रको एजेन्डा बोकेको पार्टीले कम्युनिस्टको चुनाव चिह्न लिएर निर्वाचनमा जाने भनेर उनको आलोचना भएको छ। 

एमालेबाट २०६४ मा संविधानसभा सदस्य बनेका विनोद चौधरी २०७४ मा काग्रेसबाट सांसद बनेका थिए। उनी कांग्रेसबाटै नवलपरासी पश्चिम १ मा चुनाव लड्दै छन्। 

एमालेकी गंगाचौधरीले टिकट नपाएपछि दाङ १ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन्। उनी २०७४ सालमा समानुपातिक सांसद बन्ने भएपछि थरुहट तराई पार्टी नेपाल छोडेर एमालेमा लागेकी थिइन्। 
जसपा केन्द्रीय सदस्य अमृतादेवी अग्रहरी र रुहीनाज एमाले प्रवेश गरे। एमालेबाट समानुपातिकको बन्दसूचीमा अटाएका छन्। 

झापा २ मा एमाले छाडेका हरिबहादुर रानालाई सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले टिकट दिएको छ। उनी एमालेबाट निर्वाचित पूर्वमेयर हुन्। 

कांग्रेस छोडेर लालबाबुसिंह भुइँहारले लोसपाबाट टिकट लिएका छन्। सत्तारुढ गठबन्धनले लोसपासँग चुनावमा तालमेल गर्ने भएपछि कांग्रेसबाट उनले टिकट नपाउने भए। तर, तत्कालै लोसपाको भागमा परेको क्षेत्रमा भुइँहारले दल बदलेर टिकट लिएका हुन्। नेता हेमराज राई जसपा छोडेर एमालेमा फर्किए। उनी समानुपातिकबाट उम्मेदवार बनेका छन्। 

  • टिकट नपाउँदा दल फेरेर उम्मेदवारी
  •  कोही बागी, कोही स्वतन्त्र उम्मेदवार 
  •  अवसर पाएसम्म दल, नत्र अदलबदल 

कांग्रेस नेता एवं व्यवसायी देवीप्रकाश भट्टचनलाई एमालेले उम्मेदवार बनाएको छ। उनी समानुपातिक सूचीमा आदिवासी जनजाति समूहको पहिलो नम्बरमा सिफारिसमा परेका छन्। कांग्रेस संगठन विभागको उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टचनलाई पार्टीले समानुपातिक सूचीमा नराखेपछि उनी एमालेमा गएर उम्मेदवार बनेका हुन्। उनी यसपटक बागलुङबाट प्रतिनिधिसभा सदस्य पदका आकांक्षी बनेका थिए। 
पार्टीबाट अवसर नपाएपछि कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार बनेका छन्। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। पुराना कम्युनिष्ट नेता

रामचन्द्र झा पार्टी परिवर्तन गरिरहने नेतामा पर्छन्। एमाले छोडेर माओवादी बने। एकीकृत समाजवादीमा पुगेका उनी पार्टीले टिकट नदिएपछि धनुषा २ मा स्वतन्त्र उम्मेदवार बनेका छन्।

समाज सुधार, देश विकासको नाममा बिना लगानीको व्यवसायजस्तो बनेको छ राजनीति। आफूअनुकूलको नीति बनाउन जहाँ अवसर पाइन्छ त्यहाँ जाने, फाइदा नभए छोड्नेजस्तो प्रवृत्ति देखिएको छ। 
पद्मिनी प्रधानांग, विश्लेषक  

मधेस प्रदेशमा पार्टी फेरेर टिकट हत्याउने प्रवृत्ति बढी देखिएको छ। टिकट नपाएपछि धेरैले पार्टी फेरेका छन्। आन्दोलन र निर्वाचनका बेला पार्टी परिवर्तन गर्ने प्रवृत्ति धेरै हुने गरेको छ। मधेस आन्दोलनका बेला धेरै ठूला दलका नेताहरूले पार्टी छोडेका थिए। अहिले तिनै नेता ठूला पार्टीमा फर्किरहेका छन्। महन्थ ठाकुर, विजयकुमार गच्छार, अशोक राई, महेन्द्रराय यादव, रामजनम चौधरीलगायत धेरैले ठूला पार्टी छाडेका थिए। तर, आन्दोलनका लागि गएका नेता एक ठाउँमा बस्न सकेनन्। सत्ता र शक्तिका लागि उनीहरूले एजेन्डा छोडे। उनीहरूका पछि लागेका नेता नेतृत्वले नै लत्तो छाडेपछि शक्ति र सत्ताकै पछि लागे। तर, मन्त्री, सांसद बन्न पार्टी अदलबदल गरिरहेका छन्। 

जो कोही विचार मन परेर राजनीतिमा लाग्छन्। त्यही विचारका आधारमा राजनीतिक दलमा जीवन समर्पण गर्छन्। कतिपयले सहादत नै प्राप्त गर्छन्। त्यो भनेको निष्ठा, आदर्शको राजनीति हो। तर, त्यसरी प्राप्त लोकतन्त्रमा धेरै नेता अवसरकै पछि दौडिएका छन्। ताक परेसम्म कुनै दलमा रहन्छन्। नत्र दल बदलिहाल्छन्। यो प्रवृत्ति बढी चुनावका बेला देखिन्छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नपाएका धेरै जना दल बदल्दै उम्मेदवार बनेका छन्।

यो निर्वाचनमा पार्टी अदलबदल गर्नेको लर्को नै छ। आफू रहेको पार्टी टिकट नदिएमा तुरुन्तै पार्टी अदलबदल गर्ने प्रवृत्ति अत्यधिक छ। प्रतिनिधिसभामा मात्रै होइन प्रदेशसभाका टिकट लिनको पार्टी अदलबदल गर्नेहरू धेरै छन्। 

एमालेले टिकट नदिएपछि एकीकृत समाजवादीबाट प्रह्लाद गिरीले उम्मेदवारी दिएका छन्। गिरी पर्सा ३ (ख) बाट उठेका हुन्। मनोनयन दर्ताको एक दिन पहिलामात्र एमालेले जसपासँग गठबन्धन गर्‍यो। गिरीले दाबी गरेको क्षेत्र जसपाको भागमा पर्‍यो। जसपाले डा.मधु गुप्तालाई उम्मेदवार बनाएको छ। 

अवसरवादीको स्वार्थमा राजनीति चलेको छ। नेताहरू अवसर र स्वार्थ खोज्दै सिद्धान्त बिर्सन थाले। नीति, विचार, सिद्धान्त समाप्त भयो। मुलुकको अवस्था खराब हुने लक्षण देखिएको छ । 
राजकुमार पोख्रेल, विज्ञ 

इटहरी उपमहानगरपलिका पूर्वमेयर द्वारिकालाल चौधरीले टिकटकै लागि एमाले छोडे। माओवादी केन्द्रमा गएका चौधरी सुनसरी २ कमा सत्तागठबन्धनका उम्मेदवार बनेका छन्। टिकट नपाएपछि किशोरी साहले पुरानो पार्टी छोडे। उनी गत निर्वाचनमा एमालेबाट धनुषा १ प्रदेशसभा (क) मा निर्वाचित भएका थिए। तालमेलको क्रममा जसपाको भागमा संघ र प्रदेश दुवै परेपछि साहले एमाले परित्याग गर्दै जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन्। बाँकेमा माओवादी केन्द्र छोडेका आदेश अग्रवाल र अम्मर खड्का जसपाबाट उम्मेदवार बनेका छन्।

नेतृ गंगाचौधरी राष्ट्रियताका लागि बोल्ने व्यक्तिलाई विस्थापित गर्न पार्टी लागेको बताउँछिन्। ‘राष्ट्रियताका लागि बोल्ने व्यक्ति चिन्नुपर्छ। आवाज उठाउनेलाई टिकट नदिने, आफ्नो क्षेत्रमा मरिमरी काम गर्नेलाई टिकट नदिएपछि मलाई सह्य भएन्’, चौधरी भन्छिन्, ‘मलाई तपाईंको पछाडि जनमत छैन भनियो। मेरो पछाडि जनमत छ वा छैन भन्ने मलाई थाहा हुँदैन् ?’ आप्mनो मूल्यांकन पार्टीले गर्न नसकेको उनको गुनासो छ। 
भुसाल भने आफू सिद्धान्त, आदर्श र निष्ठामा अडिग रहेको बताउँछन्। ‘मैले पार्टी त्याग गरेको हो निष्ठा त्याग गरेको छैन। पार्टी अध्यक्ष ओलीसँगै नैतिकता, लोकतान्त्रिक वातावरण नभएपछि पार्टी त्याग गरेको हुँ’, भुसाल भन्छन्।

के भन्छन् विश्लेषक ?

राजनीतिक विश्लेषक पदमिनि प्रधानांग पार्टी परिवर्तनले नेताहरू राजनीतिक सिद्धान्तप्रति बफादार नदेखिएको बताउँछिन्। पद र निजी स्वार्थका लागि दल परिवर्तन गर्ने गरेको उनको बुझाइ छ। 
‘राजनीति निजी स्वार्थमा चलेको छ। देशको नीति बनाउने नेताहरूले कुर्सीको मोहमा सिद्धान्त बिर्सिएका छन्। नीतिअनुसार काम गर्नुपर्ने हो। तर, मेल खाएको छैन। सिद्धान्तै नमिल्नेहरू कुर्सीका लागि पूर्व–पश्चिम, उत्तर–दक्षिण सर्ने गरेका छन्’, प्रधानांग भन्छिन्। 

उनकाअनुसार राजनीतिमा निजी स्वार्थले जरो गाडेको छ। ‘समाज सुधार देश विकासको नाममा बिना लगानीको व्यवसाय जस्तो बनेको छ राजनीति’, उनी भन्छिन्। आफू अनुकूलको नीति बनाउन, जहाँ अवसर पाइन्छ त्यहाँ जाने, फाइदा नभए छोड्ने जस्तो प्रवृत्ति देखाउने गरेको उनको भनाइ छ। ‘एकै व्यक्ति जीवनभर पदमा बस्नु पर्ने लालचका कारण हो’, उनी भन्छिन्।

राजनीतिक विज्ञ राजकुमार पोख्रेल अवसरवादीको स्वार्थमा राजनीति चलेको बताउँछन्। यही अवस्था रहने हो भने मुलुकमा राजनीतिक संकट आउने उनको बुझाइ छ। ‘पार्टीहरू अवसर र स्वार्थ खोज्दै सिद्धान्त बिर्सन थाले। नीति, विचार, सिद्धान्त समाप्त भयो। मुलुकको अवस्था खराब हुने लक्षण देखिएको छ। उनले पार्टीले देश चलाउने देशमा संवैधानिक संकट आउने लक्ष्यण देखियो’, उनी भन्छन्। 

टिकट नपाए पनि जसले छाडेनन् पार्टी

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकटबाट वञ्चित भएका छन्। यसअघि मोरङ २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले अवसर नदिएको हो। कांग्रेसले उक्त क्षेत्रमा सुजाता कोइरालालाई चुनावी मैदानमा उतारेको छ। 

टिकट नपाए पनि पार्टीभित्र रहेर सुधारका लागि काम गर्ने नेता रिजाल बताउँछन्। उनी भन्छन्, ‘म पार्टीभित्र बसेर पार्टी सुधार्ने मान्छे हुँ। अन्य दलका नेताहरूले पार्टी परिवर्तन गरेको कुरामा मलाई कुनै टिप्पणी गर्नु छैन।’ अछाम–१ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका एमालेका पूर्वउपाध्यक्ष भीम रावलले टिकट नपाए पनि पार्टी परित्याग गरेनन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली रावललगायत नेतासँग रुष्ट छन्। रावलले घात गरेको भन्दै माफी माग्नुपर्ने सर्त ओलीले राख्दै आएका थिए। आफूले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको रावलको भनाइ छ। उनले भने, ‘म पत्रकार सम्मेलन गर्दै छु। यस विषयमा त्यहीं जवाफ दिनेछु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.