रामग्रामको पम्फापुर गाउँमा झाडापखालाको प्रकोप
परासी : नवलपरासीको रामग्राम नगरपालिका–१८ को पम्फापुर गाउँमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखालाबाट गम्भीर भएका १८ जनाको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
गएरातिदेखि झाडापखालाको प्रकोप देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा १ सय २३ जनाको उपचार गरिएको थियो। उपचारका क्रममा स्वास्थ्यमा जटिलता देखिएका बिरामीलाई अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देविलाल पौडेलले बताए। अस्पतालमा बेड अभाव भएपछि एउटै बेडमा दुई जनालाई राखेर उपचार गरिएको छ।
दसैं सकिएपछि गाउँमा लगाइएको भोज (भण्डारा) मा खाना खाएकाहरु बिरामी भएको स्थानीयले बताएका छन्। अहिले झाडापखालाका रुपमा फैलिएको रोग हैजा पनि हुन सक्ने भएकाले अनुसन्धान टोली पठाएर यकिन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।