प्रचण्डपथको घुमन्ते बाटो
प्रचण्डको घुमन्ते उम्मेदवारीलाई जसले जसरी व्याख्या गरे पनि उनको उद्देश्य जसरी पनि नहार्नु हो। आफ्नो जित सुनिश्चित गर्नु हो। प्रचण्ड नहार्ने सर्तमा जे पनि गर्न तयार रहन्छन् र जहाँ जान पनि तयार हुन्छन्। नर्कमा खसेको सिक्का दाँतले टिप्न पछि पर्दैनन् भनिन्छ। सिद्धान्तहीन सिद्धान्त प्रचण्डको सौदाबाजी गर्ने हतियार हो। प्रचण्डले भने झैं उनी जत्तिको घुमन्ते र बसाइँसराइ गरिरहने संसदीय उम्मेदवार इतिहासमा न कोही थियो न होला। तर, यो कुनै विशेष मानक र उदाहरण योग्य कर्म होइन। गर्व गर्न लायक विषय बनेन। हारको भयले घुमुवा बन्नुपर्ने बाध्यता हो।
प्रचण्डको अस्थिर राजनीतिक प्रवृत्तिलाई जे जस्तो सकारात्मक संज्ञा दिएर उनका अनुयायीले प्रचार गरे पनि उनले राजनीतिलाई सैद्धान्तिक निष्ठा भुलेर प्रयोगमाथि प्रयोग गरिरहेका छन्। सिद्धान्त क्षयको राजनीति गर्दै प्रचण्ड जहाँजहाँ पुगेका छन्, त्यहाँ क्षति भएको नै देखिन्छ। फाइदाका लागि जे र जस्तो पनि गर्न तयार प्रचण्डको शैलीलाई उनका अनुयायी डाइनामिक पर्सनालिटी र समय र परिस्थतिको आकलन गरेर चल्ने नेता भनेर प्रशंसा गर्छन्। त्यो सफेद झुट हो। देशको भविष्य एउटा व्यक्तिको जित हारमा उस्तो निर्भर हुँदैन। राष्ट्र हार्ने व्यक्ति जित्ने, निष्ठा र नैतिकता पलायन बन्ने अनि व्यक्तिको उत्थान नै सर्वेसर्वा ठान्ने नियतसँग नीति पराजित बन्ने स्थिति पक्कै शोभनीय देखिँदैन। प्रचण्ड अहिले जे गरिरहेका छन्, जुन उद्देश्यका लागि दौडधुप गर्छन्, त्यो नितान्त एक व्यक्ति र एक पार्टीको स्वार्थ केन्द्रित राजनीति हो।
आजीवन सत्ता र शक्तिको लालसा राख्ने नेताहरू भएको देशमा बाबुरामको चुनाव नलड्ने घोषणालाई सकारात्मक रूपमा लिनु पर्छ। प्रचण्डको खातिरदारीमा भन्दा कुनै युवा माओवादीको पक्षमा आफ्नो क्षेत्र बाबुरामले हस्तान्तरण गरेको भए सुनमा सुगन्ध भएको भान हुन्थ्यो।
यो देशको भाग्य र भविष्यको विषय होइन। निरन्तर भाग्नु, सुरक्षित क्षेत्र खोज्नु र अस्थिर राजनीति गर्नु प्रचण्ड प्रवृत्ति बनेको छ। राजनीतिक अस्थिरताको एक मात्र कारण प्रचण्ड प्रवृत्ति मात्र नभए पनि अरू नेता र पार्टी पनि हुन्। तर, नेकपा माओवादी केन्द्र र प्रचण्डको हिस्सा अस्थिरता निर्माण गर्न बढी कारण हो। अस्थिरताको चुरो र जरो प्रचण्ड हुन् भने अरू सहायक पात्र र प्रवृत्ति हुन्। जसलाई २०६४ को निर्वाचन जितेर ठूलो पार्टी बनेको माओवादीको गतिविधि र हरेक राजनीतिक क्रियाकलापले आज पर्यन्त पुष्टि गरिरहेको छ। लचकताको स्वाभाविक धर्म हुन्छ तर लचक हुने नाममा प्रचण्ड जे गर्छन्। त्यसले लचकताको खिल्ली उडाएको पाइन्छ।
सत्ता र स्वार्थको नाममा जति पनि लचक देखिनु अनैतिक हर्कत र अराजनीतिक चलखेल हो। चुनाव जित्ने ग्यारेन्टी कसैले गरेर जप होम लगाउन प्रचण्डलाई कसैले लगाउँछ भने यिनी गेरुवस्त्र धारण गरेर मनकामनाको परिक्रमा गरिरहेका भेटिन्छन्। नागको फोटो टाँसेर सर्पबाट सुरक्षित हुने प्रवचन दिने माक्र्सवादी माओवादी हुन्। स्वार्थका लागि सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिएर राम भजन, कृष्ण भजन गाउने माक्र्सवादी जस्तै छन् प्रचण्ड। समय र परिस्थितिको माग भन्दै आफूलाई केन्द्रमा राखेर जे गर्दा नाफा हुन्छ, त्यो गर्छन् प्रचण्ड। जहाँ नैतिकता र इमानको गुञ्जायस पाइँदैन।
संसद् छिर्ने क्रममा पहिलोपल्ट २०६४ मा रोल्पा–२ र काठमाडौं–१० मा संसद् सदस्यका लागि प्रतिस्पर्धा गरेर दुवै स्थानबाट सानदार मत ल्याएर विजयी बनेका प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीसमेत बने। २०७० को चुनावमा काठमाडौं १० को अलावा सिराहाबाट पनि प्रत्याशी बने तर काठमाडौं १० ले पुनः अनुमोदन गरेन भने सिराहाबाट मुस्किलले चुनाव जिते। आम राजनीतिकर्मी सिराहामा पनि जितेको नभएर जिताइएको तर्क गर्छन्। तर्क जसले जे गरे पनि वैधानिक निकायले वैधानिक हैसियत प्रदान गरेपछि अँध्यारो कोठामा भएका गतिविधि तपसिल बन्छन्।
त्यतातिर नखोतलौं। २०७० मा सिराहाबाट प्रतिनिधित्व गरेका प्रचण्ड दोस्रोपटक २०७३ साउन २९ पनि प्रधानमन्त्री बने। २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित प्रचण्ड आजीवन चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने प्रतिज्ञा गरिरहेका थिए। गृहजिल्लाबाट चुनाव लड्ने वाचा गरेर भव्य घर निर्माण गरेर घटस्थापनाको दिन साइत निकालेर घर सरे प्रचण्ड। अहिले जन्मथलो छोडेर पूर्व कर्मथलो र पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको जिल्ला गोरखातिर चुनाव लड्न गए। यसरी जानुको तात्पर्य जसरी पनि जित सुनिश्चित गर्नु नै हो। यसको अर्थ यो व्यवस्थामा नेताहरू हार्न नहुने निष्कर्ष निस्कन्छ।
चुनावको पराजय नै जिन्दगीमा सबथोक पराजय हो भन्ने मानसिकताका कारण नै व्यवस्था स्वयं बदनाम बनिदिन्छ। हामीले कस्तो व्यवस्थाको अभ्यास गर्दै छौं ? जहाँ अमूक पार्टीको अमूक नेताहरू कहिल्यै हार्न नहुने ? १६औं अमेरिकी राष्ट्रपति अब्राहम लिंकन दर्जनौं पटक हारेर बल्लतल्ल एक कार्यकाल (सन् १८६१– १८६५) विजयी बनेका थिए। उनी कहिल्यै हारदेखि डराएनन्। हार्दा उनको इज्जत प्रतिष्ठा खत्तम पनि भएन। दुर्भाग्य हाम्रोमा चुनाव हार्नु भनेको जिन्दगीको बाजी हार्नु जत्तिकै मानिन्छ। धन, सम्पत्ति, इज्जत, प्रतिष्ठा सबै धुलिसाथ भएको ठानिन्छ। तसर्थ जसरी पनि साम, दाम, दण्ड, भेद, जोरजबर्जस्ती जुनसुकै उपाय गरेर पनि चुनाव जित्नुपर्ने बाध्यता छ। यो सुखद पक्ष होइन।
विश्वकै सबैभन्दा लामो चक्रपथ अफगानिस्तानमा बनेको छ। सन् २००३ मा खुला गरिएको २०९२ किलोमिटर लामो यसले उक्त देशका दुई तिहाइ जनसंख्या समेट्छ। जसले नेपाललाई फन्को लाउन सक्छ।
त्यागमा प्रतिष्ठा आर्जन हुन्छ। लोभ, मोह र बारम्बार पदको आशक्तिमा होइन। एउटा व्यक्तिका लागि प्रणालीको हुर्मत काढिनु हुँदैन। संसदीय चुनाव लड्न देशभर जहाँ जतासुकै लडे हुन्छ भन्ने कानुनी छिद्रको उपयोग गरेर नेताले कहिल्यै हार्न हुँदैन। त्यसैले जहाँ सुरक्षित क्षेत्र त्यहाँ नेताको लागि स्थान भन्ने अवधारणा गलत छ। घर नभएकाले पनि चुनाव लड्न सकून् भन्ने अभिप्रायले गरिएको संवैधानिक व्यवस्था नेताको मनोमानीका लागि हुनु अनुचित छ। रोल्पा, काठमाडौं, सिराहा र चितवन हुँदै गोरखा पुग्नुमा प्रचण्ड उद्देश्य आफू नहार्नु मात्रमा सीमित छ। जिल्ला, क्षेत्र बनाउने उद्देश्य सन्निहित भएको भए जहाँ जहाँ प्रचण्ड उठे, त्यहाँ त्यहाँ अरू १ सय ६५ चुनाव क्षेत्रको दाँजोमा उल्लेख्य विकास निर्माण के भयो ? प्रचण्डले प्रतिनिधित्व गर्नु भएको क्षेत्रमा शान्ति, विकास र समृद्धि अन्यत्रको भन्दा ज्यादा छ ? सुखी नेपाली समृद्ध नेपालको दृष्टान्त हेर्न तत्तत् जिल्ला र क्षेत्र जानुपर्ने हो ?
आजसम्म रोल्पा, चितवन, सिराहा र काठमाडौंले र प्रचण्डलाई गोर्खाले पनि निःसन्देह काँध हाल्नुपर्ने कुनै तर्क छ ? नेता जितका ठेकेदार मात्र हुन् कि आरोह अवरोहका साक्षी र हिस्सेदार पनि ? नेता कुन त्यस्तो जिनिस हो जसको भागमा हार पर्न नहुने ? दुःख कष्ट झेल्न नहुने ? आपद्विपद् झेल्न नमिल्ने ? नेतालाई देवत्वकरण गर्ने हाम्रो स्वभावले नेताहरू बिग्रिएका हुन्। नेताहरू बिगार्ने कार्यकर्ता समर्थक र शुभेच्छुकहरू पनि हुन्। विद्वान् र बुद्धिजीवी पनि हुन् जसले नेताको इच्छाविपरीत बोल्ने र सही सुझाव दिने बुता देखाउँदैनन्। नेताहरूको मर्जी जतिसुकै कटु र अप्रिय भए पनि शिरोपर गर्ने पार्टीका संगठित कार्यकर्ता पनि नेतालाई चुक्न बाध्य पार्ने तत्त्वहरू हुन्।
हो, माओवादी र प्रचण्डका लागि गोरखा २ सुरक्षित स्थान हो। जहाँ ११ पालिकामध्ये ९ मा माओवादीले गत स्थानीय चुनावमा आफ्नो किल्ला कायम गरेको छ। त्यहीं बाबुरामको साथ र कांग्रेसलगायत गठबन्धनको सहयोग छ। प्रश्न के हो भने गोरखामा माओवादी संगठन बलियो बनाउनेको हक किन छिनियो ? कि कुनै पनि माओवादी नेता गोरखाबाट प्रतिनिधित्व गर्ने ल्याकत राख्दैनन् ? गोरखाली भएर पनि विद्यार्थी राजनीतिबाट खारिएर आएका लेखनाथ न्यौपानेजस्ता बौद्धिक र सिद्धान्तनिष्ठ युवा नेता आजीवन रोएर नै हिँड्नु पर्ने हो ? निषेधले प्रतिरोध, प्रतिरोधले प्रतिशोध अनि प्रतिशोधले समग्रमा प्रत्युत्पादक परिस्थिति निर्माण गर्छ।
नेतालाई सिट छोडिदिने चलन अपसंस्कृतिको रूपमा रहन्छ। जसले कार्यकर्ता दास र पराश्रित बन्न विवश हुन्छन्। प्रचण्डले थिति निर्माण गरेनन्, बेथितिको चाँङ ठड्याए। जसको कारण २०६४ को माओवादी राप र ताप प्रचण्डलाई ठाउँ फेरि भाग दौड गर्दै अर्काको भाग खोस्दै चुनाव लडने स्थितिमा पुर्यायो। प्रचण्डको गतिशीलतालाई माओवादी केन्द्र र एमाले एकीकरणले पनि अरू गतिशील बनायो। कुनै पनि व्यवस्था नेताको स्वार्थको व्यवस्थापन मात्रै हो ? चुनाव हारेर सांसद बन्न, मन्त्री र प्रधानमन्त्री बन्न नसकिएला तर नेता बन्न त पक्कै सकिन्छ।
तत्कालीन विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापा थोरै समयमा कहिल्यै चुनाव नजितेर पनि नेता बनेको नमुना नेपालकै होइन र ? फेरि एक नेता नै कतिपटक बन्नुपर्छ सांसद, मन्त्री र प्रधानमन्त्री ? नेताहरू नमरुन्जेल सत्ता र शक्तिका लागि मरिमेट्ने र पद प्रतिष्ठा आफ्नाका लागि केन्द्रित गर्ने परिपाटीले राजतन्त्र फ्याँक्नुको औचित्य सावित भयो र ? के यो आममान्छेको प्रश्न होइन र ? प्रचण्ड पथको अस्थिर चुनावी भागदौडलाई तत्तत् चुनाव क्षेत्रका जनतालाई दिएको धोका भएन र ? प्रचण्डले रोल्पा, सिराहा, काठमाडौं र चितवनमा दिएका सबै आश्वासन पूरा गरे ? सिराहा जाँदा माइतीघर आएको जस्तो लाग्ने र रोल्पा पुग्दा क्रान्तिको गौरवभूमि ठान्ने अनि चितवन आफ्नो घर सम्झने ती नेता किन आज ती ठाउँलाई माया मारेर हिँडेका हुन् ?
नेपाली राजनीतिमा शीघ्र र जस्तो पनि निर्णय लिन सक्ने, यूटर्नको राजनीतिका पर्याय प्रचण्डको इतिहास जितको छ। आफू जित्ने मामलामा जस्तोसुकै निर्णय लिन्छन् र त्यो निर्णय बोल्ड भनेर दावा गर्छन्। गणतन्त्र ल्याउन प्रचण्डले जे गरे त्यसको सबै हिसाब किताब नाफामा पाएका छन्। प्रचण्ड आज जे गर्दैछन् त्यो उनको आफ्नै इतिहास र गौरव माथिको अन्याय हो। आफ्नै अवमूल्यन हुने गरी निर्वाचन क्षेत्र चाहर्दै टुरिष्ट उम्मेदवार नबनेको भए आफैं माथि न्याय हुन्थ्यो। आफ्नो योगदान र राष्ट्रिय पहिचानलाई आफैं संकुचनमा पार्ने प्रचण्ड प्रयत्न प्रत्युत्पादक बन्ने खतरा छ।
नेताहरूलाई इमानको नैतिकताको र त्यागको राजनीति सिकाउने हक छ। मनोपोली गरेर लुई चौधौले झैँ म नै राज्य हुँ भन्ने हक छैन। त्यस्तो हक जनताले दिनु पनि हुँदैन। आजीवन सत्ता र शक्तिको लालसा राख्ने नेताहरू भएको देशमा बाबुरामको चुनाव नलड्ने घोषणालाई सकारात्मक रूपमा लिनु पर्छ। प्रचण्डको खातिरदारीमा भन्दा कुनै युवा माओवादीको पक्षमा आफ्नो क्षेत्र बाबुरामले हस्तान्तरण गरेको भए सुनमा सुगन्ध भएको भान हुन्थ्यो।