महिला भलिबलमा गण्डकीको विजय सुरुवात
बेनी : बेनीमा बिहीबारदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा गण्डकी प्रदेशले विजय सुरुवात गरेको छ।
बेनीको खुला मञ्च खेलमैदानमा भएको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। वेष्ट अफ फाइफमा खेलाइएकोमा गण्डकीले सुदूरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको हो।
पहिलो २५-१८, दोस्रो २५-८ र तेस्रो सेट २५-२२ अन्तरमा पराजित गरेको थियो। गण्डकीकी रिमा कुँवरले उमेन अफ द म्याचको उपाधी पाइन्। गण्डकी महिला भलिबलको राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही र सुदुरपश्चिम बालारती जोशीको कप्तानीमा मैदानमा उत्रिएका थिए।
कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीनवटा विभागीय टिम सहभागी छन्। शुक्रबार दोस्रो दिन पहिलो चरणको तीनवटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए।
लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ। पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन्। समूह १ र २ मा तीन-तीन र समूह ३ र ४ मा २-२ वटा टिम छन्।
असोज २८ गते शुक्रबार बिहान ८ बजे समूह १ को सशस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने भएको छ।
यसैबीच बेनीमा शुक्रबारदेखि हुने तेक्वान्दो प्रतियोगिताको सबै तयारी पूरा भएको छ। सात प्रदेश, तीन विभागीय र एनआरएनएका ३३० जना खेलाडी विभिन्न उमेर समूहमा ६६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताए।
तेक्वान्दोका सबै टिमका खेलाडी बेनीमा आइसकेका छन्। महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे। उद्घाटन अघि बेनी बजारमा बाजागाजा, झाँकी सहितको र्याली निकालिएको थियो।