दानवी प्रवृत्ति निवारणको रामवाण
पूर्वीय वाङ्मय जीवनदायी ज्ञान–विज्ञान, आचार–विचार, आराधना–उपासना र साधनाको विशाल भण्डार हो। वेद, उपनिषद्, पुराण, स्मृति, संहिता, ब्राह्मणग्रन्थ, विभिन्न स्तोत्र र महापुरुषहरूका साधनापूर्ण अनुभवका अमृतमय प्रवचन शृंखला आदि तमाम स्रोतले त्यसको पुष्टि गरेका छन्। बहुलदेववादी हाम्रो वैदिक सनातन हिन्दूधर्मको परम्पराभित्र तेत्तीसकोटी देवदेवीको आराधना–उपासना र साधनासम्बन्धी विभिन्न व्यवस्था पाइन्छ। ती सबै स्रोतसाधनको उद्देश्य दानवी प्रवृत्तिमाथि दैवी शक्तिको विजय र प्राणीमात्रको कल्याणप्रति परिलक्षित छ।
दुर्गासप्तशती पूर्वीय वाङ्मयभित्रका तिनै ग्रन्थरत्नमध्ये मार्कण्डेय पुराणअन्तर्गतका कथाहरूमा आधारित शक्तिको उपासना र साधनामूलक उत्तम ग्रन्थ हो। यसलाई जनसाधारणले बुझ्ने भाषामा पवित्र शब्द चण्डीका नामले सम्बोधन पनि गरिँदै आएको छ। हामीभित्र लुकिछिपी बसेको दानवी प्रवृत्तिको निवारण र दैवीशक्तिको जागरण नै चण्डीका कथाहरूको ग्रहणीय सार हो। जसमा सात सय श्लोकहरूमा जगज्जननी भगवती दुर्गाका विभिन्न नाम, चरित्र र स्तोत्र (स्तुति) तथा महिमा गायन गरिएकाले यस पवित्रतम कृतिको नाम दुर्गासप्तशती राखिएको सान्दर्भिकता पुष्टि हुन्छ।
देवी-चण्डीकवचमा ऋषि ब्रह्मा र चामुण्डा देवता, अर्गला स्तोत्रमा विष्णुऋषि र महालक्ष्मी देवता र कीलकमन्त्रमा शिव ऋषि र महासरस्वती देवताको आराधना गरी १३ अध्यायको दुर्गासप्तशती स्तोत्र सुरु हुन्छ। यस ग्रन्थलाई प्रथम, मध्यम र उत्तर तीन चरित्रमा विभाजन गरिएको छ। प्रत्येक चरित्रका विनियोग भिन्न छन्। ऋषि ब्रह्मा र देवता महाकाली रहेको प्रथम चरित्रभित्र देवीको महाकाली स्वरूपको स्तुति र आराधना छ। जसमा एकमात्र पहिलो अध्याय राखिएको छ। मधुकैटभ दैत्यको वध वर्णित यस चरित्रलाई ऋग्वेद स्वरूप भनिएको छ। विष्णुऋषि र महालक्ष्मी देवताबाट सम्बोधित मध्यमचरित्रमा भगवती महालक्ष्मीको स्तुति र आराधना छ। यजुर्वेद स्वरूप मानिएको यो चरित्रभित्र महिषासुर सैन्यवध नामको दोस्रो अध्याय छ भने महिषासुरवध नाम दिएको तेस्रो अध्याय र इन्द्रादि देवताले गरेको देवीस्तुतिलाई चौथो अध्यायमा समावेश गरी मध्यम चरित्रभित्र तीन अध्याय समेटिएका छन्। पाँचौंदेखि १३औं अध्यायसम्मका ९ अध्यायलाई उत्तरचरित्र नाम दिएर यस चरित्रका ऋषि रुद्र र देवता सरस्वती भएकोे उल्लेख छ।
पाँचौं अध्यायमा देवी र शुम्भनिशुम्भका दूतको संवाद, छैटौं अध्यायमा शुम्भनिशुम्भका सेनानी धूम्रलोचनको वध, सातौंमा चण्डमुण्डको, आठौंमा रक्तबीजको, नवौंमा निशुम्भको र दसौंमा बलवान् शुम्भ दैत्यको वध वर्णित छ। शुम्भादि दुष्टदैत्यवर्गको वधको खुसीयालीमा इन्द्रादी देवताले देवीका कात्यायनी, भद्रकाली आदि विविध स्वरूपको स्तुति गरेको ११औं अध्याय अझ घतलाग्दो छ। साधक सुरथ र समाधि वैश्यले देवीसित तीनलोकका वाधा नाश गरी आफ्ना शत्रुको नाश गर्न अनुरोध गरेपछि देवीले वैवस्वत मन्वन्तरका २८औं युगमा उत्पन्न हुने शुम्भनिशुम्भ नामका महादैत्यलाई नास गर्न आफू नन्दगोपकी पत्नी यशोदाका गर्भबाट उत्पन्न भए। तिनको वध गरी आफू विन्ध्याचल पर्वतमा गई बसे। साथै अर्को भयंकर अवतार लिएर विप्रचित्त दानवको वध गरे। रक्तदन्तिका नामले प्रसिद्धि हुने, १०० वर्षसम्म वर्षा नहुँदा मुनिहरूका स्तुतिले आफू अयोनिज नामले उत्पन्न भए। शताक्षी नामले चिनिएर वर्षा नहुन्जेल सागमात्र ख्वाईमानवकोे रक्षा गर्ने हुँदा शाकम्भरी नाम रहने, दुर्गम नामका दैत्यको वध गरी दुर्गादेवी, भीम रूप ग्रहण गरे। मुनिहरूको रक्षा गर्न हिमालयमा गएर राक्षसहरूको भक्षण गरे। जसले गर्दा भीमा, अरुण दैत्यको उपद्रव शमन गर्न ६ खुट्टे असंख्य भ्रमराको रूप लिए। त्यस दैत्यको पनि वध गरे। भ्रामरी रूपले ख्याति कमाउने भविष्यवाणी गरेकी देवीले संसारमा दानवी बाधा पर्दा आफूले विभिन्न अवतार लिएर देवताका शत्रुको संहार गर्नेछु भनेको तथ्य वर्णित छ।
बाह्रौं अध्यायफल स्तुतिको अध्यायका नामले चिनिन्छ। यस अध्यायमा देवताहरूलाई आफ्ना अवतार, स्तुति, सप्तशतीको पाठ, पूजा र आराधनाको माहात्म्य बताएर तिनको पालना गर्ने भक्तका सम्पूर्ण विपत्ति हरण गरी कल्याण गर्ने बताएका छन्। मृत्युपछि सान्निध्य प्रदान गर्ने प्रतिबद्धता बताएर भगवती अन्तध्र्यान भएको र निर्भय भएका देवताहरू यज्ञभाग ग्रहण गरी आआफ्ना स्थानमा गएको, वध हुन बाँकी दैत्यहरू पनि पातालतिर गएको प्रसंग छ। जुन मेधा ऋषिले राजा र वैश्यलाई बताएको उल्लेख गरी भक्तहरूद्वारा पूजित भगवती चण्डीले बारम्बार विभिन्न रूपमा अवतीर्ण भएको उल्लेख छ। चण्डीले मनुष्यलगायत सम्पूर्ण प्राणीको रक्षा गरी भक्तलाई धन, दौलत, सन्तति, धार्मिक बुद्धि र उत्तम गति प्रदान गर्ने बताइएको छ।
सप्तशतीको अन्तिम तथा १३औं अध्याय राजा सुरथ र समाधि वैश्यलाई देवीले वरप्रदान गरेको नामले चर्चित छ। यस अध्यायमा देवीले नैयो जगत्लाई मोहित गर्ने हुँदा दुवैजना मोहित भएकाले यो दुःखद् परिस्थितिको सृजना भएको हो। तसर्थ उनै देवीको पूजा आराधना गर जसले भोग, स्वर्ग र मोक्ष दिन्छिन् भनी ऋषिले भनेका छन्। ऋषिको यो उपदेश सुनेका राजा सुरथ र समाधि वैश्यले नदी किनारमा गइन्। देवीको माटाको मूर्ति बनाएर क्रमशः आहार कम गर्दै कालान्तरमा निराहार बसी पूजा आराधना गरे। आफ्नो रक्तले सिञ्चित बली दिँदै कठिन तपस्या गरेकाले देवीले प्रत्यक्ष दर्शन दिएर राजालाई शत्रु पराजयपूर्वक राज्य फिर्ता दिए। बुद्धिमान् वैश्यको चाहनाअनुसार मोक्षका लागि अहंंतारूप आशक्तिको नास गर्ने ज्ञान प्राप्त हुने मनोवाञ्छित वरदान दिएको उल्लेख छ। अन्तमा, दुवै भक्तले सभक्ति गरेको स्तुति सुनी भगवती अन्तध्र्यान भएको सन्दर्भ छ।
सारांशमा, हिन्दूधर्मको सर्वमान्य ग्रन्थ दुर्गासप्तशती (चण्डी)मा भगवतीका विभिन्न रूप तथा अवतारको सुन्दर इतिहासका साथ ठूल्ठूला गूढ साधनासहितका रहस्य भरिपूर्ण छन्। कर्म, भक्ति र ज्ञानको त्रिविध मन्दाकिनी प्रवाहित यो ग्रन्थ सभक्ति देवी उपासक भक्तमण्डलीका लागि वाञ्छाकल्पतरु हो। साधना, विश्वास र भक्तिपूर्वक यस ग्रन्थको सविश्वासपाठ गर्ने-गराउने र देवीको महिमा सुन्ने-सुनाउने सकाम भक्त मनोवाञ्छित फल प्राप्त गर्न समर्थ हुन्छन्। यस्तै निष्काम भक्तले मोक्ष प्राप्त गरी देवीको सान्निध्य प्राप्त गर्दछन्। यही तथ्य कोलाविध्वंसी राजाहरूद्वारा राज्य अपहरण गरिएर वनमा गई महर्षि मेधाको शरण लिन पुगेका स्वारोचिष मनुका छोेरा चैत्रवंशी राजा सुरथ र घरपरिवारबाट विरक्त भएको सन्दर्भ छ। त्यसपछि उनी ऋषिकै शरणमा पुगेका समाधि नामका वैश्यलाई १३औं अध्यायको ४–५ श्लोकमा महर्षि मेधाले भनेको ‘महाराज सुरथ ! तिमी उनै भगवतीको शरणमा पर, उनैको आराधना गर्नाले तिनै देवीले मनुष्यलाई भोग, स्वर्ग र मुक्ति दिन्छिन्’बाट पुष्टि हुन्छ।
कीलक स्तोत्रअनुसार भगवान् महादेवद्वारा निष्किलित सप्तशती स्तोत्रको प्रतिदिन पाठ गर्ने मानव सिद्धि प्राप्त गर्छ। देवीपार्षद बनेर गन्धर्व पदवी पाई निर्भय बाँच्छ। साथै ऊ अपमृत्युको सिकार हुँदैन र देहत्यागपछि मोक्ष प्राप्तिको अधिकारी बन्छ भनी ग्रन्थमा छ। सप्तशती स्तोत्रको पाठबाट प्राप्त पुण्य कहिल्यै समाप्त हुँदैन जबकि अरू मन्त्रको जपजन्यपुण्य समाप्त हुन्छ भन्ने भगवान् शिवजीको कथन छ। कृष्णचतुर्दशी, अष्टमी र नवमी भगवतीको पूजा, आराधना–उपासनाका विशेष पर्व भएको यस ग्रन्थको निर्देशन पनि सबैले सदा हेक्का राख्नुमा नै हितप्रद हुनेछ। यसै शाश्वत सत्य, तथ्यमाथि अगाध विश्वास राखी समस्त वैदिक सनातन हिन्दू
धर्मावलम्बी जगत्ले घरमा दुर्गा सप्तशती चण्डीको पुस्तक राख्ने गर्छन्। खासगरी शारदीय पर्व प्रत्येक बडादसैंको पवित्रतम धार्मिक सांस्कृतिक अवसरमा यस ग्रन्थको सभक्ति पाठपारायणपूर्वक भगवतीको पूजा, आराधना गर्दै-गराउँदै आएको पाइन्छ। भौतिकताको भुलभुलैयामा आफ्नो मौलिक संंस्कार–संस्कृति भुल्दै गएको सन्दर्भमा आध्यात्मिक जीवनशैली, संस्कृति र समाज बुझ्ने सुअवसर यसले प्रदान गर्छ।
सहप्राध्यापक पराजुली संस्कृति अध्येता हुन्।