नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी
बेनी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको दोस्रो दिनको खेलमा विभागीय टीम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश विजयी भएका छन्।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लबले लुम्बिनीलाई पराजित गरेका हुन्। तीनवटै खेल लगातार सोझो सेटमा सकिएको थियो।
एपिएफले कर्णालीलाई ६-२५, २-२७ र ७-२५ को सोझो तीन सेटमा पराजित गरेको थियो। बागमतीले प्रदेश १ लाई १७-२५, १२-२५ र १२-२५ को सोझो तीन सेटमा पराजित गर्यो। नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०-२५, ११-२५ र १९-२५ ले पछि पर्यो।
शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले वमेन अफ म्याचको उपाधी पाए। बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिमलाई सोझो तीन सेटमा पराजित गरेको थियो।
समूह विजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन्। शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।
कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टीमको सहभागिता छ। लिक कम नकआउट, वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको खेलका लागि चारवटा समूह बनाइएको छ।