दाङमा उच्च प्रतिस्पर्धी महिला

दाङमा उच्च प्रतिस्पर्धी महिला

दाङ : दाङमा तीन क्षेत्र। तीनैमा सशक्त दाबेदार छन्, प्रमुख दलका महिला नेत्रीहरू। संसदीय राजनीतिमा भाग लिइसकेका नेत्रीहरू चुनावी मैदानमा उत्रिएकाले दाङको चुनावी माहोल रोचक छ।  

क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार छिन्, शान्ता चौधरी। कमलरी आन्दोलनले जन्माएकी नेत्री चौधरी यसअघि समानुपातिक सांसद बनेकी थिइन्। संसदीय समितिको सभापतिदेखि एमाले दलको सचेतकको भूमिका निर्वाह गरेसकेकी छिन्, शान्ताले। यसपटक पार्टीले उनलाई प्रत्यक्षमा टिकट दिएको छ। तर, प्रतिस्पर्धी छन्, पूर्वसहकर्मी एवं एकीकृत समाजवादीका नेता मेटमणि चौधरी।

सहरी विकास मन्त्री मेटमणि सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। २०७४ सालको निर्वाचनमा मेटमणिले यही क्षेत्रबाट चुनाव जित्दा शान्ता एमालेको समानुपातिक उम्मेदवार थिइन्। विगतमा एउटै पार्टीमा रहँदा मेटमणि र शान्ताले राजनीतिक रूपमा थुप्रै सहकार्य गरेका थिए। एमालेका तत्कालीन जिल्ला इन्चार्ज तथा  केन्द्रीय सदस्य मेटमणि पार्टी विभाजन भएसँगै एकीकृत समाजवादीमा लागेका थिए। राजनीतिक पृष्ठभूमिले भने शान्ताभन्दा  मेटमणि अघि छन्।

यो क्षेत्रमा थारू बाहुल्य छ। प्यूठान, अर्घाखाँचीलगायतका जिल्लाबाट बसाइँ सरेर आउनेको संख्या पनि अधिक छ। प्यूठानबाट झर्नेको संख्या पनि धेरै रहेकाले यहाँ जनमोर्चाको प्रभाव पनि राम्रै छ। जनमोर्चा सत्ता गठबन्धनमा छ। अर्कोतर्फ विगतमा एमालेकै उम्मेदवार भएर मेटमणिले यहीँ क्षेत्रबाट चुनाव जितेको हुँदा शान्तालाई सहज हुन सक्छ। तर, शान्ताका लागि पूर्वसांसद गंगा चौधरी तगारो बन्दैछिन्। एमालेले टिकट नदिएपछि गंगाले शान्ताविरुद्ध बागी उम्मेदवारी दिएकी छन्। यसबाट शान्ताको केही मत तलमाथि हुने आकलन गरिएको छ। क्षेत्र नं १ लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो। लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका यहीँ क्षेत्रमा पर्छन्।

दाङको २ नम्बर क्षेत्रमा पूर्वमन्त्री एवं माओवादी नेत्री रेखा शर्मा चुनावी मैदानमा छिन्। यहाँ एमाले महासचिव शंकर पोखरेल मैदानमा उत्रिएका छन्। पूर्वसभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखाले टिकट पाएकी हुन्। रेखालाई सत्ता गठबन्धनको समर्थन छ। तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले महासचिव पोखरेल नै मुख्य प्रतिस्पर्धी रहेकाले यहाँको निर्वाचन पनि रोचक छ। 

२०७४ सालको निर्वाचनमा पोखरेल वाम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ को (क) मा निर्वाचित भएका थिए। त्यसपछि उनी लुम्बिनी  प्रदेशको मुख्यमन्त्री बने। त्यो बेला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा  सदस्यमा वाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए। पोखरेलको गृहनगर  तुलसीपुर उपमहानगरपालिका हो।  पोखरेलले २०५१ पछि हालसम्म कुनै पनि केन्द्रको संसदीय निर्वाचन जितेका छैनन्। त्यसैले उनी २०७४ सालमा आफ्नो  निर्वाचन क्षेत्र नं ३ छोडेर क्षेत्र नं २ मा चुनाव लड्न गएका थिए। पछिल्लो  समय शंकरको पक्षमा दंगाली जनताको मनमा एउटा राम्रो छाप छ। 

उनी मुख्यमन्त्री हुँदा उनकै पहलमा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपन्देहीबाट दाङ सार्न  भूमिका खेलेको जश पोखरेललाई गएको छ। त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रूपमा  प्रयोग गर्ने देखिन्छ। मनोनयन दर्तालगत्तै पनि पोखरेलले राजधानी सारेको विषयलाई उठाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको  परिणामबाट पनि पोखरेल उत्साहित छन्। गठबन्धन दलका उम्मेदवारलाई हराउँदै  घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जित निकालेको थियो।  तर, कतिपय माओवादी नेताले आज पनि त्यो हारको प्रमुख कारण कांग्रेसभित्रकै आन्तरिक घात र अन्तर्घातलाई अथ्र्याउने गर्छन्। अहिले त्यस्तो स्थिति  नरहेकाले रेखाको पल्ला भारी हुने माओवादी पक्षको दाबी छ। जे जस्तो भए  पनि इमान्दार छविकी रेखा र पार्टीभित्र कम्युनिस्ट आन्दोलन र जबजको व्याख्याता  मानिने पोखरेलबीचमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

रेखाले २०६४ को पहिलो संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन्। त्यतिखेर दाङमा पाँच निर्वाचन क्षेत्र थिए। उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्विप गरेको थियो। यो निर्वाचन क्षेत्र घोराही क्षेत्रमा पर्छ। यहाँ बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका गरी दुई पालिका मात्रै छन्। रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश मानिस रोल्पाबाट बसाइँ सरेर आएका छन्। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादी निकट छन्। त्यसको लाभ रेखालाई हुन सक्छ। उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेत्री हुन्। त्यसको लाभ उनले उठाउन सक्छिन्। यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो। त्यसैले उनलाई थप फाइदा हुन सक्छ। तर, उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउन सहज हुने छैन।

निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले कोमल वलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। वली  २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन्। पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रियसभा सदस्यसमेत बनेकी थिइन्। 

दाङ टिकरीकी कोमल पत्रकारिकता र कला क्षेत्रबाट उदाएकी नेत्री हुन्। गायिका हुँदै रेडियो नेपालमा लामो समय समाचार वाचिकाको रूपमा काम गरेकी उनले राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। अहिले पनि उनको भोट माग्ने प्रमुख अस्त्र भनेकै उनको कला र वक्तृत्वशैली भएको एमालेका एक नेताले बताए।

कला क्षेत्रबाट उदाएकी कोमललाई पार्टीले सम्मान गरेको र उनले सहज रूपमा जित्ने यहाँका एमाले नेताहरूको दाबी छ। त्यस्तो मत राख्नेहरू जित्ने प्रमुख आधार महिला मत कोमलले धेरै तान्ने तर्क गर्छन्। उनीहरूले कल्पना गरेजस्तै महिलाको मत आयो र पार्टीभित्रैकै असन्तुष्टको आवाज सम्बोधन गर्न सफल भइन्छ भने कोमलको पक्षमा परिणाम आउन सक्छ। स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन्। तर, कोमललाई यहाँ सोचेजस्तै सहज भने छैन। उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी छन्। विगतमा एमालेकै शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उनकै टिम पार्टीको १४ औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा हाबी छ। पार्टीभित्र संस्थापन पक्षधर गृहमन्त्री बालकृष्ण खाँण पक्षलाई हराएर दीपक गिरी लुम्बिनीका एक्ला नेता कहलिएका छन्।

निर्वाचन क्षेत्र नं ३ मा पर्ने चार पालिकामध्ये तुलसीपुरबाहेक स्थानीय तह निर्वाचनमा कांग्रेसले शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा एकलौटी जित निकालेको थियो। सोही परिणामका आधारमा पनि गिरी बलियो देखिन्छन्। पूर्व सिँचाइमन्त्रीसमेत रहेका गिरीले त्यतिखेर जिल्लामा पुल, बाटोलगायत पूर्वाधार निर्माणमा थुपै्र कामहरू गरेका छन्। त्योबाहेक उनकै पहलमा सुरु भएको बृहत् सिँचाइ परियोजना दाङका लागि महत्वपूर्ण परियोजना मानिएको छ। विगतमा उनको कामले नै यसपालि गिरीलाई सहज हुने अनुमान पार्टी पंक्तिले गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.