सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्न सुरु
कुसुमटार (सिन्धुली) : बहुचर्चित ‘सुनकोसी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजना’ को सुरुङ मार्ग (टनेल) खन्न सुरु गरिएको छ। हिमाल–पहाड र तराईलाई समृद्धिका रूपमा जोड्ने सेतु मानिएको आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा सुरुङमार्ग खन्ने कार्य शुक्रबारबाट थालिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिन्धुलीको कमलामाई नगरपालिका—२ कुसुमटारस्थित आयोजना स्थलमा टीबीएम मेसिनको स्विच अन गरेपछि औपचारिक रूपमा सुरुङ मार्ग खन्न थालिएको हो। उक्त मेसिनले १३ दशमलव ३ किलोमिटर लामो सुरुङ मार्ग निर्माण गरिनेछ। सुरुङमार्फत सुनकोसी नदीको पानी मरिणखोलामा खसाली ३१ दशमलव सात मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने सरकारी लक्ष्य छ।
सुरुङ मार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले पाएको थियो। ठेकेदार कम्पनीले झन्डै ९ महिना अघिदेखि सुरुङ खन्ने मेसिन (टीबीएम) राख्न जनशक्तिमार्फत प्लेटफर्म निर्माण गरेको थियो। सुरुङको प्रवेशद्वारमा प्वाल पारेर दुई सय मिटर लामो प्लेटफर्म जनशक्तिमार्फत निर्माण भएपछि टीबीएम मेसिनबाट सुरुङ खन्ने काम सुरु भएको हो।
मन्त्री भुसालका अनुसार, सुनकोसी–मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणकार्य राष्ट्रको समृद्धि र जनताको सम्पन्नताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको छ। ‘यस आयोजना निर्धारित समयमा नै सम्पन्न हुँदा ऊर्जा उत्पादन, रोजगारको अवसर सिर्जना, खाद्यान्नमा आत्मनिर्भर बन्नुका साथै राष्ट्रिय असन्तुलित व्यापारघाटा कम गर्नसमेत सहयोग पुग्नेछ’, उनले भनिन्। मन्त्री भुसालले आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट तथा सुरक्षा व्यवस्थामा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
टनेल निर्माणपछि १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसालिने छ। उक्त आयोजनामा ६४ मिटरको हेड हुनेछ। सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित ६६ मिटर तल मरिण खोलामा खसालिनेछ। मरिणमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ।
आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड ३९ लाख रहेको छ। हाल सुरुङ मार्गसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीले पाएको आयोजनाका प्रमुख मित्र बरालले बताए। पावर हाउसको ठेक्का लगाउन अन्तर्राष्ट्रिय निर्माण कम्पनीको छनोट कार्य भइरहेको बताइएको छ।
भौगर्भिक रूपमा कुनै समस्या नआए आगामी २२ महिनाभित्र सुरुङ निर्माण कार्य सक्नेगरी कार्यतालिका बनाइएको आयोजना प्रमुख बरालको भनाइ छ। आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडबक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन्। सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रूपमा लिएको छ।
यस आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक रूपमा ऊर्जाबाट २ दशमलव ७ र सिँचाइबाट ७ दशमलव ३ अर्ब गरी कुल १० अर्ब आम्दानी गर्न सकिने छ। आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजनाको प्रतिवेदनमा बीपी राजमार्ग ४ सय २५ मिटर, खुर्कोट मन्थली सडकको एक किलोमिटर डुबानमा पर्ने उल्लेख छ। डुबानमा पर्ने राजमार्गको स्थानान्तरणको कार्य छिट्टै थालिनेछ। आयोजनाबाट सिन्धुली र रामेछापका ५ सय ३२ घरधुरीका ४ हजार २ सय ३४ नागरिक प्रभावित हुनेछन्। उनीहरूलाई मुआब्जा दिएर अन्यत्र सारिएको छ। आयोजनाले हालसम्म ४२ हेक्टर जग्गा अधिग्रहण गरेको छ। यस आयोजनाको निर्माण कार्य ०८४-०८५ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।