गण्डकीमा राष्ट्रिय खेलकुद
पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सुरु भएको छ। शुक्रबार आयोजित विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ सुरु भएको नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरेका थिए।
‘नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएको घोषणा गर्दछु’, उपराष्ट्रपति पुनले भने, ‘माछापुच्छ्रेको काख, फेवातालको किनार र प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।’
विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्ज्वलन गरेका थिए। यस्तै नवौं राष्ट्रिय मूल आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झन्डात्तोलन गरेका थिए। उद्घाटन समारोहमा नवौं राष्ट्रिय खेलकुदमा सहभागी ११ टोलीकै खेलाडीले मार्चपास गरेका थिए। त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो।
हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद कोरोना महामारीलगायत विभिन्न कारण करिब चार वर्षपछि आयोजना भएको हो। गण्डकी प्रदेशमा भने ३९ वर्षपछि राष्ट्रिय खेलकुद फर्किएको हो। यसअघि २०४० सालमा गण्डकीमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। नवौं राष्ट्रिय खेलकुदमा ११ टोलीका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसपटक विभागीय टोली नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी क्लबसहित सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले सहभागिता जनाएका छन्। प्रतियोगितामा ३६ खेलका ४ सय ४ इभेन्ट समावेश गरिएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्त्व
विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना गर्ने गरेका छन्। खेलकुद प्रतिभाहरू सहरमा मात्र नभई देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर यस्तो प्रतियोगिता आयोजना गर्ने गरिन्छ।
राष्ट्रिय प्रतियोगिताभन्दा अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ। तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी खेलाडीहरू क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन्। यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रिय स्तरमा चर्चित खेलाडीहरूसँग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्।
पोखरा रंगशालामा शुक्रबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि साँझ आतसबाजी गरिँदै । तस्बिर : युवराज गुरुङ
त्यसैले नयाँनयाँ प्रतिभा खोजी गर्न राष्ट्रिय प्रतियोगिता महत्त्वपूर्ण माध्यम हो। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीप तिखार्ने काम गरिन्छ। त्यसपछि ती खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास
कुनै पनि राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रतियोगिता हो, राष्ट्रिय खेलकुद। नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास २०३८ सालदेखि सुरु भएको हो। राष्ट्रिय खेलकुद कुनै पनि देशको सबैभन्दा ठूलो खेल मेला हो। देशभर छरिएर र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले कुनै निश्चित समयावधि तोकेर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिन्छ। नेपालमा भने प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भनिए पनि यसले भनेकै समयमा निरन्तरता पाउन सकेको छैन। त्यसैले २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताले २०७९ सालसम्म आइपुग्दा नौ वटा खुड्किलो मात्र पार्न गर्न सकेको छ।
सुरुमा राष्ट्रिय खेलकुद प्रतियोगितामा अञ्चलको अवधारणा अनुरूप खेलाडीबीच प्रतिस्पर्धा हुन्थ्यो। १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे र अन्त्यमा जुन अञ्चलका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जित्यो त्यही अञ्चल राष्ट्रिय खेलकुदमा पहिलो हुन्थ्यो। त्यसपछि अञ्चलको अवधारणा हटाएर विकास क्षेत्रका आधारमा राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गराउन थालिएको हो। यस अवधारणमा पाँच वटा विकास क्षेत्रका टोलीले प्रतियोगितामा भाग लिन्थे र जुन विकास क्षेत्रका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जित्यो त्यही विकास क्षेत्र राष्ट्रिय च्याम्पियन बन्थ्यो।
त्यसपछि आएर पाँंचवटा विकास क्षेत्रसँंगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पनि राष्ट्रिय खेलकुदमा प्रवेश दिइएको थियो। काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल कम्युनिस्ट पार्टी माआवादीको भ्रातृ संगठन जनमुक्ति सेना (पीएलए) लाई पनि छुट्टै अस्तित्व दिएर सहभागी गराइएको थियो। त्यतिबेला यो विषयले ठूलै विवादको रूप लिएको थियो। जनमुक्ति सेनाका नाममा माओवादीलाई प्रतियोगितामा सहभागी गराइए आफूहरू प्रतियोगिताबाट बाहिरिने अडान नेपाली सेनाले लिएको थियो।
अन्ततः तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनमा जनमुक्ति सेनालाई पनि प्रतियोगितामा सहभागी गराइयो भने जनमुक्ति सेनाले भाग लिएका पाँचवटा खेलमा नेपाली सेनाका खेलाडी सहभागी भएनन्। सोही कारणले नेपाली सेनाले २०६८ सालमा सुदूरपश्चिमाञ्चलको धनगढी र महेन्द्रनगरमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएन।
पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता
पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ साल भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको थियो। प्रतियोगिताको उद्घाटन तत्कालीन राजा श्री ५ वीरेन्द्रले गरेका थिए। नौ दिनसम्म चलेको उक्त प्रतियोगितामा खेलाडीले अञ्चलगत रूपमा भाग लिएका थिए। प्रतियोगितामा १४ वटै अञ्चलका खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताको प्रतीक चिह्नका रूपमा नौ रंगी डाँफे राखिएको थियो। डाँफे नेपालको राष्ट्रिय पन्छी भएकाले त्यतिबेला यसलाई पहिलो राष्ट्रिय खेलकुदको प्रतीक चिह्नका रूपमा प्रयोग गरिएको थियो। पहिलो राष्ट्रिय खेलकुद आयोजना गर्न आठ लाख रुपैयाँ खर्च भएको थियो।
पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा १ हजार २ सय २० पुरुष र २ सय २३ महिला गरी कुल १ हजार ४ सय ४३ जना खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा ७८ स्वर्ण, ७६ रजत र ७२ कांस्य गरी कुल २ सय २६ वटा पदकका लागि खेलाडीले आपसमा भिडन्त गरेका थिए। राष्ट्रिय खेलकुदको पहिलो संस्करणमा विभिन्न १६ वटा खेल समावेश गरिएको थियो।
दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता
दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० साल चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको थियो। यो प्रतियोगिताको उद्घाटन पनि तत्कालीन श्री ५ वीरेन्द्रले नै गरेका थिए। दोस्रो राष्ट्रिय खेलकुदको प्रतीक चिह्नका रूपमा राष्ट्रिय फूल लालीगुराँसलाई प्रयोग गरिएको थियो। प्रतियोगितामा २३ वटा खेल र दुईवटा सांस्कृतिक कार्यक्रम गरी २५ वटा स्पर्धा समावेश गरिएको थियो। दोस्रो संस्करणमा पनि १४ वटै अञ्चलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा १ हजार ९ सय ६८ पुरुष र ५ सय ३९ महिला गरी कुल २ हजार ५ सय सातजना खेलाडीले भाग लिएका थिए।
दोस्रो राष्ट्रिय खेलकुदमा १ सय १९ स्वर्ण, १ सय १९ रजत र १ सय ३२ रजत गरी कुल ३ सय ७० वटा पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। दोस्रो संस्करणमा २५ वटा खेल समावेश गरिएको थियो। प्रतियोगितामा समावेश गरिएका खेलमा एथलेटिक्स, ब्याडमिन्टन, पुरुष कबड्डी, महिला कबड्डी, टेबुलटेनिस, पुरुष भलिबल, महिला भलिबल, ह्यान्डबल, लनटेनिस, पुरुष फुटबल, महिला फुटबल, पुरुष सुटिङ, महिला सुटिङ, जिम्न्यास्टिक, भारोत्तोलन, शारीरिक सुगठन, बुद्धिचाल, बाघचाल, बक्सिङ, मार्सल आर्टस, हकी, क्रिकेट, पौडी, दोहोरी गीत र लोकनृत्य थिए।
तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता
तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ साल फागुन २३ देखि चैत १ गतेसम्म वीरगन्जमा आयोजना भएको थियो। यो प्रतियोगिताको उद्घाटन पनि तत्कालीन राजा श्री ५ वीरेन्द्रले नै गरेका थिए। राष्ट्रिय खेलकुदको तेस्रो संस्करणमा पनि अञ्चलगत आधारमै खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा १४ वटै अञ्चलका २ हजार ३७ पुरुष र ७ सय ३८ महिला गरी कुल २ हजार ७ सय ७५ जना खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा १ सय ४६ स्वर्ण, १ सय ४७ रजत र १ सय ८१ कांस्य गरी कुल ४ सय ७४ वटा पदकका खेलाडीले आपसमा भिडन्त गरेका थिए।
तेस्रो संस्करणमा विभिन्न २६ खेलका १ सय ३७ वटा स्पर्धा समावेश गरिएको थियो। विगतको तुलनामा प्रत्येक संस्करणमा महिला खेलाडी र खेलको संख्या भने बढ्दै गएको पाइन्छ। तेस्रो राष्ट्रिय खेलकुदमा ह्यान्डबलको महिला स्पर्धा थप गरिएको थियो। बाँकी भने दोस्रो संस्करणमै समावेश गरिएका खेल थिए। एथलेटिक्स, बाघचाल, पुरुष भलिबल, भारोत्तोलन, लोकनृत्य र दोहोरी गीत प्रतियोगितामा १४ वटै अञ्चलका खेलाडीले सहभागिता जनाएका थिए। विगतमा झैं यो संस्करणमा पनि बागमती अञ्चल नै पहिलो भयो। यसैगरी कोसी दोस्रो र आयोजक नारायणी तेस्रो स्थानमा रहेका थिए।
प्रतियोगितामा बागमती अञ्चलका ६८ वर्षीय वंशीधर ताम्राकार सबैभन्दा बढी उमेरका र आठ वर्षीय विश्वराम मकाजू सबैभन्दा कम उमेरका खेलाडी थिए। मेची अञ्चलका इन्द्रप्रसाद सिग्देल तेस्रो संस्कणमा पनि स्वर्ण जित्दै सुरुका तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बने। तेस्रो राष्ट्रिय खेलकुद वीरगन्जमा भए पनि भौतिक पूर्वाधारको समस्याका कारण पौडीको स्पर्धा भने काठमाडौंमै आयोजना गरिएको थियो। तेस्रो राष्ट्रिय खेलकुदमा कोसी अञ्चलका जितेन्द्र चौधरी एक्लैले पाँचवटा स्वर्ण पदक जितेका थिए। एथलेटिक्स खेलाडी जितेन्द्र छोटो दूरीका धावक थिए।
चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता
तेस्रो संस्करणसम्म नियमित समयमै भए पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो संस्करण भने समयमा आयोजना हुन सकेन। २०४२ सालमा तेस्रो संस्करण भएको निकै लामो समयपछि मात्र चौथो राष्ट्रिय खेलकुद आयोजना भयो। निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सुरु भएको जनआन्दोलन, मुलुकमा भएको राजनीतिक परिवर्तन र लामो संघर्षपछि प्राप्त प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत बनाउने प्रयासका कारण समयमै राष्ट्रिय खेलकुद आयोजना गर्ने दिशामा सरकारको ध्यान नपुगेको अनुमान गर्न सकिन्छ।
जे होस् तेस्रो संस्करण सम्पन्न भएको १३ वर्षपछि नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो। चौथो राष्ट्रिय खेलकुद २०५५ साल चैत ८ देखि १४ गतेसम्म सञ्चालन भएको थियो। नेपालमै आयोजना हुने आठौं दक्षिण एसियाली खेलकुदको तयारीलाई समेत ध्यानमा राखी चौथो राष्ट्रिय खेलकुद आयोजना गरिएको थियो।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन संरक्षक दीपेन्द्र (तत्कालीन युवराजाधिराज) ले गरेका थिए। यसअघि अञ्चलगत आधारमा सञ्चालन गरिँंदै आएको राष्ट्रिय खेलकुद चौथो संस्करणमा आएर भने विकास क्षेत्रका आधारमा परिवर्तित भयो। राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक पाँचवटा विकास क्षेत्रका टोलीले प्रतिस्पर्धा गरेका थिए।
यसैगरी चौथो संस्करणदेखि राष्ट्रिय खेलकुदमा दुईवटा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई पनि समावेश गराइएको थियो। त्यसैले प्रतियोगितामा सातवटा टोलीका खेलाडीले सहभागिता जनाएका थिए। खेलाडीको दृष्टिकोणले भने चौथो राष्ट्रिय खेलकुदमा सहभागिता न्यून रह्यो। जम्मा १ हजार ६ सय २२ जना खेलाडीले मात्र प्रतियोगितामा भाग लिएका थिए।
यसैगरी चौथो संस्करणमा खेल संख्या पनि घटाइएको थियो। आठौं दक्षिण एसियाली खेलकुदको तयारीलाई मुख्य आधार बनाइएकाले चौथो राष्ट्रिय खेलकुदमा १२ वटा खेल मात्र समावेश गरिएको थियो। प्रतियोगिता नेपालगन्जमा आयोजना भए पनि महिला र पुरुष भलिबल सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा तथा पौडी ललितपुर जिल्लाको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा खेलाइएको थियो। यो पौडी पोखरी केही समयअघि मात्र आठौं दक्षिण एसियाली खेलकुदका लागि चीन सरकारले बनाइदिएको थियो। अन्य १० खेल भने नेपालगन्जमै खेलाइएको थियो।
चौथो राष्ट्रिय खेलकुदमा एथलेटिक्स, बक्सिङ, फुटबल, कराँते, कबड्डी, सुटिङ, पौडी, तेक्वान्दो, टेबुलटेनिस, भलिबल, कुस्ती र भारोत्तोलन खेलका स्पर्धा समावेश गरिएको थियो। आठौं दक्षिण एसियाली खेलकुदमा पनि यही १२ वटा खेल समावेश गरिएको थियो।
पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता
नेपालमा प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रावधान छ। सोही अनुरूप अघिल्ला तीन संस्करण निर्धारित समयमै भए पनि त्यसपछिका संस्करण भने तोकिएको समयमा हुन सकेको पाइँदैन। तेस्रो र चौथो राष्ट्रिय खेलकुदको बीचमा १३ वर्षको अन्तर थियो भने चौथो र पाँचौं संस्करणको बीचमा पनि १० वर्षको फरक भयो। चौथो राष्ट्रिय खेलकुद समापनका अवसरमा पाँचौं संस्करण २०५७ साल फागुनमा सुदूरपश्चिमाञ्चलमा आयोजना गर्ने भनी झन्डा हस्तान्तरण गरिएको थियो।
तर सुदूरपश्चिमाञ्चलमा खेलकुदका भौतिक पूर्वाधारको अभाव रहेको कारण देखाउँंदै प्रतियोगिता निर्धारित समयमा आयोजना गरिएन। त्यसपछि पनि कहिले राजनीतिक त कहिले आर्थिक अभावको कारण देखाउँदै पाँचौं राष्ट्रिय खेलकुदको मिति पाँच पटक परिवर्तन गरिएको थियो। राजदरबार हत्या काण्डका कारण पनि एक पटक पाँचौं राष्ट्रिय खेलकुदको मिति परिवर्तन भएको थियो।
अन्त्यमा २०६५ साल चैत २४ देखि ३० गतेसम्म काठमाडौंमै पाँचौं राष्ट्रिय खेलकुद आयोजना भयो। पाँचौं राष्ट्रिय खेलकुदमा ३२ वटा खेल समावेश गरिएको थियो। प्रतियोगितामा पाँचवटै विकास क्षेत्रका अतिरिक्त विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब पनि सहभागी थिए। यसैगरी नेकपा माओवादीको जनमुक्ति सेना (पीएलए)लाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो। राष्ट्रिय खेलकुदमा एपीएफ क्लब र पीएलएको यो पहिलो सहभागिता थियो।
प्रतियोगितामा कुल ३५ सय खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा २ सय ८९ स्वर्ण, २ सय ८९ रजत र ४ सय १० कांस्य पदकका लागि खेलाडीबीच भिडन्त भएको थियो। प्रतियोगिता सम्पन्न गर्न सरकारले २५ करोड रुपैयाँं विनियोजन गरेको थियो। खर्च, खेलाडी सहभागिता र पदकीय दृष्टिकोणले यो सबैभन्दा बृहत् राष्ट्रिय प्रतियोगिता थियो। प्रतियोगिता सकिएपछि बचेको रकममध्येबाट खेलाडी कल्याण कोष र हेटौंडामा निर्माणाधीन खेलकुद एकेडेमीका लागि एकएक लाख रुपैयाँ छुट्ट्याइएको थियो।
पाँचौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल विकास क्षेत्र पहिलो, एपीएफ क्लब दोस्रो, नेपाल पुलिस क्लब तेस्रो, पश्चिमाञ्चल विकास क्षेत्र चौथो र पूर्वाञ्चल विकास क्षेत्र पाँचौं भएका थिए। यसैगरी मध्यपश्चिमाञ्चल विकास क्षेत्र छैटौं, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र सातौं, त्रिभुवन आर्मी क्लब आठौं र पीएलए क्लब नवौं भएका थिए।
राष्ट्रिय खेलकुदको पाँंचौं संस्करणमा पीएलए क्लबको सहभागिताका विषयलाई लिएर निकै ठूलो विवाद सिर्जना भएको थियो। प्रतियोगिताको उद्घाटन समारोह सकिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पीएलए क्लबलाई प्रतियोगितामा सहभागी गराइएपछि त्यसको व्यापक विरोध भएको थियो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको नियमविपरीत प्रतियोगिता उद्घाटन भइसकेपछि पीएलए क्लबलाई प्रतियोगिता सहभागी गराइएपछि खासगरी नेपाली सेनाले त्यसको निकै विरोध गरेको थियो। सोही कारणले पीएलए क्लबका खेलाडी सहभागी भएको खेलमा आर्मी क्लबका खेलाडीले भाग लिएनन्। सेनाका केही खेलाडीले त जितिसकेको पदक पनि फिर्ता गरेका थिए। त्यसैले राष्ट्रिय स्तरका थुप्रै चर्चित खेलाडी आफ्नो क्लबमा भएपनि आर्मी पदक तालिकामा आठौं बनेको थियो।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता
सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा २०७३ पुस ८ देखि १५ गतेसम्म आयोजना भएको थियो। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणदेखि छैटौं संस्करणसम्म बागमती अञ्चलले दबदबा कायम राख्दै आएकोमा सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो।
विभिन्न कारणले पटकपटक स्थगित हुँदै निर्धारित समयभन्दा करिब पाँच वर्षपछि सरेका सातौं संस्करण औद्योगिक नगरी विराटनगरस्थित सहिद रंगशालामा उद्घाटन गरिएको थियो। पूर्वाञ्चल विकास क्षेत्रमा यो पहिलो पटक राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो।
प्रत्येक दुईदुई वर्षमा आयोजना हुने भनिए पनि छैटौं र सातौं संस्करणको बीचमा पाँच वर्षको अन्तराल रहेको थियो। सूदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा २०६८ साल फागुन १४ देखि २१ गतेसम्म सम्पन्न छैटौं राष्ट्रिय खेलकुदको समापन समारोहमा सातौं संस्करण पूर्वाञ्चलमा आयोजना गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो। सातौं खेलकुदमा विभिन्न ३० वटा खेल समावेश गरिएको थियो। प्रतियोगिताका खेलहरू पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, धनकुटा र उदयपुरमा आयोजना भएका थिए।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ वैशाख ५ देखि ११ गतेसम्म प्रदेश ५ को नेपालगन्जमा आयोजना भएको थियो। प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका ५ हजार २ सय ११ खेलाडीको सहभागिता रहेको थियो। जसमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला खेलाडी रहेका थिए।
सबै खेलका ६ सय ४० प्रशिक्षक र ४ सय ६१ व्यवस्थापक सहभागी भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले वर्चस्व जमाएका थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले शीर्ष तीन स्थान हात पारेका थिए। प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण आर्मीकी गौरिका सिंहले जितेकी थिइन्। पदक तालिकामा पहिलो स्थान हात पारेको आर्मीले प्रतियोगिताको ३ सय ७२ मध्ये १ सय ४० स्वर्ण जित्यो। यस्तै ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्न सफल भयो।