कर्जा खपत उपभोग्य वस्तुमा अधिक

कर्जा खपत उपभोग्य वस्तुमा अधिक

काठमाडौं : हरेक वर्ष झैं यसपटक पनि चाडपर्व लक्षित उपभोग्य वस्तु आयातको आकार बढेको छ। यस्ता वस्तु आयातका लागि बैंकबाट लिएको कर्जाको आकार पनि बढेको छ। विश्व बजारमा मूल्यवृद्धि अकासिएकाले पनि आयातीत वस्तुको परिमाणभन्दा कुल मूल्यको आकार बढेको हो। यसले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा बढेको छ। 

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूबाट चालू आवको साउनसम्ममा ४७ खर्ब ७ अर्ब ५९ करोडबराबरको कर्जा प्रवाह भएको छ। गत वर्षको तुलनामा यो ११.५६ प्रतिशत बढी हो। गत वर्षको पहिलो महिना ४२ खर्ब १९ अर्ब ६१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो।

कुल कर्जामा सबैभन्दा बढी उपभोग्य कर्जाको वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। एकै वर्षको अन्तरमा बैंकबाट ६ खर्ब ३७ अर्ब ९५ करोड रुपैयाँ थप कर्जा उपभोग्य शीर्षकमा गएको छ। गत वर्ष २ खर्ब ३५ अर्ब ४ करोड रुपैयाँ भएको थियो।

कुल कर्जामा थोक तथा खुद्रा विक्रेताको अंश अधिक छ। राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनासम्ममा सो क्षेत्रमा ९ खर्ब ४७ अर्ब ८ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको २०.१२ प्रतिशत हिस्सा हो। तुलनात्मक रूपमा उपभोग्य सामानको बढि खपत भएकाले पनि यस्ता क्षेत्रमा कर्जाको माग धेरै भएको बैंकर बताउँछन्। नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल नेपाल भित्रिएको रेमिट्यान्सको करिब ८० प्रतिशत उपभोग्यमै खर्च हुने अनुमान गर्छन्। यद्यपि चाडपर्वका समयमा बजारमा यस्ता वस्तुको आयात बढेकाले पनि कर्जाको माग बढेको हुन सक्ने दाहालको भनाइ छ।  

कुल कर्जाको दोस्रो बढी अंश उपभोग्य कर्जामा छ। बैंकले उपभोग्य कर्जामा मात्रै ८ खर्ब ७२ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका छन्। यो कुल कर्जाका १८.५४ प्रतिशत हो। वैदेशिक व्यापारविज्ञ डा. पोषराज पाण्डे चाडपर्वमा उपभोग्य वस्तु अरूबेला भन्दा बढी आयात हुने गरेको बताउँछन्।  वर्षभरिको उपभोगमध्ये एक चौथाइ दसैं, तिहार र छठमा नै हुने गरेको उनको भनाइ छ। यसले गर्दा यस्तो आयातमा बैंकको अंश बढी हुनु स्वाभााविक हो। डा. पाण्डेले भने, ‘महँगी विश्वभर छ। चाडपर्वमा माग बढी हुने गरेकाले पनि मूल्य बढ्न गयो।’ 

यसपछिको बढी कर्जा प्रवाह कृषि, वन र पेयपदार्थ सम्बन्धी उत्पादनमा रहेको छ। यस अवधिसम्म कुल कर्जाको १५.९१ प्रतिशत अंश यस्तो कर्जाले ओगटेको छ। यसमा ७ खर्ब ४९ अर्ब रुपैयाँ प्रवाह भएको छ। राष्ट्र बैंकको तथ्यांकमा कृषिअन्तर्गतका फरक प्रकृतिका शीर्षकलाई छुट्टाछुट्टै उल्लेख गरेकाले कृषिको अंश कम देखिएको हो । कृषि तथा वन पैदावार, माछापालन र कृषि वन र पेयपदार्थ प्रशोधनपछिको उत्पादनलाई एकैसाथ जोड्दा भने कृषि शीर्षकको अंश अधिक देखिन्छ।

होटल तथा रेस्टुराँ क्षेत्रमा २ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको ४.१८ प्रतिशत हो। प्रायः कृषि क्षेत्रअन्तर्गत माछापालन, खनिज, वनपैदावार पर्दछन्। माछापालनमा मात्रै १३ अर्ब ४६ करोड लगानी भएको छ। यो कुल कर्जाको ०.२९ प्रतिशत हो। यस अवधिमा ३ खर्ब ३७ अर्ब रुपैयाँ हाराहारीमा कृषि तथा वन पैदावर शीर्षकमा कर्जा गएको छ। यो कुल कर्जाका ७.१८ प्रतिशत हो। यसैगरी खनिज क्षेत्रमा ९ अर्ब ३ करोड र निर्माण क्षेत्रमा १ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा गएको छ।  यसैगरी बैंकहरूले धातुजन्य उत्पादन, मेसिनरी र इलेक्ट्रोनिक सामग्री तथा मर्मतमा ७३ अर्ब ५७ करोड लगानी गरेका छन्। यो कुल कर्जाको १.५६ प्रतिशत हो।

बैंकहरूले वित्त, बिमा तथा अचल सम्पत्तिमा ३ खर्ब ८० अर्बको कर्जा दिए। यो कुल कर्जामा ८.०८ प्रतिशत हो।  यस्तै, बिजुली, ग्यास र पानीमा २ खर्ब ५० अर्बको कर्जा गएको छ। यो कुल कर्जाको ५.३२ प्रतिशत हो। यस बाहेकका अन्य सेवाहरूमा १ खर्ब ९६ अर्बबराबरको लगानी भएको छ। यो ४.१८ प्रतिशत हो। यसबीच बैंकहरूले यातायात, सञ्चार र सार्वजनिक सेवामा १ खर्ब १ अर्ब २२ करोड प्रवाह गरेको छ। यो २.१५ प्रतिशत हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.