श्रद्धाञ्जलिका लागि जोशीको शरीर किष्ट कलेजमा, अब महानगर लगिने
काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा लगिने भएको छ। जोशीको पार्थिव शरीरलाई दिउँसो १२ बजेपछि अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि महानगरको परिसरमा राखिने ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
अहिले उनको पार्थिव शरीरलाई ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नै श्रद्धाञ्जलिका लागि राखिएको छ ।
अस्पतालको आवश्यक प्रक्रिया पूरा गरेपछि करिब १२ बजेसम्मका लागि जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिएको किस्ट मेडिकल कलेजका प्राध्यापक डा सुरज बज्राचार्यले जानकारी दिए।
जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने छन्। सर्वसाधारणका लागि पनि सोही स्थानमा श्रद्धाञ्जलि दिन दिइने छ।
जोशीको निधन ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा भएको थियो। उनले आफ्नो मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा गरेका थिए। मृत्यु भएपछि खरानी हुनुभन्दा विद्यार्थीलाई अनुसन्धानका लागि सघाउन आफ्नो शरिर दान गर्ने घोषणा गरेका उनका आफन्तले जनाएका छन्।
उनकै निर्णय अनुसार जोशीको पार्थिव शरीर नजलाइने भएको छ। उनको शरीर किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि नगल्ने खालको केमिकल प्रयोग गरेर राखिने छ।
लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।
परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो। केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। किस्ट अस्पतालले जोशी दम्पत्तिको नि:शुल्क उपचार गर्दै आएको छ।
जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन्। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।
उनले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। उनले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाएका छन्। २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।