गठबन्धनले लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाएर लुटतन्त्र मच्चायो : सिपी गजुरेल
जनकपुरधाम : नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले वर्तमान गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाएर लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।
उनले देशमा ठूलो आन्दोलनपश्चात् आएको परिवर्तनलाई गठबन्धनको नाममा होस् वा अन्य नाममा ध्वस्त पार्ने काम भइरहेको आरोप लगाएका हुन्।
जनकपुरधामस्थित विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले राजनीतिक संसदीय राजनीतिक गर्ने दलहरूले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका नाममा भागवण्डाको राजनीति गरेर जनताप्रतिको उत्तरदायित्व बिर्सिएको आरोप लगाए।
नेता गजुरेलले अहिले राजनीतिक दलका नेताहरूले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र आदर्शसमेत त्यागेर सत्ता लिप्सामा लागेको बताए।
'सत्ताको नाममा अंशवण्डा र भागवण्डाको राजनीति गरेर मुलुकमा अस्थिरता निम्त्याउँदै व्यक्तिवादी राजनीति गर्न चाहेकाले देशमा वैदेशिक हस्तक्षेप ह्वात्तै बढेको छ। निर्वाचनमा पार्टीले ल्याएको परिणामअनुसार सरकार बनाउन गठबन्धन हुनुपर्नेमा अहिले पहिला दलहरूले भागवण्डा गर्ने अनि सरकार बनाउँदा दलहरू जनताप्रति उत्तरदायी देखिएका छैनन्।'
गजुरेलले राजनीतिक दलहरूको व्यक्तिगत स्वार्थकै कारण आफूहरूले बहिष्कारको अभियानलाई तीव्र पारेको बताए। उनले भने, 'जनताले बहिष्कार हामीले किन गरेको भनेर बुझ्न थालेकाले जनताले अब नयाँ अनुहार वा स्वतन्त्र व्यक्तिलाई जिताउनुपर्छ भनेर अभियान पनि चलाउन थालिएको छ।'