अर्घाखाँची प्रशासनमा दिनभर सेवाग्राहीको घुइँचो
अर्घाखाँची : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आइतबार दिनभर सेवाग्राहीको घुइँचो थियो ।
राजधानी तथा अन्य जिल्लाबाट घरमा आएको समयमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत अन्य सेवा लिने सेवाग्राहीको प्रशासनमा घुइँचो लागेको हो ।
अन्य समयमा दैनिक एक सयदेखि तीन सय जनासम्मले सेवा लिने प्रशासन कार्यालय अर्घाखाँचीमा अहिले सेवाग्राहीको संख्या दोब्बर भएको छ ।
दशैँ यता जिल्ला प्रशासन कार्यालयमा दैनिक जसो सयौं सेवाग्राहीको घुइँचो लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । प्रशासन कार्यलयबाट दैनिक नागरिकतातर्फ दुई सय, राष्ट्रिय परिचयपत्रतर्फ दुई सय, राहदानीतर्फ एक सय तथा अन्यसहित झण्डै ६ सय सेवाग्राहीले सेवा लिएका छन् ।
रोजगारी, अध्ययनलगायत विभिन्न कारणले घर बाहिर रहेका मानिस दशैँ तिहार जस्ता चाडपर्वको बेला घर फर्कने र सोही समयको सदुपयोग गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र , राहधानी जस्ता अत्यावश्यक कागजात बनाउने भएकोले प्रशासनमा घुइँचो लाग्ने जिल्ला प्रशाशन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।
सेवाग्राहीलाई सेवा छिटो दिने उदेश्यले राष्ट्रिय परिचयपत्रको लागि २ स्टेशनबाट काम भईरहेको र अब पञ्जीकरण विभागले स्थानीय तहमा नै सेवा सुचारु गरी थप सहजता बनाउने पन्थीको भनाइ छ ।