तिमी बाँच्यौ होसले एक शताब्दी
सर्पदंशित सभ्यताका नीलडाम दुखेर
कोभिड–डेंगु भाइरसका आयातित संस्कृति पिएर
म खोला बगेकै छु
सत्यमोहन
टेथिस सागरका विष्णु अवतारहरू कहाँ प्रकटित छन् ?
कालीगण्डकी शालिग्राममा
डाइनास्वरित विलुप्त पदध्वनिहरू
कुन अन्तरिक्षका हार्ड डिस्कमा गुन्द्रुकिएका छन् ?
युगान्तरहरूले भन्न सक्दैनन्
म खोला बगिरहेकै छु
तिमीले भनेझैं बग्न नपाए पनि
सत्यमोहन
अन्तरिक्ष बस्ती प्राकल्पनाहरूबीच
हराएका छन् धरतीका
संस्कृति सपना
स्थापत्य चोमोलोङमाका उचाइ नाप्ने पाइलाहरू
हिमफाटाहरूमा जमेका छन्
म खोला बगिरहेकै छु
सभ्यताका विकारहरू बगेर
सत्यमोहन
कसले लेख्लान् एलियन युगका महाभारत ?
जसले जित्यो उहीँ सिकन्दर भाष्यमा
झ्याप्प निभेको छ डायोजिनिजको लालटिन
आत्मा हराएका शरीरमा च्याउ उम्रेका छन् रक्तबीज मनहरू
आणविक युद्धअभ्यासग्रस्त सम्भावित प्रेतलोकमा
म खोला, विकिरणका कण बग्न अभिशप्त हुनेछु
सत्यमोहन
तिमी बाँच्यौ होसले एक शताब्दी
म बेहोस बाँच्नेछु अनन्त शताब्दी
सत्यमोहन।