नेपाल प्रहरी कार्यसम्पादनमा अब्बल : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी कार्यसम्पादनमा अब्बल रहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नेपाल प्रहरी आफ्नो उत्कृष्ट कार्यले अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा कमाउन सफल भएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले सूचना र प्रविधिको विकासले अपराध र आपराधिक घटना पनि फरक तरिकाले बढिरहेकाले शान्तिपुर्ण समाजको स्थापनाको गर्रन प्रहरी थप चनाखो र अब्बल हुन आवश्यक रहेको बताए । देउवाले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन पनि शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले थप जिम्मेवारी बहन गर्नेमा विश्वस्त रहेको बताए ।
दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न गृहमन्त्रालय सदैव तत्पर रहेको बताए । अपराधको नयाँ आयाम थपिएकाले चुनौतीपूर्ण बन्दै गएको अपराध अनुसन्धानका लागि प्रहरी विशेष चनाखो हुनुपर्ने गृहमन्त्रीको भनाइ छ । उनले भने, 'सामाजिक सञ्जालबाट हुने अपराध अनुसन्धानमा नेपाल प्रहरीले समस्या भोग्दै आएको र पूर्णरुपमा अपराध निर्मुल गर्न चुनौती थपिएको छ ।'
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीले जनताको शान्ति सुरक्षालाई प्रमुख जिम्मेवारी ठान्दै काम गरिरहेको बताए । नेपालमा मात्र होइन नेपाल प्रहरीको कार्यकौशल अन्तर्राष्टिय स्तरमै प्रशंसायोग्य भएको सिंहले बताए । नेपालमा अपराध गरेर फरार भएका अपराधीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सफल भएको बताउँदै उनले गतवर्ष इन्टरपोलको सहयोगमा १७ जना अपराध आरोपी व्यक्ति विदेशबाट नेपाल ल्याएको जानकारी दिए ।
यो वर्ष ७ जना व्यक्ति प्रक्राउ गरेर ल्याइएको उनले बताए । नेपाल प्रहरीले राजस्व संकलनमा समेत देशलाई सहयोग गरेको बताउदै उनले गतवर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा ४३ प्रतिशतले वृद्धि गर्न सफल भएको बताए ।
प्रहरी दिवसको अवसरमा सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको थियो ।
२०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले प्रहरी दिवसको अवसर पारेर हरेक वर्ष उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दै आएको छ । यसै क्रममा विशेष व्युरोमा कार्यरत एसपी सन्तोष खड्काले यस वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् ।
डीएसपी अनिल घिमिरेलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरिएको छ । प्रदेश न १ प्रहरी कार्यालयले उत्कृष्ट कार्यक्षमता मूल्यांकनको पुरस्कार प्राप्त गरेको छ । प्रदेश नम्वर १ प्रहरी कार्यलयका डीआइजी सुदिप गिरीले प्रहरी व्याटल प्राप्त गरेका छन् ।
कार्यक्रममा यसवर्षको लाइभ टाइम एचिभमेन्टबाट अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई सम्मानित गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृति गरिएको छ ।