जलवायु अनुकूलन खेतीबाट ‘काउली घर’
काठमाडौं : काभ्रेको नमोबुद्ध नगरपालिका, बेल्बोटटारका किसान भरत न्यौपानेको घरलाई सबैले ‘काउली घर’ भन्छन्। नेपालमा मात्र होइन इटाली, नर्वे, पाकिस्तानमा पनि त्यही नामले चिनिन्छ। चार वर्षदेखि जलवायु अनुकूलन तरकारी खेती गर्दै आएका न्यौपानेले हरेक वर्षको आम्दानीबाट पक्की ढलान घर थप्दै गए। उनले तीन पटकमा तीन तला घर काउली बेचेर नै ठड्याए।
घरलाई ‘काउली घर’ भन्दा उनलाई निकै गर्व लाग्छ। पुस्तौंदेखि परम्परागत खेती गर्दै आएका न्यौपाने अहिले जलवायु अनुकूलन खेती गर्छन्। स्थानीय गाईबस्तुको मलमूत्रबाट तीन प्रकारको मल बनाउन झोल मल, किरा फट्याङग्राबाट जोगाउन जैविक विषादी बनाउने, अपसिजनमा, मलचिङ गर्ने र टनेलभित्र खेती गरिन्छ। यसमा मौलिक ज्ञान र प्रविधि प्रयोग गरिएको छ। जसलाई जलवायु अनुकूलन खेती भनिने उनले सुनाए। जलवायु परिवर्तनले बोटबिरुवामा समस्या आउँछ।
- काउली बेचेरै ३ वर्षमा ३ तले घर
- गाउँका ५० घरधुरी जलवायु अनुकूलन तरकारी खेतीमा
‘जलवायु परिवर्तनका कारण समयमा पानी नपर्ने र नपर्ने समयमा पर्ने हुँदा विभिन्न समस्या झेल्दै आएका थियौं,’ उनले भने, ‘अहिले जलवायु अनुकूलन कृषि अपनाएका छौं। हाम्रो प्रमुख उद्दश्य विषादीरहित उत्पादनमा जोड दिनु पनि हो।’ विषादीले रोग निम्त्याउने भएकाले विषादीरहित उत्पादन हुने उनले बताए। ‘अत्यावश्यक ठाउँमा मात्र २ वा ३ प्रतिशत विषादी प्रयोग हुन्छ। अन्य सबै अर्गानिक छ,’ न्यौपानेले भने।
स्थानीय राधाकृष्ण कृषक समूहका अध्यक्ष रहेका न्यौपानेका २ भाइ छोरा पनि तरकारी खेती मै छन्। उनले १५ रोपनीमा जमिनमा काउली, टमाटर, बन्दा, आलु, खुसार्नी, फर्सी, करेला लगाएका छन्। सबैभन्दा बढी काउली उत्पादन गर्छन्। न्यौपानेको आम्दानी वार्षिक ९ लाख माथि छ।
उक्त ठाउँका ५० घरधुरीले जलवायु अनुकूलन खेती गर्दै आएका छन्। न्यौपाने भन्छन्, ‘५० जनाको समूह छ। सबैले तरकारी खेती गर्छन्। थोरै जग्गा १–२ रोपनीमा तरकारी खेती गर्नेले पनि वर्षमा ५ देखि ६ लाख आम्दानी गर्छन्।’ सोही ठाउँका परशुराम केसी पनि यस प्रकारको तरकारी खेतीबाट खुसी छन्। भन्छन्, ‘पहिलाको गहुँ, मकै, तोरीले भन्दा धेरै फाइदा लिएका छौं। वार्षिक पाँच लाख आम्दानी हुन्छ।’
काभ्रेका मधुसूदन गुरागाईं जलवायु अनुकूलन खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताउँछन्। जलवायु अनुकूलन प्रणाली प्रयोग गरी तरकारीबाटै सबैको आर्थिक सुधार भएको उनको भनाइ छ । ‘खनजोत गरेर बाबुबाजेले लगाएको बाली लगाउने चलन थियो। अहिले विषादी प्रयोग हटेको छ,’ गुरागाईंले भने, ‘अहिले गाउँमा धेरैले नमुना कृषि गर्नु भएको छ। काउली बेचेरै घर बनाउनु भयो । काउली घरभन्दा गर्व गर्नुहुन्छ’, गुरागाईंले भने।