नवौं राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा बागमती र आर्मी फाइनल खेल्ने
तनहुँ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको फाइनल खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ।
मंगलबार भएको सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल गुगेको हो। आर्मीले गण्डकी प्रदेशलाई हराएको हो।
बागमतीले सुदूरपश्चिमलाई ८३-२५ को फराकिलो स्कोर अन्तरले पराजित गरेको थियो। खेलको पहिलो चरणमा २०-४, दोस्रो चरणमा २५ -८, तेस्रो चरणमा १८-३ र चौथो चरणमा २०-१० को अन्तर बनाएको थियो।
त्यस्तै, आर्मीले गण्डकी प्रदेशलाई ६७-३५ अन्तरको स्कोरले पछाडि पार्दै जीत हाँसिल गरेको हो। खेलको पहिलो चरणमा २०-६ र दोस्रो चरणमा १९-५ को स्कोर गर्दै आर्मी बलियो अवस्थामा पुगेको थियो।
तेस्रो चरणमा गण्डकी खेलमा फर्किदै १५ -११ को अन्तरले आर्मीभन्दा माथि रहेपनि अन्तिम चौथो चरणमा पुनः आर्मीले १७-९ को स्कोर अन्तर बढाउँदै सहज जीत निकाल्न सफल भयो। प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।