भूपेन्द्रको अधुरो स्वर्ण सपना
पोखरा : पोखरा रंगशालाको पश्चिमतर्फ निर्माणाधीन कभर्डहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङको भिडन्त चलिरहँदा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर भने कभर्डहलको एक छेउमा टोलाइरहेका थिए। ६४ केजी तौल समूहमा विभागीय टोली नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका भूपेन्द्र डेंगुका कारण रिङमा उत्रिन नसकेपछि अरुको खेल हेरेर चित्त बुझाइरहेका छन्। ‘यहाँ बसेर अरुको खेल हेर्दा आफूलाई पनि खेलुँखेलुँ लाग्छ। विरामी नभएको भए मैले पनि रिङमा भिडन्त गरिरहेको हुन्थें भन्ने सोच्छु’, भूपेन्द्र भन्छन्, ‘स्वर्णका लागि राम्रो तयारी गरेको थिएँ। जसरी पनि स्वर्ण जित्छु भन्ने थियो। तर, यस पटक समयले साथ दिएन।’ उनी नवौं राष्ट्रिय खेलकुदको स्वर्णको तृष्णा १०औं राष्ट्रिय खेलकुदमा मेट्ने बताउँछन्।
उनलाई एक हप्ता अघि नै डेंगुको संक्रमण भएको हो। पोखरा आएपछि ज्वरो आउने र शरीर दुख्ने भएपछि परीक्षण गराउँदा डेंगु संक्रमण देखिएको थियो। ‘दुई दिनजति ज्वरो आउने र शरीर दुख्ने भयो। त्यसपछि विस्तारै ठिक पनि भयो’, उनी भन्छन्, ‘जे भए पनि खेल्छु भनेर लागेको थिएँ। डाक्टरले नखेल भनेपछि खेलिनँ।’
२०६५ मा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएका भूपेन्द्र, त्यसबेलादेखि लगातार राष्ट्रिय खेलकुदमा सहभागी भइरहेका छन्। पाँचौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेका उनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि भने उनले ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न थालेका हुन्। दाङका भूपेन्द्र छैटौं राष्ट्रिय खेलकुददेखि घरेलु प्रतियोगितामा अपराजित छन्। ६४ केजी तौल समूहको प्रतिस्पर्धामा उनलाई अहिलेसम्म कसैले हराउन सकेको छैन। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उनको पाँचौं सहभागिता हो। उनले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकमा ह्याट्रिक गरेका थिए।
डेंगुका कारण आफू खेल्न नसक्ने भएपछि उनी भाइ चन्द्रबहादुर थापामगरलाई हौसला बढाउन प्रतियोगिता स्थल पुग्ने गरेका छन्। नेपाल पुलिस क्लबकै चन्द्रले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन्। अस्वस्थताका कारण डाक्टरले धेरै हिंडडुल नगर्न भने पनि उनी भाइ र आफ्नो क्लबका खेलाडीलाई हौसला बढाउन दिनहुँ प्रतियोगिता स्थल पुग्ने गरेका छन्। ‘यस पटक दुवै दाजुभाइले स्वर्ण जित्ने योजना थियो। दुवैले मेहनत पनि गरेका थियौं। तर, मलाई समयले साथ दिएन’, उनी भन्छन्।
आफूले खेल्न नपाए पनि भूपेन्द्र भाइ चन्द्रलाई स्वर्ण जिताउन लागिपरेका छन्। भाइ रिङमा भिडिरहँदा ताली बजाएर हौसला बढाउँछन् भने अरु बेला भाइलाई विभिन्न टेक्निक सिकाइरहेका हुन्छन्। ‘डेंगुका कारण मैले खेल्न पाइनँ। आफूले खेल्न नपाएपछि भाइले स्वर्ण पदक जितोस् भनेर सपोर्ट गरिरहेको छु’, भूपेन्द्रले भने, ‘मेरो सपना भाइले पूरा गरोस् भन्ने छ।’ पुरुष ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका चन्द्र उपाधि नजिक पुगेका छन्। मंगलबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबका सुवास तामाङलाई पराजित गर्दै उनी उपाधि नजिक पुगेका हुन्। बुधबार हुने उपाधि भिडन्तमा उनले एपीएफका प्रदीप महर्जनको सामना गर्ने छन्। प्रदीपलाई यसअघि पनि पराजित गरिसकेकाले भाइले स्वर्ण जित्नेमा उनी आशावादी छन्।
घरेलु प्रतियोगितामा एकछत्र राज गरेका भूपेन्द्रले १३औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। उनले फाइनलमा भारतीय खेलाडीलाई पाखा लगाउँदै ऐतिहासिक स्वर्ण जितेका थिए। त्यसअघि सन् २०१४ र २०१८ को एसियाली खेलकुदमा सहभागिता जनाएका उनले वल्र्ड च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका छन्। सन् २०१९ मा चीनमा भएको ग्रान्डस्लाम एसियन बक्सिङ च्याम्पियनसिपमा भूपेन्द्रले रजत पदक जितेका थिए।