स्वतन्त्रको उभार : आहत कि राहत ?
देश निर्वाचन उन्मुख छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले राजनीतिक माहोल तातेको छ। संविधानसभाबाट बनेको संविधानको कार्यान्वयन झन् सुदृढ बन्दैछ। गणतन्त्रको एक पूर्ण कार्यकाल सम्पन्न भई दोस्रो आवृत्तिको अनुष्ठान हुँदैछ। निर्वाचनका कार्यक्रम अघि बढ्दैछन्, उम्मेदवारी दर्ता भइसकेको छ।
निर्वाचन एक महाउत्सव पनि हो। नागरिक सम्प्रभुता र सार्वभौम सत्ताको प्रतिविम्बन गर्ने महत्त्वपूर्ण सूचक हो। दार्शनिक तथा राजनीतिशास्त्रीहरू आवधिक निर्वाचनलाई सबल प्रजातन्त्रको प्राण मान्छन्। निर्वाचनले नै नागरिकलाई छनोटको अवसर दिलाउँछ। अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकनले ‘जनताले जनताका लागि जनताबाटै गरिने शासन’लाई प्रजातन्त्र भनेका थिए। यसको सर्वाधिक स्वीकार्य अभ्यास भनेको निर्वाचन नै हो। दलका लागि नागरिक लोकप्रियता जाँच्ने र वैधानिकता प्राप्त गर्ने अवसर बन्छ। शक्ति हस्तान्तरणको सर्वप्रिय सौन्दर्यात्मक अभ्याससमेत हो।
यस्ता विविध महत्त्वको समिश्रणले निर्वाचन थुप्रै खालका रोचकता र रोमाञ्चकताको पर्यायसमेत बनेको छ। यसमध्ये स्वतन्त्रहरूको बाक्लो उपस्थिति अनि बिगबिगी पनि एउटा नयाँ परिदृश्य हो। प्रदेश र प्रतिनिधिसभामा गरी एक हजारभन्दा बढी स्वतन्त्र उम्मेदवारहरू देखिएका छन्। गएको स्थानीय निर्वाचनमा समेत पुरुष २ सय ६६ र महिला १ सय १९ गरी जम्मा ३ सय ८५ स्वतन्त्र उम्मेदवारहरू विजयी भएका थिए। अब स्वतन्त्र नै आम राजनीतिको नयाँ मानक बन्न थालेको हो कि भन्ने भ्रम बढ्न लागेको देखिन्छ।
संविधानतः हाम्रो देश बहुदलीय प्रजातान्त्रिक हो। राजनीतिमा विभिन्न क्षमताका धेरै दलको उपस्थिति कल्पना गरिएको छ। दल बरू सानो हुन सक्छ तर दलविहीनताको राजनीतिको सोच गरिएको छैन।
दलीय परम्परालाई नस्वीकारेका अथवा दलीय संगठनात्मक अभ्यासलाई शिरोपर गर्न नसक्ने तर सामाजिक लोकप्रियता ठीकै भएका केही व्यक्तिसमेत स्वतन्त्रको बहावमा बगिदिएका छन्। यसले समाजमा दुविधा झनै मौलाएको स्वाभाविक हो। सामाजिक सञ्जालको व्यापकताले यसलाई उच्च मलजल गर्ने कुरा मन नपराउन सकिन्छ तर अस्वीकार गर्न सकिँदैन। गुन इन्ली र हलभार्ड मोई सम्पादित पुस्तक ‘सोसल मेडिया एन्ड इलेक्सन क्याम्पेन’ले यस्तै निष्कर्ष दिन्छ। नागरिकलाई वर्तमान नेतृत्वका कारण पनि राजनीतिमाथि सघन वितृष्णा भने अवश्य छ। अनि स्वतन्त्र नै वास्तविक विकल्प हो कि भन्ने आवेग उद्वेलित बन्न पुग्छ। यद्यपि, राजनीतिक चरित्र, प्रणालीगत विकास, स्थायित्व, प्रजातान्त्रिक सक्षमतालगायतका आधारमा हेर्दा स्वतन्त्रको आधिपत्य हुने राजनीतिमाथि सीमित आकर्षण र असीम विकर्षण नै बढी परिपक्व निर्णय हुन्छ।
सीमित आकर्षण
स्थानीय निकायका सवालमा भने स्वतन्त्र नै उमेदवार निर्वाचित भए पनि काम गर्न तुलनात्मक रूपमा केही सहज हुन सक्छ। आधार तहमा नागरिकको प्रत्यक्ष साथसमेत मिल्छ। बसोबासका कारण अन्य दलका समर्थक अथवा शुभेच्छुकले समेत विरोध गरिहाल्न सम्भव हुँदैन। उनीहरूलाई ह्वीप लगाउने दल हुँदैन। कार्यकारी अधिकारसमेत आफैंमा निहित रहन्छ। हटाउने प्रावधान हुँदैन, दत्तचित्त भएर राम्रो काम गर्न कटिबद्ध हुन सक्छन्।
यद्यपि स्थानीय राजनीतिमा प्रस्फुटित स्वतन्त्रप्रतिको लहर उनीहरूमाथिको आकर्षणभन्दा दलहरूप्रतिको विकर्षणको उपज थियो। तर, प्रदेश तथा संघमा भने यस्तो प्रयोग कमै मात्रमा राहत र बढी चाहिँ आहत नै हुनेछ। स्थानीय निर्वाचनमा जति सामान्य सहजता अनि सामथ्र्य पनि सम्भव हुँदैन। स्वतन्त्रको विपरीत कित्तामा उभिनु नै राजनीतिक हिसाबले आम मतदाताको परिपक्व निर्णय हुन्छ। दर्जनौं कारणले गर्दा बर्गेल्ती स्वतन्त्रको लहैलहैमा असीम विकर्षणता देखाउनु आवश्यक र अनिवार्य छ।
असीम विकर्षण
एक, स्वतन्त्रहरूको उभारबाट हाम्रो संविधानको गम्भीर बर्खिलाप हुन सक्छ। संविधानतः हाम्रो देश बहुदलीय प्रजातान्त्रिक देश हो। राजनीतिमा विभिन्न क्षमताका धेरै दलको उपस्थिति कल्पना गरिएको छ। दल बरू सानो हुन सक्छ तर दलविहीनताको राजनीतिको सोच गरिएको छैन। संविधानको पालना सबै नागरिक र मतदाताको पनि कर्तव्य हो।
दुई, स्वतन्त्र उम्मेदवारसँग कुनै विचारधारा अनि संगठन हुँदैन। विचाराधारा नभएको राजनीतिको लक्ष्य हुँदैन। ती उम्मेदवारसँग अरूप्रति आग्रह हुन्छ, वर्तमानमाथि विरोध हुन्छ। भविष्यमा के गर्ने भन्ने रणनीति तथा कार्यनीति हुँदैन। मतदानजस्तो महादानलाई यस्तो अनिश्चिततामा दुरुपयोग गर्नु हुँदैन। शोधार्थी डाउन ब्रानकटीले सन् १९४५ देखि २००३ सम्मको युरोपभरको निर्वाचन तथ्यांकको आधारमा एक अनुसन्धान गरे। स्वतन्त्रमा कसैको एक्लो जित अनाथता, धेरैको जित अस्तव्यस्ततामा सकिएको निष्कर्ष निष्कियो।
तीन, हामीले अवलम्बन गरेको प्रणाली समूहमा आधारित हो। संसदीय बहुमतीय प्रणालीलाई अहिलेका अधिकांश देशले शिरोपर गरेका छन्। यहाँ एक दुईजना व्यक्ति अर्को नयाँ दल अथवा स्वतन्त्रबाट जित्दैमा कायापलट हुँदैन। ती सदस्यहरू निरीह हुन्छन्। प्रतिनिधिसभामा कम्तीमा १ सय ३८ र प्रदेशसभामा समेत बहुमत सदस्य भएमात्र उनीहरूको कार्ययोजना लागू हुन्छ। कथंकदाचित कोही निर्वाचित भए पनि उसले विचार राख्नेमात्र हो। सडक र सदनबाट गर्ने भूमिकामा केही फरक आउँदैन। यद्यपि स्वतन्त्रको लहरकै कारण दलहरूसमेत युवा र विज्ञलाई राजनीतिमा स्थान दिन बाध्य हुने पक्ष भने स्वागतयोग्य छ। राम्रा, काबिल, योग्य, दक्ष र विज्ञ मानिस एउटै समूह बनाएर राजनीतिमा मेघा लन्चको अभ्यासमार्पmत आउँदा भने त्यसले राम्रै तरंग ल्याउँछ।
चार, स्वतन्त्रको बहार र उनीहरूलाई गरिने मतदानले अहिलेको निर्वाचन प्रणालीलाई न्याय गर्न सक्दैन। प्रतिनिधिसभा र प्रदेशसभा दुवै व्यवस्थापिकामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउँछन्। साँच्चै नागरिकलाई विकल्प दिने हो भने दल बनाएर नै जानुपर्छ। समानुपातिकमा समेत रोज्ने प्रावधान हुनुपर्छ। अन्यथा एक्लै स्वतन्त्र उठ्ने भनेको केवल आफ्नो व्यक्तिगत मनोकांक्षालाई सबल बनाउने मात्रै हो। समानुपातिकमा अर्को कुनै दललाई नै रोज्नुपर्ने अवस्थामा प्रत्यक्षमा मात्र छुट्टै व्यक्तिलाई भोट दिनलाई मतदाता अभ्यस्त पनि हुँदैन र औचित्य पनि देख्दैन।
पाँच, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीतिसमेत सत्तासीन दलको राजनीतिक अवधारणा तथा नीतिअनुसार नै हुन्छ। देशका मुख्य नीतिहरूमा सरकार सम्बन्धित दलको सुगठित विचारको प्रतिविम्बन हुन्छ। कुनै स्वर्ण स्वप्नदर्शीले देशभर स्वतन्त्रहरूको विजय सुनिश्चिचताको कल्पना गर्न सक्ला। तर, उनीहरूसँग दल र राजनीतिक विचार नभएका कारण कुनै पनि
नीतिहरू बन्न सक्दैनन्।
छ, दलबाट निर्वाचित उमेदवारलाई दलको ह्वीप लाग्छ। अनुशासनको कारबाही हुन सक्छ, जिम्मेवारी मुक्त गर्न सकिन्छ। स्वतन्त्रमा विजय भएकाले कहिलेकाही अशोभनीय चरित्र प्रदर्शन गरेमा कसैले कारबाही गर्न सक्दैन। दलले जस्तो निष्कासन गर्न मिल्दैन। उनीहरू मनमौजी रहन सक्छन्।
सात, प्रजातन्त्रको विकल्प उच्च र समुन्नत प्रजातन्त्र नै हो। गैरप्रजातन्त्र कदापि होइन। अहिलेका दलका नेता खराब हुन सक्छन्। त्यही दलभित्र राम्रा मान्छेलाई नागरिकबीच पठाउन दबाब दिनुपर्छ। दल नै खराब हुन सक्छ, नयाँ दलको निर्माणमा योगदान र प्रोत्साहन दिनुपर्छ। एउटा खराब कामलाई अर्को खराब कामबाट सुधार्न सकिँदैन। उज्यालोले मात्र अँध्यारो हटाउन सक्छ, अँध्यारोलाई सरापेर अथवा झन् अँध्यारोतिर हिँडेर हुँदैन। अस्पताल जाँदा यदाकदा कुनै चिकित्सक खराब र असक्षम रहेको आभाष हुन सक्छ। उसको सट्टा काबिल चिकित्सक खोज्नुमात्र बुद्घिमता हो। धामी झाँक्रीमा फर्कनु होइन।
आम मतदाताले सचेत भई प्रभावकारी मतदान गर्नुपर्छ।
आठ, अस्थिरतालाई स्थायी र संसदीय प्रणालीलाई बिरूप बनाउने अस्त्र बन्छ। संसद्मा दलविहीनताका सदस्यको उपस्थितिले केही काम नहुने अवस्था आउन सक्छ। दलका सदस्य रहँदा कोही कसैबाट हुने सानो त्रुटिका कारण पूरै दलको प्रतिष्ठामा आँच आउने भएकाले उनीहरू अरूसँग समन्वय गर्न र आपूm संयमित हुन बाध्य हुन्छन्। स्वतन्त्रलाई यस्तो राजनीतिक दबाब नहुने कारण उसले संसद्लाई सहयोगभन्दा
अवरोध बढी गर्न सक्छ।
नौ, प्रणालीभन्दा व्यक्तिवादी सोच हावी हुन सक्छ। व्यवस्था तथा प्रणालीलाई कमजोर र निष्प्रभावी देखाउन दलहरूका विरुद्घ अतिरञ्जित सोच अनि आक्रमक विचारहरू दिने सम्भावना बढ्न सक्छ। आफूले केही गर्न नसकेपछि कम्तीमा दललाई खुइल्याउन सकेसम्म कोसिस गर्न सक्छन्। राजनीतिमा अरू शक्तिका विरुद्घ थ्रीडी (तीन डी) को सिद्घान्त प्रतिपादित भएको छ। सके पराजित (डिफिट), नसके बेइज्जत (डिफेम) र त्यो पनि नसके अस्वीकार (डिनाई) को बाटो उनीहरूले अवलम्बन गर्छन्। राजनीति रचनात्मक र सिर्जनात्मकभन्दा प्रतिक्रियात्मक चंगोलमा फस्छ।
दस, यदि स्वतन्त्रहरूको बाक्लो उपस्थिति भएमा सरकार निर्माणमा समेत ठूलो अवरोध हुन्छ। उनीहरूले सम्भावित दलमाथि अनावश्यक सौदाबाजी गर्न सक्छन्। बेमेलता र विग्रहले संसद्ले न त सरकार दिन्छ, न त बिजिनेस। संसद् बन्धक बन्छ, देश सरकारविहीन।
एघार, अझ केही उम्मेदवारले त हदैसम्म पराकाष्ठा देखाएका छन्। दलले टिकट नदिएपछि स्वतन्त्र हुने फेसन बढेको छ। दलीय अनुशासन मान्न नसक्नेहरू स्वतन्त्रको नाम भजाउँदै छन्। उनीहरूको स्वभाव सुहाउँदो शब्द बागी हो, स्वतन्त्र होइन। विलियम शेक्सपियरले आफ्नो एक कृतिमा लेखेका छन्, ‘गोबरलाई गुलाब भन्दैमा सुवास आउँदैन।’ ती स्वतन्त्रहरूको वास्तविकता चाहिँ यही हो। त्यस्ता स्वतन्त्रका कारण स्वतन्त्र शब्दको नै चीरहरण भएको छ।
बाह्र, स्वतन्त्र एउटा लहरमात्र हो, चरित्र बन्न सक्दैन। सिनेमा हुन सक्छ, वास्तविकता हुँदैन। यसबाट विनिर्माणको सम्भावना रहँदैन। एकछिनलाई आनन्दको भ्रमपूर्ण नसा बन्न सक्छ, दीर्घकालीन भविष्यको नसिफ बन्दैन। मतदान स्वतन्त्रताको पनि सीमा हुन्छ। हिँड्ने स्वतन्त्रता हुँदैमा बाटो अथवा छेउ छाडेर मोटर कुद्ने ठाउँबाट हिँड्दा दुर्घटना निम्तिने निश्चित छ। दलमध्येका राम्रा उम्मेदवारलाई छान्नु सचेतता अभियान हो। स्वतन्त्रको बहावमा बहनु निष्प्रभावी अभिमान हो। त्यसैले आम मतदाताले सचेत भई प्रभावकारी मतदान गर्नुपर्छ।