प्रतिस्पर्धामा सुदूरका महिला

प्रतिस्पर्धामा सुदूरका महिला

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन्। सबै निर्वाचन क्षेत्रमा ठूला दलहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन्। नेकपा एमाले १६ निर्वाचन क्षेत्रमा २, नेकपा माओवादी केन्द्रले १ जना र नेपाली कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार नै दिएको छैन। तर, यसपालि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले भने प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ जना महिला उमेदवार उठाएको छ।

सबैभन्दा रोचक कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा छ। त्यहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बीना मगर र एमालेका तारा लामा तामाङबीच प्रतिस्पर्धा हुने भएको छ। मगरले यसअघिको निर्वाचनमा कांग्रेसका दिवानसिंह बिष्टलाई आधाभन्दा बढी मतान्तरले पराजित गरेकी हुन्। मगरका ३८ हजार ४६७ मत आउँदा विष्टको १९ हजार २१९ मत आएको थियो। मगर यसअघि खानेपानी तथा सरसफाइमन्त्री पनि भइसकेकी छन्। उनले यसपटक तामाङसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। 

तामाङ एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष भइसकेका नेता हुन्। उनले नेकपा हुँदा प्रदेशसभा सदस्य जितेका थिए। नेकपा विभाजनपछि र त्यसपछि एमाले पनि विभाजन हुँदा उनी एकीकृत समाजवादीतर्फ लागेका थिए। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको महेन्द्रनगरमा भएको कार्यक्रममा तामाङ बहालवाला प्रदेशका राज्यमन्त्री कुलवीर चौधरीसहित एमालेमा फर्किएका थिए। 

तामाङले प्रदेशसभामा २० हजार १५ मत ल्याउदा कांग्रेसका गोपाल गुरुङ ९ हजार २९० मत ल्याएका थिए। तामाङ त्यस क्षेत्रका लागि लोकप्रिय नेता हुन्। उनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री पनि भइसकेका नेता हुन्। एमालेको बलियो क्षेत्र मानिने कञ्चनपुर १ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। कञ्चनपुरको क्षेत्र नम्बर ३ मा झनै रोचक प्रतिस्पर्धा छ। त्यहाँ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र रमेश लेखक र ओलीले छोरी नै मानेकी निरुदेवी पालबीच प्रतिस्पर्धा भइरहेको छ। 

लेखक कांग्रेस सरकारमा जाने बित्तिकै मन्त्रीको लिस्टबाट नछुट्ने व्यक्ति हुन्। उनी एकपटक श्रम तथा रोजगार र एकपटक भौतिक पूर्वाधारमन्त्रीसमेत भइसकेका छन्। तर, २०७४ सालको निर्वाचनमा उनलाई एमालेका डा. दीपकप्रकाश भट्टले १५८ मतले मात्रै पराजित गरेका थिए। निरुदेवी विद्यार्थी राजनीतिदेखि कञ्चनपुरमा खारिएकी नेतृ हुन्। उनले २०६४ को संविधानसभाको उपनिर्वाचन लडेकी थिइन्। तर, उनी माओवादीसँग त्यतिबेला पराजित भइन्। देउवाले डडेल्धुरा र कञ्चनपुर ३ बाट चुनाव जितेका थिए। उनले कञ्चनपुर ३ छोडेपछि त्यहाँ उपचुनाव भएको थियो। पाल एमालेका पोलिट ब्युरो सदस्य हुन्। २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा समानुपातिक सांसद पाल व्यवस्थापिका संसद्को महिला तथा बालबालिका समितिकी सभापति भइसकेकी छन्। 

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा पनि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी प्रतिनिधिसभामा उम्मेदवार बनेकी छन्। एमालेबाट यसअघिका मेयर तपेन्द्र रावल र कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरी उनका प्रतिस्पर्धी छन्। २०७४ सालको निर्वाचनमा रेशम चौधरीको मतका आधारमा रञ्जीता हौसिएकी छन्। त्यतिबेला रेशम चौधरीले एमालेकी मदनकुमारी शाह (गरिमा) लाई २० हजार ९३५ मत अन्तरले पराजित गरेका थिए। रेशमको ३४ हजार ३४१ मत आउँदा शाहको १३ हजार ४०६ मत आएको थियो। 

दोस्रो स्थानीय निर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टीले कैलालीका त्यही निर्वाचन क्षेत्रका ४ स्थानीय तह जितेको छ। टीकापुर नगरपालिकामा मेयर, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा उसले प्रमुख÷उपप्रमुख दुईटै जितेको छ। कैलालीको निर्वाचन क्षेत्रमा यी चारवटै स्थानीय तह छन्। नागरिक उन्मुक्ति एक्लो चुनावमा होमिएको हो। एमालेले डोटीमा गौरी वलीलाई उम्मेदवार बनाएको छ। ओलीले एकीकृत समाजवादीका प्रेम आले मगरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। आले ओलीको पालामा केही दिन वनमन्त्री भएका थिए। तर, ओलीको सरकार ढलेपछि आले समाजवादीतर्फ लागेर देउवा नेतृत्वको सरकारमा नागरिक उड्डयन तथा पर्यटनमन्त्री भएका थिए। गठबन्धनबाट आलेले डोटी पाएपछि, कांग्रेसले पार्टीका प्रदेश सभापतिसमेत रहेका वीरबहादुर बलायरलाई कैलालीको ४ मा ल्याएर एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टसँग लडाएको छ।

डोटीमा समाजवादीको संगठन कमजोर छ। स्थानीय निर्वाचनमा समाजवादीले डोटीमा एक वडाध्यक्षसमेत जितेको छैन। यस्तो अवस्थामा आलेलाई एमालेकी ओलीसँग जित्न भने फलामको चिउरा चपाए सरह हुनेछ। वली २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.