किसानलाई धान काट्ने चटारो
भक्तपुर: तिहार नजिकिएसँगै भक्तपुरका किसानलाई धान काट्ने चटारो बढेको छ ।
अहिले धान काट्ने चटारोले भक्तपुरका किसानलाई तिहार मनाउन भ्याइनभ्याइ हुने देखिएको छ । बिहानैदेखि उनीहरू समूहसमूहमा मिलेर धान काटिरहेका छन् ।
केही दिनदेखि धान काट्ने काममा भ्याइनभ्याइ भएको किसान कृष्णसुन्दर प्रजापतिले बताए । खेतमा गह्रामा किसानले रमाइलो गर्दै धान काटेका दृश्य देखिन्छन् ।
भरिला धानका बालाले किसानलाई खेतमा काम गर्न हौसला मिलेको प्रजापतिले बताए । परिवार, छरछिमेक, नातागोता आफन्त मिलेर अर्मपर्म गरी धान काट्दा थप खुसी मिलेको पनि उनले बताए ।
भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाँई हुने गरेको छ । भक्तपुरमा प्रति हेक्टर ६ दशमलब २ टन धान उत्पादन हुने गरेको छ । समयमै पानी पर्ने हो र मौसमले साथ दिए धानको उत्पादन बढ्ने किसान बताउँछन् ।
भक्तपुरका चार नगरपालिकामध्ये पुरानो भक्तपुर र मध्यपुर थिमि नगरपालिका मानव वस्तीले भरिएकाले त्यहाँ खेतीयोग्य जमिन खासै छैन । सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा भने धेरै खेतीयोग्य जमिन छन् । चितपोल, नंखेल, सिपाडोल, गुण्डु, कटुञ्जे, सिरुटार, ताथली, सुडाल, बागीश्वरी, नगरकोट, दुवाकोटलगायतका ठाउँमा बढी धान खेती हुने गरेको छ ।