नेपालीको सारथी बन्दै ‘हेल्प डेक्स इन पोर्चुगल’
काठमाडौं: ठूलो सपना र आर्थिक समृद्धिको आशा बोकेर जीवनलाई सरल बनाउने उद्देश्यले विगत १० वर्ष अघि युरोप छिरेका बिक्की सुवेदी अहिले नेपालीको सारथी बन्न थालेका छन् ।
पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन् ।
पर्वतको कुस्मा स्थायी घर भएका बिक्की हालः युरोयियन मुलुक पोर्चुगलमा छन् । पहिले रोजगारीका लागि पोर्चुगल पुगेका उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी आप्रबासीलाई रोजगारी दिइरहेका छन् ।
सामाजिक सेवामा हात हालेका बिक्कीको समूहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार मानिसलाई रोजगारी दिएको छ । उनले स्थापना गरेको ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्था नेपाली कामदारको सहयोगी बनेको छ ।
रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका र समस्यामा परेका आप्रबासीलाई यो संस्था साथी नै हो ।
‘जब म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो वैदेशिक रोजगारी नेपालीले सोचे जस्तो सजिलो रहेनछ । झन्झटिलो कागजी प्रक्रियाले धेरै नेपालीलाई समस्यामा पारेको अवस्था थियो,’ उनले भने, ‘यहाँ आफूले भोगेको अनुभवले नै मलाई परदेशमा सहयोग गर्नु ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भयो । ’
हेल्प डेक्स इन पोर्चुगलले के गर्छ ?
पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषाको हो । यहाँका हरेक कार्यालयमा भाषा नजान्नेले कुनै काम सहज रुपमा गर्न सक्दैनन् । पोर्चुगिसहरू भाषामा काम गर्न कठिन छ । पोर्चुगल जानेले पनि भाषा सिकेर जानुपर्ने सुझाव उनको छ ।
यही भाषागत समस्यामा परेर काम गर्न नसकेका नेपाली तथा अन्य देशका आप्रवासीलाई ‘हेल्प डेक्स इन पोर्चुगलले सहयोग गर्दै आएको छ । डकुमेण्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायमा पर्ने समस्याको समाधानका लागि यो संस्थाले काम गर्ने गरेको छ ।