तिहारसँगै भक्तपुरको गुण्डुवासीलाई मखमली फूलको माला उन्न चटारो

तिहारसँगै भक्तपुरको गुण्डुवासीलाई मखमली फूलको माला उन्न चटारो

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका किसानलाई मखमली फूल टिप्न र माला उन्न भ्याई नभ्याई परेको छ। 

तिहारको तयारी गर्नुपर्ला भन्ने अधिकांशले सोच्दै गर्दा भक्तपुरका किसानलाई भने तिहारका लागि मखमलीका माला बजारमा पुर्‍याउने हतारो छ। 

बिहानको चिसो सिरेटो चल्दै गर्दा नै उनीहरू मखमली टिप्न खेत पुग्छन्। धेरै हुनेले ठेक्कामा माला उन्न लगाउँछन्। कतिले आफैं उन्छन्।

स्थानीयका अनुसार गुण्डुका हरेक परिवारका धेरैथोर फूल खेती छ। धेरैले धानको ठाउँमा फूल लगाएका छन् खेतमा। कतिले आफ्नै खेतमा फूलखेती गरेका छन् त कतिले भाडामा खेत लिएर फूलखेती गरेका छन्। 

त्यहाँका स्थानीयले मात्रै होइन, कोठाभाडामा बस्नेहरूले पनि खेत भाडामा लिएर फूल खेती गर्दै आएका छन्। कसैले व्यवस्थित रूपमा टनेल नै बनाएर फूलखेती गरेका छन् भने कतिले यतिकै सामान्य रूपमा खेती गरेका छन्। 

गुण्डुभरि जताततै फूल खेती गरेको सजिलै भेटिन्छन्। गुण्डु चोकको सडक पेटीमै मखमलीको माला उन्दै गरेकी माया नगरकोटीले आफ्नो परिवारलाई मात्रै नभई समग्रमा सारा गुण्डुवासीलाई बिहान मखमलीको फूल टिप्न जान र दिनभरि माला उन्न भ्याइनभ्याई परेको सुनाइन्। 

आमा छोरी एकैठाउँमा बसेर धमाधम माला उन्दै गरेको उनको परिवारलाई कुरा गर्नसम्म भ्याइ नभ्याई थियो। 

भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुण्डु कार्यालयबाट एक दुई सय मिटरमै पर्ने चोकमा दिनको समयमा जताततै मखमलीको माला बनाइरहेको भेटिन्छन् अहिले। 

त्यहाँघरैपिच्छे कोही एक्लै त कोही परिवारपरिवार मिलेर माला बनाइरहेको भेटिन्छन्। यहाँका किसानलाई मखमलीको माला उन्ने चटारो साउन भदौदेखि नै हुन्छ। 

त्यतिबेला उनेका माला अष्ट्रेलिया, जापान लगायतका देशमा निर्यात भइसके। यतिबेलाको चटारो भने नेपाली बजारका लागि हो। तिहारमा नभै नहुने र हिन्दू संस्कृतिको विशेष महत्व बोकेकाले मखमलिको माग धेरै नै हुने गर्छ। 

माला उन्दै गर्दा उनीहरूको गुनासो भने राम्रो बजार नपाएको छ। विदेशबाट आयात भइदिँदा आफूहरूले राम्रो मोल नपाएको उनीहरूको दुखेसो छ। 

स्थानीय ज्याति नगरकोटीका अनुसार यसपाला आफूहरूले एउटा मालाको २० देखि रुपैयाँ‍मा बेच्न बाध्य भएको छ। यसपटक केही समय अगाडि परेको पानीले फूलखेतीमा ठूलो नोक्सान पुयाएको उनले सुनाइन्। 

यसले एकातिर कम मूल्य पाएको र अर्कोतिर फूल बिग्रेर नोक्सानी भएको उनको गुनासो छ। 'तैपनि तिहार मनाउनलाई खर्च उठ्छ,' उनले भनिन्, 'यतिमै हामी सन्तोष र खुशी मनाउन बाध्य छौं।' 

कहिल्यै नओइलाउने मखमली फूलको मालाले तिहारमा दिदीबहिनी र दाजुभाइ बीचको प्रगाढ प्रेम बुनेको हुन्छ। यससँगै मखमलीले दाजुभाइको लामो आयुको प्रतिविम्व पनि बोकेको हुन्छ। 

यही कारण तिहारमा मखमली फूलको माला नभइ हुँदैन। बत्ती र उज्यालोको चाड तिहार फूलबिना अधुरो रहन्छ। शारदीय मौसममा फूलहरू यसैपनि धेरै फूल्छन्। अझ कहिल्यै नओइलाउने मखमलीको चमक नै भिन्नै। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.