पूर्वसहकर्मीबीच कडा टक्कर, यस्तो हुँदैछ रोचक भिडन्त

पूर्वसहकर्मीबीच कडा टक्कर, यस्तो हुँदैछ रोचक भिडन्त

काठमाडौं: 'प्रेम र युद्धमा सबै जायज' भन्ने युक्ति नेपालको राजनीतिमा पनि लागू भएको देखिन्छ । हुन पनि बाम गठबन्धनबाट बहुमत मत ल्याएर सरकारमा पुगेका तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरण गर्दै ठूलो दल नेकपा गठन गरे पनि ठूलो भनिएको दल लामो समयसम्म एउटै व्यानरमा टिक्न सकेन । 

शीर्ष नेताबीचको आन्तरिक विवादले फेरि टुक्रिएको नेकपा पहिलेकै दुई दलमा विभक्त भयो । अनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बने ।  यी दुई दलबीचको जुटफूटको राजनीतिले आगामी मंसिरमा हुने निर्वाचनमा आफ्नै पूर्वसहकर्मीको रोचक भिडन्त हुने भएको छ । सहकर्मी हुँदा एकले अर्काको भूमिकाको तारिफ गरेर नथाक्ने नेता अहिले आफ्नै साथीका कुरा काट्दै भोट भाग्दैछन् । 

राजनीतिक दलका नेताको यो प्रवृत्तिले पनि यसपालिको निर्वाचन केही रोचक बनाएको छ । नेपाली राजनीतिमा शीर्ष मानिएका नेता तथा स्थानीय नेताबीच पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ । यस्तो प्रतिस्पर्धाको रोचक दृश्य इलाम, झापा, उदयपुर, सिन्धुली, रौतहट, काठमाडौं, गुल्मी, दाङ, दैलेख, कैलाली, डोल्पालगायतका जिल्लामा देखिएको छ । 

यस्तो रोचक भिडन्तमा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेद्वारबीच हुनेछ । धेरै ठाउँमा एमाले र एकीकृत समाजवादीका नेताबीच प्रतिस्पर्धा छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नै रहेका माधवकुमार नेपाल आफ्नै पूर्वसहकर्मी एमाले नेता अजयकुमार गुप्तासँग प्रतिस्पर्धा गर्दैछन् । 

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ मा लामो समय एमालेबाट प्रतिनिधित्व गरेका नेताबीचको जुहारी रोचक हुने अपेक्षा गरिएको छ । एकीकृत समाजवादीको अध्यक्ष नै भए पनि माधव नेपाललाई एमालेको मत तान्न कठिन हुने स्थानीय बताउँछन् । विगतमा एमालेको नेतृत्व तहमा रहेका तथा देशकै नेतृत्व गरेका नेता नेपाललाई नयाँ पार्टी सम्हालेपछि जनताले कस्तो सम्बोधन गर्छन त्यो चुनावी परिणामले देखाउने छ । 

विगतमा एमालेका अध्यक्ष तथा एमालेबाटै प्रधानमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई पनि आफ्नै पूर्वसहकर्मीले टक्कर दिँदैछन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेता खनाल र नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका खनाललाई यसअघि इलाम नगरपालिकाको प्रमुख भएर काम गरेका जिल्ला अध्यक्ष बस्नेतले टक्कर दिनेछन् । 

निर्वाचन प्रचारमा होमिएका खनालले अन्तिम पटक भन्दै मत मागे पनि अब नयाँ अनुहारलाई ठाउँ दिनुपर्ने आह्वानसँगै बस्नेत पनि मैदानमा छन् । विगतका निर्वाचनमा इलाम-१बाटै सांसद बन्दै आएका खनालको यो वर्ष अग्नि परीक्षा हुने खनालकै पूर्वसहकर्मी एमालेका स्थानीय नेताको भनाइ छ । खनाललाई विगतको एमालेको मत तथा अहिले केही रुष्ट कांग्रेसजनको मत तान्न कठिन छ । निर्वाचनमा विजयी भएपछि जिल्ला बिर्सने आरोप खेपिरहेका खनाललाई स्थानीय तहबाटै काम गरिरहेका बस्नेतले निक्कै दबाबमा राख्नेछन् । 

रौतह, इलामसँगै अन्य जिल्लामा पनि पूर्वसहकर्मीबीचको टक्कर निक्कै राम्रो हुने आँकलन गरिएको छ । धेरै चर्चामा रहेको जिल्लामा गुल्मीको नाम पनि आउँछ । गुल्मीमा एमाले नेता गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री दुवैको नाम धेरै चर्चामा छ ।

दुवै पूर्वमन्त्री, मन्त्री हुँदाका कामले गोकर्ण बढी चर्चामा आए । अनि रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाटै चर्चा बटुलेकी नेतृ । दुवैले संगठन विस्तारमा गुल्मीमै काम गरेका अहिले एकै गाउँमा झण्डै उस्तै उस्तै चुनावी प्रचार शैली लिएर मतदाता समक्ष जाँदैछन् । रामकुमारीलाई सत्ता गठबन्धनले साथ दिँदा एमालेको एक्को उम्मेद्वार विष्टमा को कता पल्लाभारी हुने भन्नेबारे बेग्लाबेग्लै टिकाटिप्पणी हुने गरेको छ । परिणाम कुर्न समय पर्खनुपर्ने भए पनि दुईबीचको भिडन्त गुल्मी क्षेत्र नम्बर २ मा निक्कै रोचक हुने एमालेका नेताहरूको आँकलन छ ।

दाङको क्षेत्र नम्बर १ मा एमालेका शान्ता चौधरी र मेटमणी चौधरीको प्रतिस्पर्धा पनि रोमाञ्चक हुने आँकलन गरिएको छ । एकै समूदायका यी दुई पूर्वसहकर्मीले आफूलाई अब्बल देखाउने अभियानसहित चुनावी मैदानमा रहँदा परिणाम के आउने भन्ने यकीन आँकलन अहिले छैन । तर दुवैले आफ्नो जितको सुनिश्चितता दाबी गरेका छन् । एमालेको सचेतकको भूमिकामा रहेकी चौधरी राम्रो अवसर पाउने नेतृ हुन् । यता शहरी विकास मन्त्रीसमेत रहेका नेता मेटमणि चौधरी सत्ता गठबन्धनको व्यानरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट चुनावी मैदानमा छन् । 

काठमाडौं क्षेत्र नम्बर ८ मा पनि पूर्वसहकर्मीबीचको भिडन्त हुँदैछ । नेकपा एकीकृत समाजवादीका जीवनराम जीवनराम श्रेष्ठ एमालेमा हुँदा शिवसुन्दर राजवैद्यका सहकर्मी हुन । धेरै चर्चामा नआएका राजवैद्यले एमालेबाट सत्ता गठबन्धनको उम्मेदवार बनेका श्रेष्ठलाई राम्रै ठक्कर दिने मतदाताको विश्लेषण छ । 

झापा २ मा पनि पूर्वएमालेबीच प्रतिस्पर्धा हुँदैछ । माओवादी केन्द्रबाट हरिकुमार रानामगर र एमालेबाट देवराज घिमिरे भिड्दैछन् । हरिकुमार एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेर उम्मेद्वार बनेका हुन् । 

सिन्धुली २ मा पूर्वमाओवादीद्वय लेखनाथ दाहाल र मनोजजंग थापाबीच कडा टक्कर हुने देखिन्छ । लेखनाथ माओवादीबाट सत्ता गठबन्धनका उम्मेदवार हुन् भने पूर्वमाओवादी केन्द्रका मनोजजंग एमालेबाट उम्मेदवार बनेका छन् ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पनि पूर्व एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगननाथ खतीवडा र एमाले नेता अम्बरबहादुर रायमाझी लड्दैछन् । खतिवडा सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

डोटीको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व एमालेबीच चुनावी प्रतिस्पर्धा हुनेछ । नेकपा एकीकृत समाजवादीबाट पूर्वपर्यटन मन्त्री प्रेमबहादुर आले र एमालेबाट गौरी वली चुनावी मैदानमा छन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा सँगै नेकपा माओवादी केन्द्रमा रहेका गौरीशंकर चौरी र कृष्ण चौधरीपनि चुनावमा भिड्दैछन् । गौरीशंकर एमालेबाट र कृष्ण माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएका हुन् । गौरीशंकर पूर्वकृषि विकास मन्त्री हुन् भने कृष्ण पूर्वसभासद् हुन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पाबाट उम्मेदवारी दिएका पूर्वसहकर्मी धनबहादुर वुढा र गणेशबहादुर शाहीबीच पनि रोचक प्रतिस्पर्धा हुँदैछ । नेकपा एकीकृत समाजवादीका धनबहादुर पूर्वपर्यटन राज्यमन्त्री हुन् भने एमालेबाट उम्मेदवारी दिएका शाही ठूली भेरी नगरका पूर्वप्रमुख हुन् ।

पूर्वसहकर्मीद्वय एमालेका अम्मरबहादुर थापा र रवीन्द्रराज शर्मा दैलेख १ बाट चुनावी दौडमा छन् । नेकपा एकीकृत समाजवादीका थापा र एमालेका शर्मा चुनावमा लड्दैछन् । थापा नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष हुन् भने शर्मा एमाले दैलेखका प्रभाव जमाएका नेतामा पर्छन् । 

जे भए पनि अब जनताले आफ्नो योग्य उम्मेदवारलाई जिताउने एक मौका आएको छ । चर्चालाई छाडेर देशको विकास र समृद्धिका लागि अघि बढ्ने जिम्मेवारी बहन गर्न सक्ने नेता छान्ने युवा मतदाताहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.