एक महिनामै १३ लाख ६२ हजार मूल्य बराबरको गाँजा बरामद, २१ जना पक्राउ
काठमाडौं : पछिल्लो एक महिनामा प्रहरीले गाँजासहित २१ जनालाई पक्राउ गरेको छ। प्रहरीले अवैध रूपमा कारोवार भैरहेको लागूऔषध खैरो हिरोइन, गाँजा र एम्पुलसहित २१ जनालाई नियन्त्रणमा लिएको हो।
लागूऔषध प्रयोगकर्ता तथा कारोवारीले लागूऔषध ओसारपसार गर्न विमानस्थल तथा हुलाक कार्यालय प्रयोग गर्ने गरेको खुलेको छ।
गत कात्तिक २ गते वैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारबाट २०८ ग्राम गाँजा सहित गोरखाका सचिन देवकोटा र काठमाडौका सौरभ साण्डिल प्रक्राउ परे।
यस्तै गत असोज १३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाट १५ किलो ७०९ ग्राम गाँजासहित भारत मेघालयका सन्दीप शर्मा प्रक्राउ परे।
लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता योगेन्द्र कुमार खड्काका अनुसार अवैध लागूऔषध कारोवार गर्नका लागि आरोपीले नयाँ नँया तरिका र स्थान प्रयोग गर्ने गरेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोले उपत्यकामा विभिन्न समयमा ३४.६ ग्राम खैरो हिरोइन, २१४० थान एम्पुल र करिब १६ केजी गाँजा बरामद गरेको हो।
प्रक्राउ पर्नेमा सोलुखुम्वुका ग्लाल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, नुवाकोटका सरोज राई, कृष्ण बहादुर राई, सर्लाहीका रन्जीत गोले, धादिङकी शर्मिला तामाङ, पर्साका सन्दीप दास र दीपु कुशहवा, चितवनका श्रीकृष्ण भण्डारी, मेलीना भण्डारी र पर्साका उपेन्द्र प्रसाद कुशहवा, कृसन तृली, चन्दन महतो, सुवास सहनी, सप्तरीका चन्दन दास, भारत मधुवनीका शम्भु कुमार शाह लगायतका छन्।
प्रवक्ता खड्काका अनुसार बरामद भएको लागूऔषधको बजार मूल्य १३ लाख ६२ हजार ९२९ रुपैयाँ छ। पक्राउ परेका सबै व्यक्तिलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ।