विद्यालयमा चोरी गरेको आरोपमा दुई जना पक्राउ
बैतडी : बैतडीमा विद्यालयमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। चोरी गरेको आरोपमा दशरथचन्द नगरपालिका-४ का २० वर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो।
जिल्लाको दशरथचन्द नगरपालिका-१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा ल्यापटप चोरी गरेको खुल्न आएको समेत प्रहरीले जनाएको छ।