गोली प्रहारको आरोपमा ४ पक्राउ
मलंगवा : सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३ जना भारतीय र १ जना नेपाली नागरिक छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरू सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भारतका बिहार राज्य जिल्ला शिवहर थाना छप्रा ग्रामपञ्चायत तरयानी छप्रा–८ बस्ने भूषण सिंहका १९ वर्षीय छोरा रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्योगी क्षेत्र ग्रामपञ्चायत सुलतानपुर–१० बस्ने अरबिन्दकुमार यादवका १९ वर्षीय छोरा सौरभकुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगन्ज ग्रामपञ्चायत हराज–१२ निवासी अरुण सिंहको १९ वर्षीय छोरा गुलसनकुमार सिंह छन्। त्यस्तै, सर्लाही धनकौल गापा–१ निवासी सोनफी सहनीको ३२ वर्षीय छोरा डीजे भन्ने धीरेन्द्र सहनी छन्।
बुधबार बिहान साढे १० बजेतिर ३ जना सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए। प्रतिकार गर्ने बितिकै उनीहरूले कार्कीमाथि गोली प्रहार गरेका थिए। गोली कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको प्रहरीले जनाएको छ। गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका थिए । कार्कीको शरीरका विभिन्न ३ ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ।
लालबन्दी नपा–२, जुटपानी निवासी ३० वर्षीय कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि अहिले ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। ३ जना भारतीय नागरिकलाई बुधबार मध्यरात बलरा नगपालिका–३ लक्ष्मीपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। धीलाई भने धनकौल–१ बाट पक्राउ गरेको छ। प्रहरी देखेपछि सहनी नहरमा हाम फालेर भाग्न खोजेका थिए। उनलाई पक्राउ गर्न प्रहरीले गोलीसमेत चलाएको थियो। देब्रे खुट्टाको घुँडामुनि लागेपछि उनी पक्राउ परे। घाइते सहनीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीन पोखरेलले लुटेराहरू एक दिनअघि पनि सहकारीमा आएर रेकिङ गरेको थियो। मंगलबार कार्यालयमा पुगेर सबै वस्तुस्थिति थाहा पाएपछि भोलिपल्ट (बुधबार) आएर सहकारी लुट्ने प्रयास गरेका थिए। कर्मचारी कार्की मार्सल आटका खेलाडी भएका कारण लुटेरहरूसँग प्रतिकार गर्न सकेका थिए। समान्य व्यक्ति भएको भए ३÷३ जनासँग प्रतिकार गर्न सक्दैन्थ्यो। सीसीटीभी फुटेज हेर्दा कार्की र लुटेराहरूसँग खुब घम्साघम्सी भएको देखिन्छ। पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरी उपरीक्षक पोखरेलले बताए।