पहिले एकै पार्टी, अहिले प्रतिस्पर्धी
जनकपुरधाम : आसन्न प्रतिनिधिसभा निर्वाचन सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। कुनै समय एउटै पार्टी र एउटै दलमा आबद्ध रहेका दुई हस्ती अहिले एउटै मैदानबाट छुट्टाछुट्टै दलको झण्डामुनि चुनावी मैदानमा प्रतिस्पर्धी छन्।
मधेसको राजधानी जनकपुरधामबाट निर्वाचित लोसपा नेता महतो गठबन्धनका उम्मेदवार यादवसँग कम्मर कसेर लागेका छन्। महतो निर्वाचित धनुषाको क्षेत्र ३ मा आन्तरिक सहमतिअनुसार जनकपुर छोडेर गृह जिल्ला जाने र उनको स्थानमा जूली महतोलाई सघाउने वाचाअनुरूप महतोले धनुषाबाट पछि हटेर सर्लाही गृहजिल्ला रोजाइमा परेको विश्लेषण छ।
महतो र यादवबीचको चुनावी भिडन्तलाई मधेसको राजनीतिमा देखिएको फुटपछिको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। २०७४ को निर्वाचनमा एमाले सचिव रघुवीर महासेठको सहयोगले निर्वाचित महतो यसवर्ष जुलीलाई धनुषा छाडेर महतो पुरानो क्षेत्रमा फर्किई यादवसँग प्रतिस्पर्धा गर्दैछन्। महतोले २०७४ को निर्वाचनमा कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका थिए। महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए।
सर्लाहीमा तत्कालीन नेपाल
सद्भावना पार्टी अध्यक्षको हैसियतमा निर्वाचन लडेका महतोको मुख्य बाधक कांग्रेसका उम्मेदवार बन्दै आएको थियो। अहिले गठबन्धनको तर्फबाट उम्मेदवार बनेको यादवलाई कांग्रेसले नै समर्थन गरेपछि महतोलाई जित निकाल्न सहज भने छैन। तर, असहजलाई चूनौती दिँदै निधिलाई समेत मात दिएका महतो निर्वाचनको संघर्षको मैदानका रूपमा हेर्नुपर्ने तर्क छ।
२०४८ र २०५१ सालमा पराजित महतो २०५६ को निर्वाचनमा विजयी भएका थिए। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा सर्लाही–४ बाट विजयी उनी २०७० मा तत्कालीन तराई, मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भएका थिए। यादवले ११ हजार ५३४ मत पाउँदा महतोले ८ हजार ७९० मत पाएका थिए। उनै यादव र महतोको फेरि प्रतिस्पर्धा हुँुदैछ।
मधेसमा चिरपरिचित प्रतिद्वन्द्वीको राजनीतिक इतिहास हेर्दा यादव राजनीतिकका चतुर खेलाडी हुन् भने महतो असम्भवलाई सम्भवमा ढाल्न कुनै पनि प्रयत्न गर्न पछि नहट्ने संघर्षशील नेताका रूपमा परिचित रहेको राजनीतिक विश्लेषक नित्यानन्द मण्डल बताउँछन्।
नेपाल सद्भावनाबाट २०४८ मा पहिलोपटक उम्मेदवारी दिएका महतो र एमालेबाट आफ्नो संसदीय यात्रा सुरु गरेका यादव हुन्। सर्लाही–२ मा २०४८ र २०५१ मा कांग्रेसकी मीना पाण्डेले महतोलाई पराजित गरेको थियो। २०५६ को निर्वाचनमा महतोले राप्रपाका सूर्यबहादुर थापालाई पराजित गरेका थिए। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा चुरेभावर राष्ट्रिय एकता पार्टीका मोहम्मद रिजवान अन्सारीलाई पराजित गर्दै महतो विजयी भएका थिए।
दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका थिए। उनले एमालेको सुरेन्द्रकुमार लामालाई पराजित गरेका थिए। राजनीतिका चतुर खेलाडी यादवलाई जसपा छाडेपछि चुनाव जित्न कठिन हुने आँकलनबीच माओवादी केन्द्रको चुनाव चिह्नबाट गठबन्धनको उम्मेदवार बन्दा सशक्त भएका छन्। महतो आपूm जित्नेमा ढुक्क छन्।
उनी भन्छन्, ‘आफू जित्नेमा कुनै शंका छैन सबै हिसाब गरेरै डिटरमाइन्ड भएर सर्लाही आएको हुँ। जोखिमको हिसाब गरेरै आएको छु। मंसिर ४ मेरो जित सुनिश्चित हुनेमा म विश्वस्त छु।’