‘पोलियो उन्मूलन हिरो’
सुर्खेत : कर्णालीमा पोलियो रोग उम्मूलनमा महत्त्वपूर्ण योगदान गर्ने दुई जनालाई सम्मान गरिएको छ। पोलियो रोग उन्मूलनका लागि जनचेतना फैलाएको र प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्का र जिल्ला स्वास्थ्य सेवा कार्यालयका सेवानिवृत्त खोप सुपरभाइजर जितलाल ढकाललाई कर्णालीमा पोलियो उन्मूलनमा सघाएबापत कर्णालीका पोलियो उन्मूलन हिरोको रूपमा सम्मान गरिएको छ। विश्व पोलियो दिवसको अवसर पारेर बिहीबार डा. खड्का र ढकाललाई सो सम्मान गरिएको हो।
नेपालमा पोलियो नियन्त्रण र निवारण सुरु गरेदेखि नै कर्णालीका विभिन्न जिल्लामा पोलियो उन्मूलनमा महत्त्वपूर्ण काम गरेका जितलाल ढकाल र कर्णालीका ८ वटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला बनाएर पोलियो उन्मूलनमा उल्लेख्य योगदान दिएका स्वास्थ्य निर्देशक डा. खड्कालाई हिरोको रूपमा सम्मान गरिएको हो।
वीरेन्द्रनगर नगरपालिका–७ का वडाअध्यक्ष ध्रुवकुमार चपाईंले उनीहरूलाई सम्मान गरेका थिए। सो अवसरमा वडाअध्यक्ष चपाईंले सबैको योगदानले कर्णालीमा पोलियो उन्मूलनमा सहयोग पुगेको बताउँदै सम्मानित भएका डा. खड्का र ढकाललाई बधाई दिए।
सामाजिक विकास मन्त्रालयका लक्ष्मीनारायण तिवारी र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पोलियो उन्मूलन भए पनि नेपालका सीमा नाकाका जिल्लाहरूमा जोखिम कायमै रहेको बताए।