ब्याजदर घटाउन आवश्यक पहल गरिदिन अनुरोध

ब्याजदर घटाउन आवश्यक पहल गरिदिन अनुरोध

भक्तपुर : उद्यमी व्यवसायीका लागि बैंक तथा वित्तीय संस्थाले लगाउँदै आएको चर्को ब्याजदर हाल सबैभन्दा चासो र चिन्ताको विषय बनेको भन्दै व्यवसायीहरूले ब्याजदर घटाउनका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेका छन्। 

भक्तपुर चेम्बर अफ कमर्सको अगुवाइमा पुगेका व्यवसायीहरूले शुक्रबार प्रमुख जिल्ला अधिकारी रद्रादेवी शर्मासमक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो अनुरोध गरेका हुन्। उनीहरूले यसका लागि चारबुँदे सुझाव पेस गरेका छन्। 

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि जोडदार माग गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम् प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ। 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्ने र हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैकबाट पहल हुनुपर्ने तर्फबाट पनि जोडदार माग गरिएको छ। 

ज्ञापन पत्रमा मौजुदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसायहरू धमाधम धरासायी बन्दै गरेको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराउन गराइएको छ। 

कोभिड-१९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको, हाल पुनः डेंगुले आक्रान्त पार्न थालेको साथै विश्वव्यापी प्रभावबाट समेत अर्थतन्त्रमा समस्या देखिरहेको विद्यमान परिप्रेक्षमा बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुल्नाले उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरे। 

मुलतः बजारमा ब्याजदर निरन्तर बढिरहनु र कच्चा पदार्थ इन्धन लगायतको मुल्य समेत बढेकाले पुँजीको लागत अत्यधिक बढेको र यसबाट प्रत्यक्ष परोक्ष मार उद्यमी व्यवसायी एवं उपभोक्तालाई परेको उनीहरूको भनाइ थियो। 

अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर एकल विन्दुमा राख्नुपर्ने उद्यमी व्यवसायीको पटक पटकको माग रहँदै आएको र विषम परिस्थितिमा आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन अहिलेको उच्च व्याजदरले सम्भव नदेखिने व्यवसायीहरूले बताए।  

ज्ञापनपत्रमा भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठसहित १० वटा व्यासायिक संघ संस्थाका अध्यक्षहरूले हस्ताक्षर रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.