म्याग्दीमा एमालेलाई गठबन्धनको भार !
बेनी: मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र सत्तारुढ दलको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच/पाँच जना उमेद्वार छन् ।
२०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । २०७४ मा एक प्रदेशसभा माओवादी र एक एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए ।
गत स्थानीय तह निर्वाचनमा एमालेले ४ पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडा अध्यक्षका उमेद्वारले २३ हजार ९०, कांग्रेसले १९ हजार ८७० र माओवादीले ८ हजार ५९२ मत ल्याएका थिए ।
प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बीर) उमेद्वार छन् । नेपाली कांग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपाली सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ ।
गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटिका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । ‘जिल्ला कमिटिले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ,’ श्रेष्ठ भन्छन् ‘२०७४ मा दुई वटा मात्र स्थानीय तह जितेका थियौ । गत चुनावमा चार पालिका जितेका छौ । यो पनि हाम्रो जितको आधार हो ।’
जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक संघ संस्थाको पनि नेतृत्व गरेका थिए । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७/५७ वर्ष छ ।
नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरु बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरी गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।
जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपाली नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।
‘स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेभन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौ,’ गर्बुजाले भने ‘२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।’
प्रदेशसभा क्षेत्र (क)मा नेकपा एमालेका देबेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरि भण्डारी रघुगंगा गाउँपालिका–२ भगवतिका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा हुन् । एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र वि.स. २०५४ को चुनावबाट भगवति गाविसको अध्यक्ष बनेका थिए । राजनीतिमा पाका केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३९ वर्षीय भण्डारीलाई अगाडी सारेको छ ।
माओवादीको रघुगंगा गाउँपालिका अध्यक्ष रहेका भण्डारी वि.स. २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उमेद्वार बनेका थिए । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसीजलगायत सामाजिक संघ संस्थामा आवद्ध छन् ।
प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुवीन) मुख्य प्रतिस्पर्धी हुन् ।
धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटि सदस्य गर्बुजाको बसोबास हाल काठमाडौंमा छ । उनी एमाले नेता थममाया थापा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुदाँ सचिवालयमा बसेर काम गरेका थिए ।
गठबन्धनबाट माओवादीका उमेद्वार ३९ वर्षीय जुग्जाली पार्टीको म्याग्दी जिल्ला संयोजक हुन् । द्वन्द्वकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का शहीद हुन् । वि.स. २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार बनेर मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उमेद्वार बनेका थिए ।
अहिलेको व्यवस्थाको सुत्रधार माओवादी भएको, गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने आधार खडा गरिएको जुग्जाली बताउँछन् । ‘गणतन्त्र, संघीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौ,’ उनले भने, ‘म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र सम्बृद्धीका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।’