डेंगु महामारी, नियन्त्रण फितलो
काठमाडौं : डेंगु संक्रमण भएर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्। ज्वरो आउने, टाउको दुख्ने, शरीर गल्नेलगायतका समस्या देखिएपछि राज्यमन्त्री केसी मंगलबार भर्ना भए। अहिले अस्पतालका अधिकांश शय्या डेंगु संक्रमितले भरिएको छ। नागरिक मात्रै होइन मन्त्री नै संक्रमित भएका छन्। तर, नियन्त्रणको प्रभावकारी तयारीमा सरकार जुटेन।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. चुमनलाल दासका अनुसार, डेंगु संक्रमणबाट यस वर्ष ५१ जनाको मृत्यु भइसकेको छ। ७७ वटै जिल्लामा डेंगु फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ४२ हजार ५ सय ४ जनामा डेंगु पुष्टि भइसकेको छ। एडिस एजेप्टी र एल्बोपिक्टस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका सहप्राध्यापक डा. निरज बमका अनुसार, दसैं पछि पनि उपचारका लागि आउने संक्रमितहरू बढिरहेका छन्। ‘शरीरमा प्लेटलेट चढाउनुपर्ने खालका बिरामीहरू आएका छन्,’ उपचारमा संलग्न डा. बमले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार डेंगु संक्रमणबाट स्वास्थ्य जटिल नभएका व्यक्तिहरू घरमै बसिरहेका छन्।
बिरामीलाई सकस
घरबाहिर निस्केर काम गर्ने युवा र वयस्कहरू डेंगु संक्रमणबाट बढी प्रभावित छन्। २० वर्ष माथिका व्यक्तिमा संक्रमण बढी पाइएको डा. दास बताउँछन्। बान्ता आउने, टाउको दुख्ने, चक्कर लाग्ने खालका लक्षणहरू लिएर जँचाउन आउनेको संख्या धेरै नै रहेको चिकित्सकहरू बताउँछन्। निको भइसकेका केही व्यक्तिहरूमा ‘जटिल समस्या’ समेत देखिन थालेको चिकित्सकहरू बताउँछन्। निको भइसकेका बिरामीमा राति निद्रा नलाग्ने, पसिना आउने, मुटु ढुकढुक हुने, थकान महसुस हुने, भोक नलाग्नेलगायतका लक्षणहरू पाइएको छ। ‘शारीरिक र मानसिक दुवै खालका समस्या लिएर फलोअपमा बिरामीहरू आइरहेका छन्,’ डा. बमले भने।
कोरोना संक्रमणको महामारीमा स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइएको थियो। उपचार व्यवस्थापनको विषयमा अन्तरक्रिया, जुम मिटिङलगायतका रचनात्मक कार्य गरिएको थियो। तर, डेंगु संक्रमणको बेला तालिमलगायतका अन्य पूर्वाधार व्यवस्थापनमा बेवास्ता देखिएको छ। डा. बमका अनुसार, कोरोना संक्रमणको महामारीमा झैं डेंगु संक्रमितलाई उपचार व्यवस्थापनमा सरकारको तदारुकता देखिएको छैन। डेंगु संक्रमितका बिरामीलाई उपचारका लागि शय्या व्यवस्थापनमा सकस परिरहेको छ।
कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला डेंगु फैलिएकोले आर्थिक र सामाजिक पाटोबाट पनि बिरामीलाई हेर्नुपर्ने डा. बम बताउँछन्। ‘सरकारी अस्पतालमा शय्या नपाउँदा कतिपय संक्रमित निजी अस्पतालमा पुगेका छन्। त्यस्ता संक्रमित चर्को शुल्कको मारमा परेका छन्,’ डा. बम भन्छन्, ‘सिटामोलसमेत नपाइएको गुनासो छ। प्लेटलेटको अभाव पनि खड्किएको छ। सिटामोल, प्लेटलेट्सजस्ता आवश्यक कुराहरू सजिलै पाउने व्यवस्था सरकारले गर्नुपर्छ।’ डेंगुबाट ज्यान गुमाउने अधिकांशमा दीर्घरोग पाइएको डा. दास बताउँछन्। ‘ज्यान गुमाउनेहरूमध्ये श्वासप्रश्वास, मुटु, मिर्गौला रोगको औषधि सेवन गरिरहेका पाइएका छन्,’ डा. दासले भने।
सरकारको सुस्तता
तराई क्षेत्रमा देखिने डेंगु यस वर्ष पहाडी र हिमाली जिल्लामा पनि फैलिएको छ। मुलुकभर फैलिएको डेंगुविरुद्ध पूर्वतयारी, उपचार व्यवस्थापनमा सरकार उदासीन रहेको विज्ञहरू बताउँछन्। सरकारले संक्रमणको चार महिना बितिसक्दा पनि मुलुकभर फैलिएको डेंगुको सेरोटाइप पहिचान गर्न सकेको छैन।
डेंगुका चार सेरोटाइपमध्ये कुन सेरोटाइप फैलिरहेको छ भन्ने यकिन हुन जरुरी रहेको डा. बम बताउँछन्। ‘आगामी वर्ष डेंगु संक्रमण भएको बेला कुन कुन किसिमको सेरोटाइप देखियो भने झन् जटिल खालको समस्या उत्पन्न गर्छ,’ वरिष्ठ छातीरोग विशेषज्ञ डा. बम भन्छन्, ‘यस पटक रोग प्रतिरोधात्मक क्षमता विकास भइसकेको हुन्छ। तर, पटकपटक डेंगु संक्रमण भइरह्यो भने झन् जटिलता हुने सम्भावना छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिक रिसर्च युनिट संयोजक डा. पुनका अनुसार, विगतमा डेंगुका चार किसिमकै सेरोटाइप पाइएको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै गरेको परीक्षणमा सेरोटाइप– १ र ३ पाइएको छ। प्रयोगशालामा १२ वटा नमुना परीक्षण गर्दा दुई किसिमको सेरोटाइप पुष्टि भएको हो। तर, काठमाडौंलगायत अन्य जिल्लामा फैलिएको डेंगुको सेरोटाइप कुन हो अन्योल छ।
‘रगत जाँचबाट सेरोटाइप परीक्षण गर्न सकिन्छ। कुन ठाउँमा कुन सेरोटाइप देखियो भन्ने फरकफरक हुन सक्छ,’ डा. पुन भन्छन्, ‘सुरुवाती चरणमै सेरोटाइपको परीक्षण गर्नुपथ्र्यो। फरक–फरक सेरोटाइप पुष्टि भएमा जटिलताका सम्बन्धमा पूर्वतयारी गर्न सकिन्थ्यो। जनचेतना फैलाउँदै थप पूर्वाधारको व्यवस्थापन गर्न सजिलो हुन्थ्यो।’
ईडीसीडी निर्देशक डा. दास मुलुकभित्र फैलिएको डेंगुको सेरोटाइपको परीक्षण गर्ने तयारी भइरहेको बताउँछन्। ‘सातवटै प्रदेशबाट नमुना संकलन गरेका छौं,’ डा. दास भन्छन्, ‘सेरोटाइप पत्ता लाग्यो भने भविष्यमा योजना बनाउन सजिलो हुनेछ।’ डेंगुको सेरोटाइप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिइएकोे डा.दासले जानकारी दिए।
लार्भा नष्टमा उदासीन
डेंगु संक्रमणबारे जनचेतना जगाउने तथा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान (सर्च एन्ड डिस्ट्रोय) पनि सुस्त छ। सरकारले गैरसरकारी संघसंस्था, निजी क्षेत्र र विज्ञहरूसँग समन्वय गर्न नसकेको गुनासो छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘सरकारले जाडो बढेपछि लामखुट्टे पनि हराउँछ। संक्रमण पनि घट्छ भन्ने भ्रम पालेर बस्यो।’
संघ, प्रदेश र स्थानीय सरकारको हेलचेक्र्याइँले भविष्यमा समेत चुनौती थपेको विज्ञहरू बताउँछन्। जनस्वास्थ्य विज्ञ डा.मरासिनी डेंगु नियन्त्रणमा सरकार चुकेको बताउँछन्। ‘विगतबाट पाठ सिकेर सरकारले पूर्वतयारी गर्न सकेन,’ डा. मरासिनीले भने, ‘पानी पर्न थालेपछि नै लार्भा नष्ट अभियान सुरु गर्नु पथ्र्यो। डेंगुको सम्भावित जोखिमप्रति संवेदनशील भई चैतदेखि नै सजगता अपनाउनु पथ्र्यो।’
८ हजार फिटभन्दा माथिको उचाइमा पनि डेंगु फैलिएको छ। ‘मलेरिया ५ सय ३५ फिटभन्दा तल्लो क्षेत्रमा फैलिएको थियो। त्यहीँ अनुसार मलेरिया नियन्त्रण कार्यक्रम लागू गरिएको थियो,’ डा. मरासिनी भन्छन्, ‘डेंगु भने पहाडी र हिमाली क्षेत्रमा समेत फैलिसकेको छ। भविष्यमा यो डरलाग्दो समस्याको रूपमा देखिने छ। लार्भा नष्ट नगर्ने हो भने डेंगुसँगै अन्य रोग पनि फैलने जोखिम छ।’काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगु संक्रमित उपचार गराउँदै । तस्बिर : अशोक दुलाल
डेंगु फैलाउने लामखुट्टे पहाडी र हिमाली क्षेत्रमा समेत पाइएको छ। सरकारले पूर्वतयारीका साथ समयमै लार्भा नष्ट अभियानलाई तीव्रता दिए संक्रमण मुलुकभर फैलनबाट नियन्त्रण हुन सक्ने डा. मरासिनी बताउँछन्। ‘विश्वव्यापी तापक्रम वृद्धिले गर्दा डेंगु नेपालको मात्र होइन विश्वव्यापी समस्या भइसकेको छ,’ डा. मरासिनीले भने, ‘जलवायु परिवर्तनका कारण मुलुकका सबै क्षेत्रमा फैलिसकेको छ। फैलावट बढ्दै गएका कारण अन्य रोगको चपेटामा पर्ने जोखिम छ।’
डा. बमका अनुसार, संक्रमण आगामी वर्षहरूमा बढ्न सक्ने भएकोले पूर्वतयारीमा ध्यान दिनुपर्छ। ‘सरकारी अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनुपर्छ, डा. बम भन्छन्, ‘स्थायी दरबन्दी सिर्जना गरेर स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ। काम चलाउने प्रकृतिको अस्थायी नियुक्ति गरेर करारका चिकित्सकबाट सेवा प्रवाह गर्ने सोंच हटाउनु पर्छ। स्वास्थ्य संरचनालाई व्यवस्थित गर्दै शय्या पनि वृद्धि गर्नुपर्छ।’ वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय डेंगुका बिरामीको शारीरिक मात्र नभई मानसिक रूपमा पनि उपचार गर्नुपर्ने बताउँछन्। ‘कोरोना संक्रमणलगत्तै डेंगुको पनि संक्रमण झेल्नु परिरहेको छ। बिरामीलाई चिन्ता, तनावलगायतका समस्याहरू पनि देखिन्छन,’ डा. उपाध्याय भन्छन्, ‘उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि आवश्यक तालिम दिनु पर्ने आवश्यकता छ।’
गैसस निष्क्रिय
डेंगु नियन्त्रणमा जनचेतना फैलाउने र लार्भा नष्ट अभियानमा गैरसरकारी संघसंस्थाहरू पनि उदासीन देखिएका छन्। डेंगुबाट ५१ जनाको ज्यान गएपछि मात्र गैरसरकारी संस्था महासंघले सरोकारवालाबीच समन्वय गर्न थालेको छ। गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई डेंगुले मानवीय रूपमा संकट सिर्जना गरेको महसुस गैरसरकारी संस्थाले समयमै गर्न नसकेको स्वीकार गर्छन्। कोभिड—१९ झैं डेंगुप्रति राज्य संवेदनशील नभएको उल्लेख गर्दै भट्टराई भन्छन्, ‘सरकारले डेंगु संक्रमितको लागि सिटामोलको पर्याप्त व्यवस्थासमेत गर्न सकेको छैन। कोरोना भाइरसझैं महामारी निम्त्याउने खालको डेंगु होइन भन्ने मनोविज्ञान रह्यो। सरकारबाट लापरबाही भयो।’
आपसी समन्वयका लागि आग्रह गर्दा समेत सरकारी प्रतिनिधित्व हुन नसकेको उनले दुःखेसो पोखे। ‘डेंगुको नियन्त्रण, रोकथाम र उपचारको लागि स्थानीय तहदेखि सबै सरोकारवाला पक्षसँग संवाद गरेका छौं। चुप लागेर बसेको अवस्था छैन,’ भट्टराईले भने। ईडीसीडीका निर्देशक डा. दास भने गैरसरकारी संघसंस्था र निजी क्षेत्रको भूमिकाप्रति सन्तुष्ट देखिँदैनन। ‘गैरसरकारी संघसंस्थाहरूको भूमिकाबारे के भनौं र खोइ ? केही संस्थाहरूले मात्र जनचेतना फैलाएका छन्। निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट उपचार सम्बन्धमा सबै तथ्यांक आइसकेको छैन,’ उनले भने।
डेंगु नियन्त्रणका लागि इन्टोमोलोजिस्टको अभाव खड्किएको डा. दासले भने। डेंगुका संक्रमण सुरु भएसँगै जनशक्तिलाई तालिम दिए पनि पर्याप्त नभएको उनले थपे, ‘सबै प्रदेशमा ग्लोबल फन्डको सहयोगमा इन्टोमोलोजिस्ट राखेका छौं। त्यो पर्याप्त होइन।’ संक्रमणको चुनौती भविष्यमा पनि देखिन सक्ने भएकोले सातवटै प्रदेशमा भेक्टर सर्भिलेन्सको योजना रहेको डा. दासले जानकारी दिए।
अझै डेढ महिना जोखिम
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन डेंगु संक्रमणको लागि अझै डेढ महिना जोखिमपूर्ण रहेको बताउँछन्। डेंगुविरुद्धको पूर्वतयारी, रोकथाम, नियन्त्रणमा सरकारी प्रयास चुस्त हुन नसकेको डा. पुन स्वीकार गर्छन्। ‘१५ वर्षअघि नै मुलुकमा डेंगुका चार किसिमका सेरोटाइपको पुष्टि भइसकेको छ,’ डा. पुन भन्छन्, ‘ठाउँअनुसार सेरोटाइप फरक पनि हुन सक्छ। धरानमा सेरोटाइप–३ देखिएको हो भने काठमाडौंमा अर्कै किसिमको सेरोटाइप पाइन सक्छ। समयमै सेरोटाइप पत्ता लगाउनसके पूर्वतयारीदेखि तालिमलगायतका व्यवस्था गर्न सजिलो हुन्छ।’
ईडीसीडीका निर्देशक डा. दास जलवायु परिवर्तनलगायतका कारणले गर्दा डेंगु मात्र नभई अन्य रोगको समेत जोखिम रहेको बताउँछन्। ‘स्थानीय र प्रदेश सरकारको काम सम्बन्धमा म के भन्न सक्छु र ?’ डा. दास भन्छन्, ‘बाहिरबाट हेर्दा सरकार सुस्त देखिएको हुन सक्छ। तर, डेंगु नियन्त्रणमा हामी लागिरहेकै छौं।’
जाडो बढेपछि लामखुट्टे हराउँछ । संक्रमण पनि घट्छ। यो भ्रम पालेर सरकार बस्यो। विगतबाट पाठ सिकेर पूर्वतयारी गर्न सकेन।
डा. बाबुराम मरासिनी,वरिष्ठ जनस्वास्थ्यविज्ञ
बाहिरबाट हेर्दा सरकार सुस्त देखिएको हुन सक्छ। तर , डेंगु नियन्त्रणमा हामी लागिरहेकै छौं।
डा. चुमनलाल दास निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
संक्रमितमा चिन्ता, तनाव लगायतका मानसिक समस्या पनि छन्। संक्रमितलाई शारीरिकसँगै मानसिक उपचार र स्वास्थ्यकर्मीलाई तालिमको आवश्यकता छ।
डा. कपिलदेव उपाध्याय,वरिष्ठ मानसिक रोग विशेषज्ञ
अझै डेढ महिना डेंगु संक्रमणको जोखिम छ। समयमै सेरोटाइप पत्ता लगाउन सके पूर्वतयारी देखि उपचारमा पनि सजिलो हुन्छ।
- डा. शेरबहादुर पुन संयोजक, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल