बाढी प्रभावित क्षेत्रमा सेनाको स्वास्थ्य शिविर
गुलरिया: कर्णाली नदीको बाढीबाट प्रभावित बर्दिया राजापुर क्षेत्रका स्थानीयको नेपाली सेनाले शिविरमार्फत स्वास्थ्य चेकजाँच गरेको छ ।
राजापुर नगरपालिका तथा नेपाली सेनाको संयुक्त आयोजित शिविरमा बाढी प्रभावित समुदायले स्वास्थ्य चेकअप, परामर्श, ल्याव, एक्सरे, ईसीजी, औषधीयलगायतका सेवा निःशुल्क लिएका छन् ।
‘राजापुर नगरपालिका वडा नम्वर ४ स्थित अमर शहीद दशरथ चन्द माध्यमिक विद्यालय परिसरमा बाढी प्रभावित समुदायको सहयोगार्थ स्वास्थ्य शिविर सम्पन्न गर्यौं’,‘राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको सुझाव, नेपाली सेनाको ४ नम्बर बाहिनी अड्डा बाँकेका सहायक रथी उत्तमकुमार विष्टको निर्देशन, बज्रदल गण राँझा बाँकेका गणपति श्याम आत्रेय पौडेल तथा सेनानी शिव थापासहितको टोलीले शिविर स्थल पहिचान गरेको थियो ।’
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले भने, ‘शिविरमा जनरल फिजिशियन सेवा, प्रसुती तथा महिला रोग, छाला तथा यौनजन्य रोग लगायत स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।’
शिविरमा ४८७ जनाले जनरल स्वास्थ्य सेवा, ५५ जनाले महिला तथा स्त्रीरोग सेवा, १०८ जनाले छाला तथा यौनजन्य रोग गरी कुल ६४१ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा, ‘५० जनाले ल्याव सेवा, ४० जनाले एक्सरे र १० जनाले ईसीजी सेवा लिएको’, शिविर व्यवस्थापक सेनानी शिव थापाले जनाए ।
‘शिविर संचालन गर्न स्वास्थ्य शाखा राजापुर, नेपाली सेना, भेरी अस्पताल बाँके, बर्दिया अस्पताल गुलरियाले सहकार्य गरेको’, राजापुर नगरपालिकाका प्रवक्ता असराज न्यौपानेले जानकारी दिए । ‘केयर नेपालको सहयोगमा बी ग्रुप बाँकेले औषधी व्यवस्थापनमा सहजीकरण गरेको छ ।’
नेपाली सेनाको सामाजिक सेवामूलक कार्यले सेना, स्थानीय सरकार र समुदायबीच सुमधुर सम्बन्ध निर्माण गर्न सहयोग पुग्ने स्थानीयको भनाइ छ । नेपाली सेनाले विपदका बेला सहयोग पुर्याउँदै आएको छ । असोज अन्तिम साता कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिका क्षेत्रका बस्तीहरु डुवानमा परेका हुन् ।
सोही अवधिमा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका क्षेत्रमा डुवान भएको हो । बर्दियामा परेको अविरल वर्षाका कारण किसानहरुले सयौं विगाह क्षेत्रमा रहेका धानवालीमा नोक्सानी ब्यहोर्नु परेको छ । बाढीका कारण केही घरहरु पूर्ण तथा आशिंक क्षति भएका छन् ।
अविरल वर्षाले बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाका स्थानीय प्रभावित बनेका हुन् । विपद व्यवस्थापन समिति बर्दियाले बाढीबाट भएको अन्तिम तथ्यांक सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।