२० लाखसहित दुई युवक पक्राउ
जनकपुरधाम: स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मंगलबार राति प्र–०१–०२–०४६ प. ५६३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा पक्राउ गरिएको क्षेत्रीले जानकारी दिए । कालो रंगको झोला भित्र स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित नियनत्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।