कुखुराको खोरमा राखेर मासुको ढुवानी !
काठमाडौंः देशको राजधानी काठमाडौंका ग्राहकलाई ल्याइएको कुखुराको मासु अव्यवस्थित र स्वास्थ्यमाथि नै खेलवाड हुने गरी भित्र्याउने गरिएको पाइएको छ ।
जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा मासु ढुवानी हुने गरेको पाइएको हो ।
काठमाडौं महानगरको अनगुमन टोलीले वडा नम्वर ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा जिउँदो कुखुरा बोक्ने गाडीलाई सफाइ नगरी मासु बोकेको भेटेको हो ।
प्र ३–०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीमा २ सय भुत्ला फालिएका सिङ्गै कुखुरा थिए । चालक भुवन गुरुङकाअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थियो।
टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । खाद्यवस्तुका रुपमा प्रयोग हुने यो मासुजन्य खाद्यवस्तु खुला र असुरक्षित देखिएको महानगरले जनाएको छ । पक्राउ परेपछि गुरुङ्ले उनका साहु कुवीर सुनारलाई बोलाएका थिए । केहिबेरमै सुनार घटनास्थलमा आइपुगेका थिए ।
सुनारले आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको, हिजै गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नु परेको बाध्यता सुनाउँदै आफूलाई बचाउन खोजेका थिए ।
सुनारकाअनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण हुने गरेको छ ।
अनुगमन टोलीका संयोजक डा. अवधेश झाका अनुसार यसरी भेटिएको मासु बिक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।
आजै चावहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाईमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।